August 25th, 2020

लघुवित्त मर्जरमा व्यक्तिगत स्वार्थ सबैभन्दा बाधक – टेकबहादुर बोहोरा

लघुवित्तको संख्या घटाउन नेपाल राष्ट्र बैंक लागिपरेका बेला पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरु धमाधम मर्जरको बाटोतिर लागिरहेका छन् । लघुवित्तको संस्था अधिक भएको भन्दै नेपाल राष्ट्र बैंकले बाध्यकारी मर्जर नीति ल्याउनु पूर्व नै लघुवित्त वित्तीय संस्थाहरु आफैं मर्जरमा जान थालेका छन् । स्वस्थ लघुवित्त कार्यक्रम सञ्चालन गर्न संस्थाको संख्या घटाउनु पर्ने विज्ञहरु बताउँछन् । यसैबिच स्वेडा लघुवित्तलाई गाभेर आकार बढाएको मिर्मिरे लघुतित्त वित्तीय संस्थाले लकडाउनकै समयमा पुन नागबेली लघुवित्तलाई गाभेर मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट २०७७ भाद्र ७ गते आइतबारबाट एकिकृत कारोबार सुरु गरेको छ । साबिककै बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले छाेटाेे समयमा नै दुइवटा लघुवित्त मर्जर सफल बनाएको छ । यसबाहेक मिर्मिरेले अन्य लघुवित्तलाई समेत गाभ्ने तयारीमा छ । जसले देशको ठुलो लघुवित्तको पहिचान बनाउँदै गरेको र अरुलाई पनि मर्जरमा जान उत्प्रेरित गरिरहेको छ । लघुवित्तको मर्जर विषय र मर्जरका चुनौतीहरुलाई लिएर मिर्मिरे लघुवित्त वित्तीय संस्थाका अध्यक्ष टेक बहादुर बोहोरासँग बैंकिङ खबरले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौ ।

लकडाउनको समयमा पनि तपाईहरुले विभिन्न लघुवित्तलाई मर्जरमा ल्याउनु भयो, लकडाउनले काम गर्न कुनै अप्ठ्यारो सिर्जना गरेन ?
यस्तो विषम परीस्थितीमा एक किसिमको अप्ठ्यारो त हुने नै भयो, तर पनि हामीले पुलिस प्रशासन र राष्ट्र बैंकसँग समन्वय गर्यौ । राष्ट्र बैंककोे सहयोग पनि प्राप्त भयो । कम्पनी रजिष्टारबाट हुने काम र राष्ट्र बैंकबाट हुने काम सहज ढंगले नै भएका कारणले हामीले सहजता पूर्वक मर्जरको काम सम्पन्न गरेका हौं । काम गर्ने निर्णय भइसकेका कारण हामीले मर्जरलाई तिब्रगतिमा अघि बढाएका हौं । मर्जर प्रकृयामा दुइसंस्थाबीच सहमति भइसकेका कारण हामीले सहजै रुपमा मर्जर गर्यौं ।

मिर्मिरे लघुवित्तले कुन कुन माइक्रोफाइनान्सलाई मर्जरमा ल्यायो ? छोटो समयमा धेरै लघुवित्तलाई मर्जरमा ल्याउन कसरी सम्भव भयो ?
राष्ट्र बैंकको मर्जर नितिलाई हामीले साथ दिएका हौं । हाम्रो लागि पनि यो कार्य महत्वपूर्ण हो । देशमा धेरै लघुवित्तहरु छन् । उनीहरुले एउटै मानिसलाई धेरैवटा लघुवित्तले लगानी गरेको अबस्था छ । जसले गर्दा धेरैवटा सस्ंथाले लगानी गर्दैमा मानिसको आर्यआर्जन बढ्दैन । यसले मानिसलाई झन गरिबी तिर धकेलिने भएको कारणले हामीले राष्ट्र बैंकको मर्जर निति अनुसार स्वेडा लघुवित्त वित्तीय संस्थासँग असार १ गते देखीबाट एकिकृत कारोबार सुरु गर्यौ । त्यस्तै झापाको बिर्तामोडमा केन्द्रिय कार्यलय भएको नागबेली लघुवित्त वित्तीय सस्ंथासँग भदौ ७ गतेबाट एकिकृत कारोबार सुरु गर्यौ ।

