September 14th, 2020

गरिवहरुका लागि लघुवित्त नै चाहिने ? के बैंकहरु धनीका लागि मात्रै हुन् ?

 बैंकिङ खबर । संसारभरको सम्पत्तिको बराबर वितरण हुने हो भने हरेक कुनाका मानिसलाई आरामले जिन्दगी विताउन पुग्छ । तर, यहाँ सम्पत्तिको समान वितरण छैन । केही मुलुक अत्याधिक विलाशी जिवन विताइरहेका छन् भने कतिपय देशमा खानकै लागि पनि संघर्ष गरिरहनु परेको छ । देशको अर्थतन्त्र, वैदेशिक व्यापार, पूर्वाधारको विकास, खानीजन्य उत्पादन, प्रतिव्यक्ति आय लगायतका हिसाबले अमेरिकी, अष्ट्रेलिया र युरोपी देशहरु प्रायः धनी छन् भने अफ्रिकी र एसियाली मुलुक गरीब छन् । गरीब देशहरु कसरी आम्दानी बढाउने र सामान्य जीवन विताउने भन्नेमा केन्द्रित भइरहँदा विकसित मुलुकहरु विभिन्न नयाँनयाँ परीक्षण, प्राविधिक विकास लगायतमा खर्च गरिरहेका छन् । सन्सारमै गरीवहरुका लागि लघुवित्तले मात्रै लगानी गरेको पाइन्छ । के गरिव भएकै कारण महंगो व्याजमा लघुवित्तबाट कर्जा लिनुपर्ने बाध्यता हो ? अथवा बैंकहरु धनीका लागि मात्रै हुन् ? यी प्रश्नहरु आजका दिनमा पनि जस्ताको तस्तै उठीरहेको छ ।

नेपालमा पनि ग्रामिण क्षेत्रमा बैंकका शाखा मात्रै खुलेका छन् । कर्जा आबश्यक पर्यो भने बैंकबाट हुने झन्झटले गर्दा केही महंगो तिरेरै लघुवित्तबाट कर्जा निकाल्ने प्रचलन छ । त्यसमाथि धितो नहुनेहरुका लागि त लघुवित्त बरदान जस्तै भएका छन् । गरिवहरुले व्याज तिर्न सक्दैनन् भन्ने बैंकको मान्यता हो भने बैंकको व्याज भन्दा लघुवित्तको व्याज महंगो छ तर पनि लघुवित्तहरुले गरिवमाथि लगानी गरेर नोक्सान भोग्नु परेको छैन । सन्सारका केही उदाहरण हेरौ जहाँ गरिवी छ त्यहाँ लघुवित्तकै सेवा महत्वपूर्ण छ ।

 

विकसित देशमा बैंकिङ क्षेत्र निकै अघि बढेको छ । त्यहाँ प्रायः कारोबारहरु नगदरहित हुन्छ । बैंकबाट कर्जा लिएर घर, गाडी किन्ने र विस्तारै किस्ता तिर्दै जाने, बीमा गर्ने जस्ता कुरा विकसित देशमा आम विषय भइसकेको छ । गरीब देशहरुमा भने बचत गर्ने बानी बसाउनका लागि नारा लगाउँदै हिँड्नुपर्ने अवस्था छ । खान नै नपुग्ने कमाई भएका जनताले भोलीका लागि बचत गर्नेबारे सोच्ने अवस्था पनि छैन ।

संसारका सबैभन्दा गरीब देशहरुमा प्रायः  अफ्रिकी मुलुकहरु पर्छन् । तीनैमध्ये, टप पाँच गरीब देशहरुको बैंकिङ क्षेत्रको अवस्थाका बारेमा यहाँ चर्चा गरिन्छः

बुरुण्डी
२७ हजार आठ सय ३० वर्गकिलोमिटर क्षेत्रफल भएको एक भूपरिवेष्ठित राष्ट्र बुरुण्डीमा १०.४ मिलियन जनसंख्या छ । जसमध्ये, ७४ प्रतिशत जनसंख्या गरीबीको रेखामुनी छ । ८० प्रतिशत जनसंख्या कृषिमा निर्भर छ । २०१५ र २०१६ मा गिरावट आएको अर्थतन्त्रमा अहिले सुधार आउँदैछ । २०१८ मा बुरुण्डीले १.६ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको छ । २०१७ मा १६ प्रतिशतभन्दा माथि रहेको मुद्रास्फीति २०१८ मा २.६ प्रतिशतमा झर्न सफल भएको छ ।

