October 16th, 2020

राष्ट्र बैंकमा कोरोना संक्रमणको तनाब : परिक्षण रोकेरै सेवा सुचारु

बैंकिङ खबर । पछिल्लो समय नेपालमा कोरोना संक्रमणले ठुलै आतंक मच्चाएको छ । यस भाइरसले नेपालको वित्तीय क्षेत्रमा पनि ठुलै हलचल ल्याएको छ । यो हलचल स्वास्थ्य क्षेत्र र वित्तीय क्षेत्रमा गम्भिर रुपमा परेको छ । यसैबिच बैंक तथा वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकमा कोरोना संक्रमणले समस्या निम्त्याएको छ । राष्ट्र बैंकका कर्मचारीहरुमा भुसको आगो सल्कीए झै कोरोना सल्कीएपछि परि।क्षण नै रोकेर काम गर्नु परेको अबस्था छ । पहिलोपटक नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार मुद्रा व्यवस्थापन विभागमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको थियो । त्यसपश्चात उक्त बिभाग सिल गरेर ट्रेसिङमा परेका कर्मचारीलाई परीक्षण गरीएको थियो । अहिले भने हरेकजसो विभागका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

बैंक तथा वित्तीय क्षेत्र बन्द गर्न नमिल्ने भएका कारण सबै कर्मचारीलाई परिक्षण समेत गरिएको छैन । परिक्षण गराउँदा अरुलाई पनि कोरोना देखियो भने सबै काम कार्बाही बन्द हुने हुँदा परिक्षण गर्न रोकिएको छ । हाल कोरोना संक्रमण भएकाहरु कोरोनामुक्त भएपछि अरुलाई परिक्षण गरिने राष्ट्र बैंक स्रोतको भनाई छ । हालसम्म राष्ट्र बैंकमा एकसय ५० बढीमा कोरोना संक्रमण देखिएको छ भने केही कोरोना जितेर कार्यालय फर्किसकेका छन् । अन्य कैंयौ कर्मचारीलाई परिक्षण गरिएको छैन ।  केही समय अघिमात्र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित राष्ट्र बैंकका ९ जना उच्च अधिकारीलाई कोरोना संक्रमण भएको थियो । डेपुटी गभर्नर श्रेष्ठ र राष्ट्र बैंक सुपरभिजन विभागका चार जना उच्च अधिकारीमा कोरोना संक्रमण पुष्टि भए पछि थुप्रै उच्च पदस्थ कर्मचारीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।

हाल डेपुटी गभर्नर श्रेष्ठ कोरोना संक्रमणमुक्त भइसकेका छन् । उनी केही दिनको होम आइसोलेशन बसाईपछि कोरोना जित्न सफल भएका हुन् । उनले सामाजिक सञ्जाल मार्फत आफु संक्रमणमुक्त भएको जानकारी दिएका दिएका थिए । यता, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी पनि होम आइसोलेसनमै बसेर काम गरिरहेका छन् । कतिपय कर्मचारीलाई घरबाटै काम लगाइएको छ भने आबश्यकता अनुसारका कर्मचारीहरु कार्यालयमा आउने गरेका छन् । राष्ट्र बैंकले काम नरोकिने गरि सतर्कताका साथ सेवा सुचारु गरेको छ ।  दिनानुदिन संक्रमणको जोखिम बढ्दै जान थालेपछि केन्द्रीय बैंकले काम पनि रोक्न नमिल्ने भएपछि उच्च सावधानीका साथ अत्यावश्यक कर्मचारीलाई मात्र कार्यालय बोलाएर अन्य कर्मचारीलाई घरबाटै काम गर्नेगरी कार्ययोजना बनाएको हो ।

हरेक वर्ष लामै लाईन लगाएर नयाँ नोट बितरण गर्ने गरीएको दशैमा यसपाली नयाँ नोट वितरण गरिने छैन । गत वर्षको दशैंमा मात्र राष्ट्र बैंकले करिब ६० अर्ब रुपैयाँ नयाँ नोट वितरण गरेको थियो । सामान्य अवस्थामा राम्रै चहलपहल हुने राष्ट्र बैंक हाल प्रायः सुनसान देखिदै गएको छ । बैंकले भौतिक दुरी कम गर्न बैंक वित्त तथा ग्राहकहरुलाई सकेसम्म बैंक नआउन र अनलाइन मार्फत नै काम गर्न अनुरोध गरेको छ । विषम परिस्थितिमा पनि बैंक तथा वित्तीय संस्थाहरुको सेवा प्रभावकारी बनाउन, सर्वसाधारणको जिज्ञासाको जवाफ दिन एवम् सुझाव लिन र सेवाग्राहीलाई परेको समस्याको सम्बोधन गर्न राष्ट्र बैंकले बैंकको वरिष्ठ अधिकारीहरुलाई सम्पर्क गर्न आफ्नो बेवसाइट मार्फत जानकारी समेत गराएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]