March 27th, 2019

माथिल्लो त्रिशुलीबाट शुरु हुने भयो हेजिङ व्यवस्था, कस्तो छ आयोजनाको प्रगति ?

बैंकिङ खबर । स्वदेशमा आउने विदेशी लगानीलाई थप सुरक्षित बनाउन भन्दै सरकारले ल्याएको हेजिङ सुविधा माथिल्लो त्रिसुली जलविद्युत आयोजनाबाट सुरु गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी सम्मेलनको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । रसुवामा निमार्ण हुन लागेको आयोजनको कुल क्षमता २१६ मेगावाट रहेको छ ।

माथिल्लो त्रिसुली जलविद्युत आयोजनाको निमार्ण कोरियन कम्पनी कोरिया साउथ इष्ट पावर कम्पनी लि.(कोसेप) ले सहायक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि. मार्फत निमार्ण गरिरहेको छ । कम्पनीले स्थानिय आयोजना प्रभावितलाई मुआब्जा वितरण गरिसकेको तथा अहिले आयोजना स्थलसम्म जानको लागि सडक निमार्ण कार्य तथा आवास गृह र लेबर क्याम्प निमार्ण कार्य भइरहेको कम्पनीका महाप्रवन्धक गिरिराज अधिकारीले जानकारी दिए । २०७२ को भुकम्प भन्दा अगाडी नै आयोजनाको लागि सडक तथा आवास निमार्ण गरिसकिएकोमा भुकम्पको कारण क्षति पुग्दा पुनः निमार्ण गर्नु परेको महाप्रवन्धक अधिकारीले बताए ।

कुल ५५ अर्ब लागत रहेको आयोजना निमार्णको लागि कम्पनीले आइएफसिको नेतृत्वमा एशियाली विकास बैंक, कोरियन बैंक र यूरोपियन बैंक गरि १२ वटा संस्थाबाट ४५ अर्ब रुपैयाँ विदेशी लगानी ल्याउने छ भने बाँकी रहेको लगानी कम्पनी आफैले गर्ने महाप्रबन्धक अधिकारी बताउँछन् । हेजिङ सम्झौता पछि मात्र विदेशी लगानी आउने भएकोले हेजिङ सम्झौता भएको पाँच वर्षमा आयोजना निमार्ण सम्पन्न गर्ने लक्ष्य राखिएको अधिकारीले जानकारी दिए । अहिले सम्म आयोजना निमार्णको लागि हेजिङ नहुँदा ऋण सम्झौता हुन नसकेको भन्दै सरकार नै अग्रसर हुनु सकारात्मक कदम भएको उनले बताए । आयोजनमा कुल लगानीको ७५ प्रतिशत कोरियन लगानी रहने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]