गरीब देश भएर पनि यहाँको बैंकिङ क्षेत्रको अवस्था उत्साहजनक छ । बुरुण्डीमा निजी क्षेत्रको खासै विकास भएको छैन । ८४.४ प्रतिशत सम्पत्ति बैंकिङ क्षेत्रसँग छ भने ११.४ प्रतिशत माइक्रोफाइनान्ससँग र ४.३ प्रतिशत बीमा कम्पनीहरुसँग छ । जीडीपीमा बैंकिङ क्षेत्रको योगदान १५ प्रतिशतको हाराहारीमा छ । आधाभन्दा बढी बैंकिङ लगानी छोटो समयावधिको भएका कारण तरलता समस्या छ । यहाँका बैंकहरुले विदेशी विनिमय संचितीको गिरावट, तरलता अभाव जस्ता समस्या झेलिरहेका छन् ।

यहाँका बैंकहरुको ६०.६ प्रतिशत लगानी यातायातमा, ३२.९ प्रतिशत उर्जामा, ४.८ प्रतिशत कृषिमा र बाँकी अन्य क्षेत्रमा रहेको एक अध्ययनले देखाएको छ । औसतमा झन्डै चार वर्षका लागि यहाँका बैंकहरुले लगानी गरेका छन् जसको एकमुष्ट व्याज झन्डै ३५ प्रतिशत हुन्छ । बुरुण्डीले नेशनल डेभलपमेन्ट प्लान २०१८–२७ सुरु गरेपछि बैंकिङ क्षेत्रको क्रमशः सुधार हुँदै आएको छ । यस योजनाले कृषि, यातायात र उर्जामा लगानी केन्द्रित गर्ने, सबै कारोबारलाई बैंकिङ च्यानलमा ल्याउने, राजनीतिक र सामाजिक समस्याको असर बैंकिङ क्षेत्रमा पर्न नदिने लगायतका लक्ष्य बोकेको छ ।

सेन्ट्रल अफ्रिकन रिपब्लिक
४.७ मिलियन जनसंख्या भएको यो पनि एक भूपरिवेष्ठित राष्ट्र हो । २०१३ को आर्थिक मन्दीबाट ग्रसित यस देशका ६० प्रतिशत मानिस ग्रामीण भेगमा बस्छन् । जीडीपीमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको छ । टिम्बर र डायमण्ड सबैभन्दा धेरै निर्यात हुने वस्तुमा पर्छन् । कमजोर यातायात व्यवस्था, अदक्ष जनशक्ति, कमजोर वित्तीय नीति लगायतबाट यहाँको अर्थतन्त्र प्रभावित छ । जीडीपी वृद्धिदर पाँच प्रतिशतभन्दा तल रहेको सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मुद्रास्फीती पनि चार प्रतिशतको हाराहारीमा छ । यहाँको ७५ प्रतिशतभन्दा बढी जनसंख्या गरीबीको रेखामुनी छ ।

यस देशको बैंकिङ क्षेत्र तुलनात्मक रुपमा स्थीर हुँदै आएको छ । जीडीपीमा झन्डै १८ प्रतिशत योगदान वित्तीय क्षेत्रको रहेको छ । यद्यपि, खराब कर्जाका कारण समस्या पनि छ । पछिल्लो तथ्यांकअनुसार, यहाँका बैंकहरुम ३० प्रतिशतको हाराहारीमा खराब कर्जा रहेको छ । यसको सुधारका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषले सहयोग गरिरहेको छ । मानिसहरु विस्तारै बैंकिङ कर्जाप्रति आकर्षित हुन थालेका छन् । माइक्रोफाइनान्स कार्याक्रमहरुका कारण वित्तीय पहुँच वृद्धिमा ठूलो मद्दत पुगेको छ ।

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो
१८ कमर्सियल सहित अन्य बचत तथा ऋण सहकारी, लघुवित्त, विनिमय, विकास बैंक लगायतका वित्तीय संस्थाहरु डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा संचालित छन् । यहाँका बैंकहरुले प्रायः छोटो समयमा कर्जा लगानी गरेका छन् । बैंकिङ पहुँचका हिसाबले भने यो देश कमजोर रहेको छ । बैंकमा खाता हुने युवाहरुको संख्या ज्यादै न्यून छ । सयभन्दा बढी लघुवित्त संस्थाहरुे वित्तीय पहुँच वृद्धिमा क्रमशः सुधार ल्याउँदै छन् ।

