तेजेन्द्र शर्मा लम्साल । लघुवित्त बैंकिङमा १०।२० जना विपन्न परिवारका महिलाहरुलाई ५।७ दिन तालिम दिई एक समूह बनाइन्छ । सामुहिक जमानीमा उनीहरुको रकम परिचालन गर्नसक्ने क्षमताको आधारमा ४०।५० हजारको कर्जा शुरु गरि क्रमशः रकम बढाएर २।३ लाखसम्म विना धितो कर्जा प्रवाह गरिएको हुन्छ । कुनैपनि बैंक तथा वित्तीय संस्थामा खाता नभएका र बेरोजगार वा निवार्हमुखी खेतिमा अल्मलिएका व्यक्तिहरु खासगरी महिलालाई लघुवित्त संस्थामा सदस्यको रुपमा प्रवेश गराइन्छ । ती सदस्यहरुलाई सानो कर्जा, सानो बचत, सानो बीमा र रेमिट सेवा प्रदान गरिन्छ ।
लघुवित्त बैंकिङमा कृषक सदस्यको लागि लघुकर्जा मार्फत हाल भएका गाई भैसीमा क्रमशः १।२ वटा थप गराउने र १।२ वटा खेतवारीमा व्यवसायिक तरकारी वा नगदेवाली वा फलफुल खेति इत्यादि गर्न र थप गर्न हौसाला प्रदान गरिन्छ । उनीहरुलाई आवश्यक पर्ने तालिम, मलविउ, यान्त्रिकरण जस्ता कुराहरुमा स्थानीय निकायमा जोडिदिने वा सहयोगी भुमिका खेल्ने कार्य गरिएको हुन्छ । उनीहरुको उत्पादनलाई वजारसम्म पु¥याउन उनीहरु भित्रैबाट आलोपालो गरी साना व्यापारी बनाएर विचौलियाबाट समेत बचाइन्छ । व्यापारी सदस्यहरुको फुटपातको पसललाई ठेलामा र ठेलाको पसललाई सटरमा पु¥याउन व्यावसायको परियोजना बनाउन सिकाउने, आवश्यक कर्जा प्रदान गर्ने, आर्थिक कारोवारको हिसाव राखी नाफा नोक्सानको ख्याल गरेर कारोवार गर्न सिकाउने जस्ता कार्य लघुवित्त बैंकिङ अन्तर्गत पर्दछन् । अनि सामान्य विकासका पुर्वाधार पनि नभएको भाडामा कार्यालय राख्ने घर समेत पाउन कठिन हुने दुर्गम स्थानमा समेत कार्यालय स्थापना गरी त्यहाँबाट पनि १।२ दिन बास बस्नेगरी झोलामा पैसा बोकेर टाढा टाढा लघुवित्त बैंकिङको सेवा विस्तार भइरहेको छ । आर्थिक र सामजिक रुपमा पछि परेको परिवारलाई स्थानीय बस्तीका टोल टोलमा नै लघुवित्त संस्थाहरु पुगेर उनीहरुलाई गैरआर्थिक परिवेशबाट माथि उठाएर देशको आर्थिक विकास तथा उत्पादकत्वमा उनीहरुलाई पनि सहभागी गराएर सम्पन्न समाज बनाउने तर्फ लघुवित्त बैंकिङले पहल गरिरहेका छन् ।
लघुवित्त बैंकिङमा एकादुई ऋणीको कुनै कारणले परियोजना असफल भएको असहज परिस्थितिमा पनि उनीहरुको मनोबल सँधै उचो राखेर उत्पादन कार्य र आर्थिक क्रियाकलापमा सहभागी गराइराख्न सक्ने नीतिगत व्यवस्था गर्न आवश्यक छ । उनीहरुलाई दुईतीन पटकसम्म कर्जा तालिकिकरण गरेर कर्जाको आकार सानो बनाई वित्तीय कारोवारको मुल प्रवाहमा ल्याउन कोशिसा गर्न पाउने मौका नीतिगत रुपमा आवश्यक छ । त्यसपछि पनि कर्जाको किस्ता तिर्न नसकेको अवस्थामा उक्त कर्जा रकमलाई अपलेखन गर्नु पर्दछ । अर्काे तर्फ लघुवित्त बैंकिङका सदस्यहरुलाई वित्तीय संस्थाकोे शेयर प्रदान गरेर थप आय आर्जन गराउने र सदस्यलाई वित्तीय संस्थाको मालिक बनाउनु पनि लघुवित्त बैंकिङको एउटा पाटो हुनुपर्दछ । यस प्रकारका विषयबस्तु नीतिगत तहमा व्यवस्था गरेर लघुवित्तका सदस्यलाई लाभान्वित गराउन आवश्यक देखिन्छ ।
