March 8th, 2019

महिलाहरु बैंकिङ क्षेत्रको नेतृत्वका लागि सक्षम छन् : अनुपमा खुन्जेली

बैंकिङ खबर । नेपालको बैंकिङ क्षेत्रमा महिला कर्मचारीहरु धेरै छन् । तर नेतृत्वमा बसेर काम गर्ने अवसर भने कमैले पाएका छन् । अहिले पनि केही बैंक तथा वित्तीय संस्थामा माथिल्लो तहमा बसेर काम गर्ने महिलाहरु कम देखिन्छन् । तर मेगा बैंक एउटा यस्तो बैंक छ जसको व्यस्थापन समुहको माथिल्लो दुई तहमा महिला कर्मचारी छन् । बैंकले पछिल्लो समय गरेको प्रगति हेर्ने हो भने महिला नेतृत्व पनि पुरुष भन्दा कम देखिएको छैन् । नारी दिवसको अवसर पारेर मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीसँग बैंकिङ क्षेत्रमा महिलाका लागि अवसर र चुनौतिका विषयमा बैंकिङ खबरले कुराकानी गरेको छ ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा महिलाहरुको सहभागिता निकै बढेको छ । करिअर बनाउन महिलाहरुका लागि बैंकिङ क्षेत्र उपयुक्त ठाउँ हो ?
हो अहिले बैंक तथा वित्तीय क्षेत्रमा महिला कर्मचारीहरु धेरै हुनुहुन्छ । त्यसैले पनि महिलाहरुको आकर्षण पनि बैंकिङ करिअरमा बढी देखिएको छ । मेगा बैंककै कुरा गर्ने हो भने व्यवस्थापन समुहमा महीलाहरुको संख्या नै बढी छ । अरु बैंकमा पनि दोस्रो तहमा बसेर काम गरिरहनुभएको छ । अहिले पनि केही महिलाहरु सिइओ बनेर काम गर्न सक्ने क्षमता बनाइसक्नु भएको छ। यसले महिलाहरु पनि कार्यकारी प्रमुख बनेर काम गर्न सक्षम भए भन्ने देखाएको छ । त्यसैले अवको दिनमा महिलाहरु धेरै बैंकमा सिइओ बनेर बैंकलाई नेतृत्व गरेको हेर्ने दिन आउँछ । महिलाहरुले बैंकिङ क्षेत्रको कामलाई सुरक्षित र इजतदार जबको रुपमा पनि लिएको पाइन्छ । बैंकले कर्मचारीबाट चाहेको भनेको सुरक्षित कारोबार हो । जसका लागि महिलाहरु इमानदार हुन्छन् । अहिले सम्मको घट्नाक्रमलाई हेर्ने हो भने पनि महिलाहरुले बदमासी गरेको खासै देखिदैन् । त्यसैले पनि बैंकमा जुन किसिमको व्यवहार चाहिन्छ त्यो महिलामा बढी पाइन्छ । अनि बैंकलाई आवस्यक एजुकेशनको कुरामा पनि महिलाहरुले राम्रो प्रगति गरिरहेका छन् । यसैले बैंकमा महिलाहरुका लागि अवसर धेरै छ ।

तर नेपालमा महिलाहरुले घरमा पनि अलि बढी नै काम गरिहेका हुन्छन । यस्तो अवस्थामा पनि महिलाहरु बैंकिङ क्षेत्रमा अब्बल बन्दै गएका छन् ।
महिलाहरुले घर ब्यववहार पनि मिलाउन सक्ने र अफिसमा पनि समय दिन सक्ने क्षेत्र हो बैंकिङ क्षेत्र । यसमा परिवारको सहयोग अत्यन्तै आवस्यक छ । जसरी छोरा, ज्वाईं लगायतलाई घरबाहिरको करिअर निर्माणका लागि जति समय र स्वतन्त्रता दिन्छौं त्यति नै सहयोग महिलालाई पनि दिनु पर्छ । परिवारको सहयोग पाउने महिलाहरु नै बैंकिङ क्षेत्रमा अगाडी बढेको मैले देखेको छु ।

महिलाहरुलाई पनि काम गर्ने अवसर दिने हो भने सफल हुन्छन भन्ने उदाहरण त तपाई आफै हुनुहुन्छ ? मेगा बैंकको एक वर्षअघिको वित्तीय अवस्था र अहिलेको अवस्थाले यस्तै देखाउँछ । नेतृत्व लिएर काम गर्न कत्तिको चुनौति छ ?
मलाई के लाग्छ भने काम गर्दै जाँदा अनुभव बढदै जाने हो । म पनि असिस्टेन्ट तहबाट काम गर्दै आफुलाई विकास गर्दै आएको व्यक्ति हुँ । बैंकका काम गर्दा टिमवर्क महत्वपूर्ण हुन्छ । नेतृत्व गर्ने क्षमता छ र आफ्नो टिमलाई बैंकको भिजन देखाएर दौडाउन सकिन्छ भने सफल हुन सकिन्छ । यहाँ नेतृत्वमा भएका जो कोहीले आफ्नो टीमलाई विश्वास गर्ने र टीमले नेतृत्वलाई विश्वास गर्ने वातावरण हुनुपर्छ । यसले संस्थालाई सफल बनाउँछ । मुख्य कुरा यही नै हो । जुन काम महिलाहरुले अझै सजिलोसंग गर्न सक्छन् ।

