June 6th, 2019

संसारकै सबैभन्दा ठूलो बैंक ICBC : कस्तो छ अवस्था ?

बैंकिङ खबर । आईसीबीसी अर्थात इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना संसारकै सबैभन्दा ठूलो बैंक हो । १ जनवरी १९८४ मा स्थापना भएको यो बैंक औद्योगिक एवम् व्यवसायिक क्षेत्रमा केन्द्रित रहेको छ । यद्यपि, यसले व्यक्तिगत प्रकारका कर्जाहरु पनि उपलब्ध गराउँछ । २८ अक्टोबर २००५ मा यो बैंकलाई जोइन्ट स्टक लिमिटेड कम्पनीमा परिणत गरियो र २७ अक्टोबर २००६ देखि सांघाई स्टक एक्सचेञ्ज र स्टक एक्सचेञ्ज अफ हङकङमा सूचिकृत गरियो ।

पूर्ण रुपमा ग्राहक केन्द्रित सेवाहरुमा जोड दिने यो बैंकले विकासका कार्यहरुको सुरुवातमा सहयोग गर्ने उद्देश्य बोकेको छ । ६२ लाखभन्दा बढी कर्पोरेट ग्राहक र ५७ लाख व्यक्तिगत ग्राहकहरुलाई आईसीबीसीले सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले आफ्नो सेवा र सुविधामा क्रमशः विकास र विस्तार गर्दै लगेको छ । हाल यो बैंकले ४५ वटा मुलुकमा आफ्नो सेवाहरु विस्तार गरिसकेको छ ।

आईसीबीसीले कर्पोरेट बैंकिङ, पर्सनल बैंकिङ र ट्रेजरी अपरेसन गरी तीन किसिमको सेवा प्रदान गर्दछ । कर्पोरेट बैंकिङ अन्तर्गत बैंकले कर्पोरेसनहरु, सरकारी एजेन्सीहरु र वित्तीय संस्थाहरुका लागि प्रोडक्ट उपलब्ध गराउँछ । यस बैंकिङअन्तर्गतका प्रोडक्टहरुमा कर्पोरेट लोन, ट्रेड फाइनान्सिङ, निक्षेप संकलन, कर्पोरेट वेल्थ मेनेजमेन्ट सर्भिस, सुरक्षा सेवा लगायतका अन्य कर्पोरेट मध्यस्थ सेवाहरु रहेका छन् ।

त्यस्तै, पर्सनल बैंकिङ अन्तर्गत व्यक्तिगत कर्जा र कार्डहरु, निक्षेप, व्यक्तिगत सम्पत्ति व्यवस्थापन र व्यक्तिगत मध्यस्थ सेवाहरु रहेका छन् भने ट्रेजरी अपरेसन मनि मार्केट ट्रान्ज्याक्सन, लगानी सुरक्षा र विदेशी विनिमय कारोबारसँग सम्बन्धित रहेको छ । यसबाहेक, आईसीबीसीले ईबैंकिङ, ब्रोकर डिलर, बीमा, कोष एवम् पुँजी व्यवस्थापन, ट्रष्ट, फाइनान्सियल लिजिङ जस्ता सेवाहरु पनि प्रदान गर्दछ ।

चिनको बेइजिङमा केन्द्रीय कार्यालय रहेको आईसीबीसीको लगानीमा १६ हजार तीन सय ९४ स्वदेशी संस्थाहरु संचालनमा छन् भने ४२६ ओभरसिज कम्पनीहरु संचालनमा छन् ।

वित्तीय अवस्था
३१ मार्च २०१९ को रिपोर्टअनुसार, आईसीबीसीले ८२ हजार छ सय ९० मिलियन युआन खुद नाफा कमाएको छ । पुँजी एक वर्षमा ५.५९ प्रतिशतले बढेर दुई करोड ९२ लाख ४६ हजार पाँच सय ७२ मिलियन युआल पुगेको छ । कर्जा प्रवाह एक करोड ५९ लाख ३२ हजार चार सय दुई मिलियन युआन पुगेको छ भने लगानी ७१ लाख २१ हजार छ सय १६ मिलियन युआन पुगेको छ । प्रतिसेयर आम्दानी ४.५५ प्रतिशतले बढेर ०.२३ पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]