नेपालको लघुवित्त बैंकिङमा “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुमा मात्रै सिमित नभई “क” वर्ग, “ख” वर्ग, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले पनि बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन ०७३ को दफा ४९ (१) (न) मा “विपन्न वर्ग, न्यून आय भएको परिवार, दैवी प्रकोप पीडित तथा मुलुकका कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागि व्यक्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोके बमोजिमको रकमसम्म कर्जा दिने” भन्ने व्यवस्था बमोजिम शहरबजारमा धितोमा विपन्न परिवारमा कर्जा प्रवाह गरेर लघुवित्त बैंकिङ गरिरहेका छन् भने सहकारी संस्थाहरुले पनि सहकारी ऐनको व्यवस्था अनुसार लघुवित्त बैंकिङ गरिरहेका छन् । हाल २८ वटा वाणिज्य बैंक, ३२ वटा विकास बैंक, २४ वटा फाइनान्स कम्पनी, कम्तिमा ९१ वटा लघुवित्त वित्तीय संस्था, केहि गैरसरकारी संस्था र केहि हजार सहकारी संस्थाहरु नेपालको लघुवित्त बैंकिङमा सहभागी भएका छन् । लघुवित्तको एउटा खण्ड अन्तर्गतका “घ” वर्गका लघुवित्त वित्तीय संस्थाको संख्याको मात्रै चर्चा गर्ने हो भने २०७४ सालपुर्व ५० वटा लघुवित्त वित्तीय संस्थामा २०७४ सालमा १३ वटा र २०७५ सालमा २८ वटा थप भई ९१ वटा लघुवित्त वित्तीय संस्थाहरु पुगेका छन् भने आगामी दिमा कति थप हुने बारेमा यकिन गर्न नसकिए पनि ११५ भन्दा बढि हुने हो भने कम्तीमा २४ वटा थप हुन सक्ने देखिन्छ ।
सन् २००६ मा नोवेल शान्ति पुरस्कार पाएको लघुवित्त बैंकिङको सौन्दर्यतालाई जोगाउनुपर्ने दायित्व नेपालको पनि हो । पहाडी तथा हिमाली भूबनोटमा छिरलिएको गाउँघर बस्ती अन्तर्गत जैविक विविधता उपभोगका प्राय सबै बस्तुहरु उत्पादन हुन सक्ने मौसम र माथिल्लो भागमा पानीको भण्डार भएकोले सिँचाईको लागि प्रयाप्त श्रोत रहेको छ । नेपालमा लघुवित्त बैंकिङ विश्वको नमूना बन्नसक्ने प्राकृतिक वातावरण रहेको छ । यसको लागि नेपालको लघुवित्त बैंकिङ पनि नोवेल पुरस्कार पाएको मोडालिटीमा सञ्चालन गर्र्न एउटै ढोकाबाट नियमन र नियन्त्रण गर्ने, एउटै आकारका कर्जा प्रवाह गर्ने, एउटै प्रकृतिको कारोवार गर्ने तर्फ नीतिगत व्यवस्था आवश्यक देखिन्छ ।