मेगा बैंकमा पहिलो र दोस्रो तहमा महिलाहरु नै हुनुहुन्छ । यो त एउटा उदाहरण पनि हो । मेगा बैंक निजी क्षेत्रमा सबैभन्दा धैरै पूँजी हुने बैंकहरु मध्ये एक हो । यति ठुलो बैंकलाई नेत्रित्वमा लिएर जान कित्तिको कठिन भइराखेको छ ?
हो यो बैंकिङ क्षेत्रको लागि नै उदाहरण भन्न सकिन्छ । किन भने नेपालमा यसअघि व्यवस्थापनमा दुई जना महिला सिनियर पोस्टमा बसेर काम गरेको उदाहरण यो भन्दा अर्को छैन् । तर यहाँ हामीलाई बैंक सञ्चालकहरुले विश्वास गर्नुभएको छ । उहाँहरुले विश्वास गरेर जिम्मेवारी नदिएको भए हामिले जिम्मेवारी लिएर प्रमाणित गर्ने अवसर पाउने थिएनौं । सञ्चालक समितिले महिलालाई विश्वास गरेर काम गर्न दिएको हुनाले नै आजको दिन देख्न सकेका त हौं हामीले ।

बैंकमा सबै तहमा काम गर्ने महिलाहरुलाई काम गर्दाका चुनौतिहरु होलान् । तपाइको अनुभव कस्तो छ ? तपाई आफै विभिन्न तहमा काम गर्नुभएको थियो ?
काम गर्दाका चुनौति हुन्छन नै । महिला पुरुष दुवैले काम गर्दा बराबर नै चुनौति हुन्छ । जुन तहमा काम गर्दा पनि चुनौति आ आफ्नै हुन्छन् । सिइओ भएर काम गर्दाका चुनौति पनि आफ्नै छन् । मुख्य सञ्चालकहरुले राखेको भिजन र मिसनलाई बुझेर कार्यान्वयन गर्ने हो । त्यसैले तलपट्टी व्यवस्थापनले बोर्डको मिसन र भिजन लाई कार्यान्वयन गरेर नतिजा निकाल्नु प¥यो । माथिपट्टी सञ्चालक समिति, सञ्चालक र व्यवस्थापनलाई पनि व्यवस्थापन गर्न सक्नु पर्छ । एउटा सिइओ भएपछि सबैको सहयोग लिन पनि जान्नु पर्छ । त्यसैले हरेक तहमा आ–फ्ना चुनौतिहरु हुन्छन् ।

अब बैंकिङ क्षेत्रमा नयाँ पुस्ताका महिलाहरु निकै आकर्षित देखिएको देखिन्छ । बैंकहरुले पनि महिला कर्मचारीहरु धेरे नै लिएका छन् । यो किन भइराखेको छ ?
महिलामा हुने गुण बैंकिङ क्षेत्रमा राम्रो फिट भएर गएको छ । महिलामा हुने गुणहरु बैंकिङ कारोबारमा फिट भएकाले नै बैंकहरुमा महिला कर्मचारी बढी देखिएको हो । बैंकले दिने सर्भिस राम्रो हुनुप¥यो । जुन काम महिलाले सजिलै गर्न सक्छन् । यो कुरा महिलाहरुको लागि खुशिको कुरा हो ।

अब नयाँ पुस्ताले तपाई जस्तो नेतृत्वमा बसेर काम गरेकाहरुबाट के सिक्ने ?
यो एक वर्षको आकडा हेर्न सक्नु हुन्छ । मेरो काम पहिलो हो । म सँग अझै तीन वर्ष समय छ । मलाई अझै बढी सफल हुनु पनि छ । म जस्तै बैंकिङ क्षेत्रमा काम गरिरहनुभएका महिलाहरुलाई म के भन्न चाहन्छु भने कुनैपनि काममा लगाव हुनु पर्छ । सफल हुनको लागि कडा मेहनेत गर्नै पर्छ र आएको अवसरलाई लिएर काम गर्न सक्नु पर्छ । बैंकहरुले पछिल्लो समय विभिन्न ठाउँमा शाखाहरु खोलि रहेका छन् । त्यसैले बैंकमा प्रवेश गर्ने अवसरहरु धेरै आएका छन । जुन महिलाहरुले बुझेर काम गर्न सक्यो भने राम्रो हुन्छ ।

अन्त्यमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थमाहरुमा तरलताको समस्या र ब्याजदरको समस्या देखिएको छ । यस्ता समस्यालाई तपाइले कसरी मिलाएर लैजानु भएको छ ?
अहिले मेगा बैंकको स्थितिको कुरा गर्दा हामीले केन्द्रिय बैंकले तोकिदिएका नियमहरु भित्रै बसेर काम गर्न सकेका छौं । कर्जा लगानी गर्न सक्ने अवस्था पनि हामीसँग छ । आगामी दिनमा मौद्रिक नीतिको समिक्षाबाट केन्द्रिय बैंकले व्यवस्था गरेको नयाँ नियमहरु कार्यान्वयन गर्नुपर्ने पनि छ । मेगा बैंक पूँजीको हिसाबले पनि केही बैंक बाहेक अन्य बैंकहरु भन्दा अगाडी छ । यस्तो अवस्थामा निक्षेप बढाउनुपर्ने चुनौतिहरु छन् । गत वर्षको भन्दा निक्षेपको ग्रोथरेट बढी नै छ । जसले गर्दा लगानी योग्य रकम, ब्याजदर लगायतका समस्याहरु आउँदासमेत हामीले सहजै काम गर्न सकिरहेका छौं । यसका अलवा हामीले कर्मचारीको क्षमता वृद्धि गर्ने काम पनि गरिरहेका छौं । जसको लागि लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर पनि निर्माण गरेका छौं । त्यसैले मलाई लाग्छ हामी राम्रो टिम बनाएर काम गरिरहेका छौं ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]