८० मिलियन जनसंख्या भएको यस देशमा ६० प्रतिशतभन्दा बढी ग्रामीण भेगमा बस्छन् भने ७७ प्रतिशत जनसंख्या गरीबीको रेखामुनी छ । जसकारण माइक्रोफाइनान्सको सेवा बढी प्रभावकारी बन्न पुगेको छ । बहुमुल्य धातुहरुसहित ११०० भन्दा बढी खनिजजन्य पद्धार्थ यहाँ पाइन्छ, जुन यहाँको अर्थतन्त्रको मूख्य खम्बा हो । १९९० को दशकमा भएको द्धन्द्धका कारण प्रभावित बनेको यहाँको अर्थतन्त्र दुई दशकपश्चात् पनि निकै पछाडी नै छोडिएको छ । २०१५ देखि ०१७ सम्मको संकटबाट पुनः प्रभावित हुन पुगेको यहाँको अर्थतन्त्रको वृद्धिदर ४.१ प्रतिशत छ । खानी उत्खनन र प्रशोधनमा लगानी बढ्दो छ । फलस्वरुप २०१७ मा ५४.८ प्रतिशत रहेको मुद्रास्फीति २०१८ मा ७.२ मा झर्न सफल भएको छ ।

मलावी
मलावी पनि एक भूपरिवेष्ठित राष्ट्र हो । सानो बैंकिङ प्रणाली भएको यो देश आर्थिक अस्थीरता, कमजोर पूर्वाधार, नीतिगत समस्या, उच्च भ्रष्टाचार, अधिक जनसंख्या जस्ता समस्याका कारण पीडित छ । १७.५ मिलियन जनसंख्या रहेको यस देशको ८० प्रतिशत जनसंख्या ग्रामीण भेगमा बसोबास गर्छन् । अर्थमन्त्रको ८० प्रतिशत हिस्सा कृषिमा आधारित छ । सूर्तिक खेती यहाँको प्रभुख बाली हो । वर्षामा आधारित कृषि भएका कारण अर्थतन्त्र प्रभावित हुने गरेको छ । फलस्वरुप, मूल्य वृद्धिदर, व्याजदर लगायत उच्च हुने गरेको छ ।

मलावीको बैंकमा खराब कर्जाको समस्या छ । यहाँका बैंकहरुमा ६.१ प्रतिशत खराब कर्जा छ, जुन अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी हो । अन्तर्राष्ट्रिय मान्यताअनुसार, ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएका बैंकहरु जोखिमपूर्ण मानिन्छन् । बैंकिङ पहुँचका हिसाबले पनि मलावी कमजोर छ । एक अध्ययनका अनुसार जम्मा १८ प्रतिशत मलावी युवाले बैंकमा खाता खोलेका छन् । बैंकहरुले ससाना विजनेशरुमा कर्जा लगानी गर्नेतर्फ ध्यान नदिँदा ग्रामीण भेगका मानिसहरु बैंकिङ कारोबारबारे जानकार हुन सकेका छैनन् । सहरी क्षेत्रमा पनि महिलाहरुको बैंकिङ पहुँच नगण्य छ । बैंकिङ पहुँच विस्तारका लागि विभिन्न कार्यक्रमहरु ल्याइएका छन् ।

नाइजर
२२.४ मिलियन जनसंख्या भएको नाइजर पनि एक भुपरिवेष्ठित राष्ट्र हो । यहाँको अर्थतन्त्र डाइभर्सिफाइड छैन । कृषिमा आधारित अर्थतन्त्र भएको यस देशको जीडीपीमा कृषिको योगदान ४० प्रतिशत छ । ८० प्रतिशतभन्दा बढी जनसंख्या यसै पेशामा निर्भर छन् । २०१८ मा नाइजरले ६.८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको थियो । यहाँको ४१.५ प्रतिशत जनसंख्या गरीबीको रेखामुनि छ । जसकारण विदेशीनेको संख्या पनि अत्याधिक छ । जम्मा १६.४ प्रतिशत जनसंख्या सहरी क्षेत्रमा बसोबास गर्छ । खनिज पद्धार्थ अत्याधि हुँदा पनि उत्खनन हुन नसक्दा मुलुक गरीब रहन पुगेको छ । यसतर्फ अब सरकारले ध्यान दिन थालेको छ ।

