March 9th, 2020

भावी गभर्नरका लागि तीन प्रतिष्पर्धी अनुहार

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक बैंकका वर्तमान गभर्नर डा. चिरंजीवि नेपालको कार्यकाल सकिन लागेको छ । चैत्रको पहिलो साताबाट उनको कार्यकाल सकिन्छ । सामान्यतया कार्यकाल सकिनुभन्दा एक महिनाअधि विदा बस्ने चलन भए तापनि डा. नेपाल विदा नवस्ने भएका छन् । उनले अन्तिम समयसम्म कार्य गर्ने बताएका छन् ।

यता, नयाँ गभर्नर नियुक्तिका लागि सरकारले प्रक्रिया सुरु गरिसकेको छ । गभर्नर बन्नका लागि योग्यता र अनुभवका छ चाहिन्छ नै, राजनीतिक निकटताले पनि प्रभाव पार्छ । राष्ट्र बैंकको गभर्नरको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ । बहालवाल अर्थमन्त्रीको संयोजकत्वमा गठन हुने तीन सदस्यीय समितिको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने भएकाले प्रधानमन्त्रीको निर्णय नै सर्वमान्य हुन्छ । त्यसैकारण गभर्नरका दाबेदार सीधै प्रधानमन्त्रीसम्म पहुँच स्थापित गर्न खोज्छन् ।

गभर्नर बन्ने दौडधूमा धेरै छन् । तर, योग्यताका साथमा अर्थमन्त्री र प्रधानमन्त्रीसँगको सम्बन्धलाई समेत हेर्दा प्रतिष्पर्धामा केही मात्र छन् ।

भावी गभर्नरको दौडमा अहिलेसम्म सबैभन्दा अगाडि डेपुटी गभर्नर शिवाकोटी छन् । झापाका शिवाकोटी केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा डेपुटी गभर्नर बनेका थिए । पूर्व नेकपा (एमाले) निकट मानिने शिवाकोटी प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्लाबासी भएकाले उनको सम्भावना बढी भएको अनुमान गरिएको छ । यद्यपि, अर्थमन्त्री खतिवडाको भने उनी रुचीको पात्र नभएको बताइन्छ । राष्ट्र बैंकमा उनले ३२ वर्ष काम गरेका छन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी अर्थमन्त्री डा. युवराज खतिवडाको निकट मानिन्छन् । चार्टर्ड एकाउन्टेन्ट अधिकारीलाई खतिवडाले गभर्नर हुँदा राष्ट्र बैंकमा डेपुटी गभर्नर बनाएका थिए । उनी वित्तीय क्षेत्रका कुशल प्रशासक मानिन्छन् ।

प्रचण्डले वार्गेनिङ गरेको अवस्थामा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा मीनबहादुर श्रेष्ठ पनि गभर्नर बन्न सक्छन् । पार्टी एकता भए पनि प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगम्म आफ्नै निकटवर्तीलाई प्रमुख बनाए छन् । यस्तो अवस्थामा ओलीसँग नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले गभर्नरमा आफ्नो निकटवर्ती सिफारिस गर्न सक्नेछन् । श्रेष्ठ अर्थमन्त्री खतिवडा गभर्नर हुँदा राष्ट्र बैंकको अनुसन्धान विभागको प्रमुख बनाइएका थिए ।

गभर्नर नियुक्तिका लागि गठित समितिले एक जना डेपुटी गभर्नर र दुई जना आर्थिक तथा वित्तीय क्षेत्रमा विज्ञ ब्यक्तिहरू सहित तीन जनाको नाम सिफारिस गर्ने र ती तीन मध्येबाट मन्त्रीपरिषद्ले एक जनालाई स्वीकृत गरी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । जसअनुसार, समितिको सिफारिसमा पर्ने सबैभन्दा बलियो सम्भावना भएका यीनै तीन देखिन्छन् ।