May 15th, 2019

आयातित वस्तुको प्रयोग डरलाग्लो अवस्थामा, नौ महिनाको व्यापार घाटा १० खर्ब

बैंकिङ खबर । आयात र निर्यात बीच सन्तुलन कायम गर्न नसक्दा नेपालको व्यापार घाटा चुलिँदै गएको छ । पछिल्लो ९ महिनाको तथ्यांक हेर्दा वस्तु आयात घट्नुको सट्टा तीव्र गतिमा वृद्धि भएको छ भने निर्यात स्थिर जस्तै छ । फलस्वरुप व्यापारघाटा नौ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार नौ महिनामा १० खर्ब ६१ अर्बको आयात भएको छ भने निर्यात ७० अर्बमा सिमित छ । आयात निर्यातको अनुपातको विश्लेषण गर्दा नेपालले १ रुपैयाँ मूल्यको वस्तु निकासी गर्दा १५ रुपैयाँ २० पैसा बराबरको वस्तु आयात गरिरहेको हुन्छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा व्यापारघाटा २२ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । यही दरमा वृद्धि हुने हो भने चालू आर्थिक वर्षको अन्त्यसम्ममा व्यापार घाटा १४ खर्ब ३० अर्ब पुग्ने अनुमान गरिएको छ ।

प्राय विलासिलताका वस्तुहरुको आयात अत्याधिक हुने गरेको देखिन्छ । चैत्र मसान्तसम्मको विवरण हेर्दा, सबैभन्दा धेरै एक खर्ब ८२ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । यस्तै, एक खर्ब आठ अर्बको फलाम र स्टिल, ९० अर्ब जतिको मेसिनरी, ७० अर्बको सवारीसाधन र ६६ अर्बको विद्युतीय सामग्री आयात भएको तथ्यांक छ ।

मुलुकबाट निकासी भएका प्रमुख वस्तुमा पोलिस्टर तथा अन्य धागो, फलाम तथा स्टिल, ऊनी गलैंचा, तयारी पोसाक, जुट तथा जुटका सामान, जुस, चिया, कपडा, अलैंची, पस्मिना सल छन् । सबैभन्दा धेरै सात अर्ब ३४ करोड रुपैयाँको पामको तेल निर्यात भएको छ । ७ अर्ब २४ करोडको धागो, ५ अर्ब ७६ करोडको गलैंचा, ५ अर्ब ६८ करोडको चिया तथा कफी र ५ अर्ब जतिको फलाम र स्टिलका सामग्री निर्यात भएको छ ।

नेपालमा सबैभन्दा धेरै सामान छिमेकी मुलुक भारतबाट आयात हुने गरेको छ भने निर्यातको मूख्य बजार पनि भारत नै रहेको छ । कुल आयातमा ६४ प्रतिशत हिस्सा भारतको रहेको छ । अर्को छिमेकी मुलुक चीनबाट १४.५ प्रतिशत आयात हुने गरेको छ । कुल निकासीमध्ये भारत र अमेरिकाको हिस्सा क्रमशः ६३.४ र ११.४ प्रतिशत छ । मुलुकको वैदेशिक व्यापार साझेदार मुलुकमा भारत, अमेरिका, जर्मनी, टर्की, युके, चीन, बंगलादेश, फ्रान्स, इटाली, जापान, क्यानडा, अस्ट्रेलिया, डेनमार्कलगायत रहेका छन् ।

सरकारले आयातित वस्तुहरुमा नियन्त्रण गर्न कुनै पनि प्रभावकारी कदम चाल्न सकेको छैन । न त निर्यातजन्य स्वदेशी उत्पादन बढाउनका लागि प्रोत्साहन नै दिन सकेको छ । जसकारण व्यापारघाटा बजेटकै हाराहारीमा पुग्न लागेको छ । यसको समाधानका लागि सरकारले यथाशक्य छिटो आयातित वस्तुहरुको नियन्त्रण र स्वदेशी उत्पादनमा जोड दिने खालका नीतिहरु ल्याई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

स्वदेशमा उत्पादन लागत बढी पर्न गई सामान महँगो हुने हुँदा प्रायः आयातित सामानहरुको प्रयोगमा जोड दिने गरिएको पाइन्छ । यस विषयलाई मध्यनजर गर्दै कम लागतमा गुणस्तरीय सामान उत्पादन गर्ने वातावरण स्वदेशमै तयार गर्न सके मात्रै आयात निर्यात बिचको असन्तुलन कम गर्न सकिने देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]