कमाई नै धेरै नभएका कारण बैंकिङ क्षेत्रतर्फ उनीहरुको आकर्षण पनि कम छ । बैंकमा खाता हुने युवा जम्मा १६ प्रतिशत छन् । ११ वटा कमर्सियल बैंक र एउटा वित्तीय संस्था नाइजरमा संचालित छन् । मध्यम वा दीर्घकालीन लगानीका लागि हिच्किचाहटका कारण बैंकहरु अधिक तरलताको समस्यामा छन् । चार वटा मिडियम साइजका बैंकहरुले ८० प्रतिशत बजार ओगटेका छन् । खानिजजन्य उद्योगमा बैंकहरुले लगानी बढाउन थालेका छन् ।

बंगलादेशबाट सुरु भएको लघुवित्तले ग्रामीण विकासमा विश्वव्यापी रुपमा नै ठूलो मद्दत पुर्याएको छ । लघुवित्तको महत्वलाई यसप्रकार उल्लेख गर्न सकिन्छ :

बिना धितो कर्जा
लघुवित्तहरुले ठूलो रकमसम्म बिना धितो कर्जा प्रवाह गर्दछन् । बिना धितो दिइएको कर्जा शतप्रतिशत उक्सिन्छ भन्ने ग्यारेन्टी हुँदैन । तर बिना धितो कर्जा भन्ने लघुवित्तको एउटा सिद्धान्त नै हो । केहि सिद्धान्त पालना गरेर काम गरियो भने डुब्ने खतरा हुँदैन । हैन भने डुब्ने खतरा हुन्छ । जस्तो स्थानीय स्तरमा बसेका महिलाहरु, जसले एक अर्कालाई चिन्छन, जसको एक अर्कोसँग मन मिलेको छ । उनीहरु एक ठाउँमा बस्छन् र एउटाले अर्काको सामूहिक जिम्मेवारी लिन्छ । अर्थात सामूहिक जमानी बसिदिन्छ । त्यहि आधारमा लघुवित्तले कर्जा दिन्छ । भोलि ऋणीले दायाँ बायाँ गरेको अवस्थामा कर्जा असुलीमा सो समूहले सहयोग गर्छ ।

सामाजिक क्षेत्रमा योगदान
लघुवित्तहरुले आर्थिक मात्र होईन, सामाजिक रुपमा पनि सेवा दिँदै आएका छन् । लघुवित्त नभइदिएको भए ग्रामिण क्षेत्रमा पूँजीको परिचालन हुँदैन थियो र पूँजीको परिचालन नहँुना साथ ग्रामिण क्षेत्रको आर्थिक स्तर उकासिँदैन थियो । नेपालमा छोटो समयमा नै गरिबीको दरमा आएको सुधारमा लघुवित्तकै योगदान रहेको छ । सनु २००३ मा ४१ प्रतिशतभन्दा माथि रहेको गरिबी अहिले २० प्रतिशतभन्दा कममा झरेको छ । एउटा ग्रामिण भेगमा कर्जा लिन चाहानेले ठूला बैंक पुग्न सक्दैन् । यसरी ठूला बैंकको पहुँचभन्दा बाहिर रहेका जनतालाई कर्जा दिएर उद्यमी बनाउने काम लघुवित्त वित्तीय संस्थाहरुले गरिरहेको छ । लाखौँ नेपालीहरु लघुवित्त सेवाबाट लाभान्वित भइरहेका छन् । यसरी ग्रामीण एवम् विपन्न वर्गलाई उद्यमी बनाएर एवम् महिलाहरुलाई माथि उठाएर लघुवित्तले सहयोग पुर्याइरहेको छ ।

उद्यमशिलता विकास
बेरोजगारीको समस्यासँग जुधिरहेका युवाहरुलाई कर्जा प्रदान गरी उद्यमी बनाउनेतर्फ लघुवित्त वित्तीय संस्थाहरु अग्रसर छन् । केही गर्ने सोच भएका तर पैसाको अभावका कारण गर्न नसकेका सर्वसाधारणलाई लघुवित्तले वित्तीय सहयोग प्रदान गरेको छ । गरिबीबाट मुक्त हुन सकिएला र भन्ने चिन्तामा रहेका जनतालाई लघुवित्तले आफ्नै व्यवसायको मालिक र रोजगारदाता बनाएको छ । विदेश गएका युवाहरु समेत स्वदेश फर्किएर आफ्नै व्यवसाय सुरु गर्ने वातावरण लघुवित्त संस्थाले बनाइदिएका छन् । तरकारीखेती, पशुपालन, घरेलु उद्योग लगायतका व्यवसायमार्फत जिवनस्तर उकास्ने मौका र हिम्मत लघुवित्त संस्थाहरुले प्रदान गरेका छन् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]