भारतको एउटा ठुलो बैंक डुवेरै ‘कोल्याप्स’ हुने अबस्थामा

बैंकिङ खबर । एउटा ठुलो र प्रतिष्ठित बैंक एस बैंक पूर्ण रुपमा डुव्ने तर्खरमा छ । भारतमा आक्रामक रुपमा बजार ओगटेको ‘एस बैंक’ २१ औँ शताब्दीको सुरुमा महत्वाकांक्षी सोचसहित स्थापना भई आक्रामक ढंगले अघि बढेको हो । अहिले उक्त बैंक सबैभन्दा खराब समयमा आइपुगेको छ । कुनै समय कर्जा उपलब्धतामा नम्बर वान् मानिने यो बैंक अहिले सर्वसाधारणले जम्मा गरेको निक्षेप नै फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको छ ।

गत बिहीबार साँझ भारतीय रिजर्भ बैंकले एक सर्कुलर जारी गरी एस बैंकको बोर्ड भंग र प्रशासन नियुक्त गरिदिएको छ । भारतीय केन्द्रीय बैंकले अर्को आदेश नभएसम्म बैंकका ग्राहकका लागि रकम निकासीको सीमा ५० हजार रुपैयाँ तय गरेको छ । मेडिकल इमर्जेन्सी, उच्च शिक्षा वा बिबाहका अवस्थामा भने यो सीमा ५ लाख गरिएको छ । अहिले एस बैंकको नियन्त्रण भारतीय स्टेट बैंकको नेतृत्वमा वित्तीय संस्थाको एक समूह अर्थात कंसोर्सियमको हातमा दिने तयारी भइरहेको छ ।

सन् २००४ मा राणा कपुरले आफ्ना नातेदार अशोक कपुरसँग मिलेर बैंकको शुरुवात गरेका थिए । यो बीचमा बैंकले धेरै चुनौतीहरुको सामना गर्दै उदाहरणीय बनेको थियो । सन् २००८ को आर्थिक मन्दीमा विश्वभरका कयौँ बैंक डुब्दा एस बैंकले आफूलाई जोगायो । सरकारले कर्जा असुली गर्न नसकेको कम्पनीबाट समेत आफ्नो कर्जा असुली गर्ने रणनीति बनाएर राणा कपुरले सफलता हात पारे । सन् २००८ मा मुम्बई २६÷११ को आतंकवादी आक्रमणमा अशोक कपुरको मृत्यु भएपछि राणा कपुरले बैंकको एमडी र सीईओ दुवैको जिम्मेवारी सम्हाले । जनवरी २०१९ मा उनी बैंकबाट हटे । त्यसपछि बैंकको खराब समय सुरु भयो ।

त्यसपछि क्रमशः ठूलो घाटा व्यहोर्दै गएको बैंक अहिले ग्राहकको पैसा नै फिर्ता गर्न नसक्ने अवस्था छ । राणा कपुरले पनि बैंकबाट आफ्नो स्वामित्व हटाउँदै ५ प्रतिशतमा झारेका छन् । विदेशी फन्ड हाउसेज तथा क्रेडिट एजेन्सीहरुले एस बैंकलाई नेगेटिभ लिस्टमा हाले पछि एस बैंकका लागि ओपन मार्केट र विदेशीसँग पैसा जुटाउन नसक्ने अवस्था आयो । बैंकलाई माथि उठाउन नयाँ सीईओ नियुक्त गर्ने, बन्डहरु जारी गर्ने लगायतका कदम चालिए तापनि सफल हुन सकेन ।

अहिले सरकारको निगरानीमा राखिएको बैंकको १० प्रतिशतभन्दा बढी कर्जा इन्भेष्टमेन्ट ग्रेडबाट तल रहेको छ । सरकारले एस बैंक पुनर्सरचनाको लागि खाका तयार गरेको छ । जसमा स्टेट बैंक अफ इण्डियाले एस बैंकको ४५ प्रतिशत स्वामित्व लिन सक्ने उल्लेख छ ।