आगामी दिनमा अरु माइक्रोफाइनान्सहरुलाई मिर्मिरे माइक्रोफाइनान्समा गाभ्ने योजना कस्तो छ ?
हाल हाम्रो २ वटा लघुवित्तसँग नजिकबाट छलफल भइरहेको छ । अहिले हामीले जहाँ हाम्रो शाखा बिस्तार छैन, जहाँ हामीले शाखा विस्तार गर्नुपर्ने छ । त्यस्तो ठाँउमा जसको राम्रो पहुँच छ त्यस्ता संस्थाहरुलाई मर्जरमा लिने हामी योजनामा छौ । अहिले विशेष गरी २ नम्बर प्रदेश र गण्डकी प्रदेशमा हाम्रो पहुँच अलि कम भएका कारण त्यहाँका संस्थाहरुसँग छलफल गरीरहेका छौ । केही कुराहरुमा छलफल भइरहेको छ, छिट्टै नयाँ समाचार आउला । त्यहाँ बलियो उपस्थिति रहेका संस्थासँग काम गरियो भने त्यहाँ काम गर्न सजिलो हुन्छ र काम गरिरहेका कर्मचारी व्यावस्थापनमा पनि सहज हुन्छभन्ने हाम्रो ठहर छ । हामी मर्जर प्रकृयालाई निरन्तर अघि बढाउँछौं । ।

माइक्रोफाइनान्सको मर्जर जटिल मानिन्छ, मर्जरको अबस्थामा यहाँहरुले के कस्ता समस्या भोग्नुपर्यो ?
हामीले यस विषयमा तितो सत्यको सामना गनुपर्यो । तीन वटा सँस्थासँग मर्जर गर्ने भनेर पुर्वको नागबेली बीचको मिर्मिरे सुदुरपश्चिमको किसान लघुवित्तसँग सम्झौता गरेका थियौं । मान्छेले व्यक्तिगत स्वार्थ राखेर अगाडी नबढ्ने हो भने मात्रै यस्ता मर्जरहरु सम्भव हुन्छन् । हरेकका आआफ्नै स्वार्थले हेरीयो भने मर्जर कठिन हुन्छ । आफ्नो सस्ंथाको हैसियत भन्दा बढी रेसियो माग्ने, त्यस्तो रेसियोमा यत्तिनै हुनु पर्छ भनेर अडान राख्ने वा मर्जरमा वास्ता नगर्नेहरुसँग मर्जर गर्न कठिन हुन्छ । त्यसका साथै अध्यक्ष को बन्ने ? सिइओ को बन्ने र संचालकहरु को को बस्ने भन्ने कुरा पनि मर्जरको लागि बाधक पक्ष हुनेरहेछ ।

मर्जरका कुनै समस्या बाँकी छन् की सबै समाधान गरीसक्नु भयो ?
हामीले मर्जर गरेका संस्थाहरुसँग अब कुनै किसिमका समस्याहरु छैनन् । सबै समाधान भैसकेको छ । भदौ ७ गतेबाट हामीले नयाँ जोशजागरका साथ सम्पुर्ण कर्मचारीहरुलाई समायोजन गरेर एकिकृत कारोबार सुरुवात गरेका छौ ।

अरु मर्जरमा जान चाहाने लघुवित्तलाई तपाईका सुझावहरु के के हुन् सक्लान ?
हिजोका दिनमा नेपाल राष्ट्र बैंकले लाईसेन्स दियो बुझिनबुझि हामीले व्यावसाय सुरु गर्यौं । मैले यो चीज पाउनु पर्छ भन्ने किसिमले स्वार्थमा गइयो भने मर्जर सम्भव छैन । अहिलेको मौद्रिक निति राष्ट्र बैंकको पोलिसी जसरी भए पनि लघुवित्तहरु मर्जर हुन् भन्ने धारणमा छ । मर्जरमा जाँदा म यो पदमा रहनु पर्छ भने भन्दा पनि लघुवित्त क्षेत्र जोगाउनु पर्छ भन्ने धारणाको विकास भयो भने मर्जरमा जान सहज हुन्छ । 

केही लघुवित्तसँग मर्जर भएको र अरुसँग पनि सम्भावना रहेको हुँदा मिर्मिरे लघुवित्त देशको सबै भन्दा ठुलो लघुवित्त बन्ने होडबाजीमा लागेको छ भन्न सकिन्छ ?
हामीले देशको सबै भन्दा ठुलो लघुवित्त बन्ने सपनानै त देखेका छैनौ । तर पनि नेपालमा १० वटा मात्रै लघुवित्त रहँदा पनि मिर्मिरे लघुवित्तको अस्तित्व जोगाउनु पर्छ भनेर हामी पक्कै लागीरहेका छौ । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई गाभेर गुणस्तरीय सेवामा फोकस गरीरहेको अवस्थामा टप लघुवित्तमा परेर आफ्नो नेम र फेम जोगाउने हाम्रो अभियान हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]