कारोबारको प्रकृतिको आधारमा बैंकिङ र लघुवित्त बैंकिङ फरक फरक विषयबस्तु हुन् । बैंकिङमा ठूलो कर्जा हुन्छ तर लघुवित्त बैंकिङमा सानो कर्जा हुन्छ । बैंकिङमा वित्तीय कारोवारको स्थान कार्यालय रहन्छ तर लघुवित्त बैंकिङमा कारोवारको स्थान गाउँसमाजका टोलटोलहरु हुन्छन् । बैंकिङमा धितो कर्जा हुन्छ तर लघुवित्त बैंकिङमा सामान्यतया विनाधितो कर्जा हुन्छ । लघुवित्त बैंकिङमा बृक्षारोपण, सरसफाइ, साक्षरता, समूह गठन, सरसफाइ, सिपमुलक तालिम, परिवार नियोजन इत्यादि सम्वन्धी सचेतनामूलक कार्यक्रमहरु पनि समावेश गरिएका हुन्छन् तर बैंकिङमा यी क्रियाकलाप सामान्यतया गरिन्न । त्यसैले बैंकिङ कारोवार गर्ने कर्मचारी र लघुवित्त बैंकिङ कारोवार गर्ने कर्मचारीको कामको प्रकृति पनि फरक छ । केहि वर्ष यता नेपालको बैंकिङ कार्यालयहरुले पनि लघुवित्त बैंकिङलाई फरक विभाग गठन गरेर सञ्चालन गरेका छन् । फलस्वरुप लघुवित्तका आधारभुत मान्यताहरु जोगाउन कठिन हुन सक्ने देखिएको छ ।
नेपालमा लघुवित्त बैंकिङको मर्जर गर्नु बैंकिङको जस्तो सहज हुँदैन । बैंकिङ कारोवार गर्ने “क” वर्ग, “ख” वर्ग, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाको कामको प्रकृति एउटै छ । तर लघुवित्त बैंकिङ गर्ने निकायको रुपमा सवै बैंक तथा वित्तीय संस्थाहरु छन् । लघुवित्त वित्तीय संस्थाहरुले गर्ने लघुवित्त बैंकिङ अरुको भन्दा भिन्न प्रकृतिको रहेको छ । त्यसैले लघुवित्त बैंकिङकोे मर्जर गर्ने हो भने यीे दुई तरिका मध्ये कुनै एकलाई कार्यान्वयनमा ल्याउन आवश्यक देखिन्छ ।
पहिलो, लघुवित्त संस्थाहरुलाई मर्जर गरेर थप क्षमतावान बनाउने र क्रमशः “क” वर्ग, “ख” वर्ग, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाबाट लघुवित्त बैंकिङ छुट्याउन आवश्यक देखिन्छ ।
दोश्रो, लघुवित्त वित्तीय कारोबार गर्ने “घ” वर्गका वित्तीय संस्थाहरुलाई पनि “क” वर्ग, “ख” वर्ग, “ग” वर्गका बैंक तथा वित्तीय संस्थामा विलय गरेर बैंकको विभागबाट लघुवित्त बैंकिङ सञ्चालन गर्न पनि सकिन्छ ।
अहिले जस्तो “क” वर्ग, “ख” वर्ग, “ग” वर्गका बैंक तथा वित्तीय संस्था, लघुवित्त वित्तीय संस्था, गैरसकरकारी संस्था र सहकारीहरु सबैले आफ्नो आफ्नो तरिकाले लघुवित्त बैंकिङ गर्ने अनि मात्रै “घ” वर्गका वित्तीय संस्थाहरुको संख्या घटाउनुले केहि हदसम्म हाल देखिन लागेका केहि विकृति नियन्त्रण गर्न केहि हदसम्म सहज हुन्छ । तर अपेक्षा गरिए बमोजिम लघुवित्त बैंकिङको सौन्दर्यता जोगाउन, लक्षित गरिएका विपन्न वर्गले अपेक्षित लाभ पाएर राष्ट्रिय उत्पादनमा उनीहरुलाई हौसलापूर्ण सहभागिता गराउन लघुवित्त बैंकिङको मर्जर नै आवश्यक देखिन्छ नकि लघुवित्त संस्थाहरुको मर्जर मात्रै ।




