December 31st, 2018

सन् २०१८ का ११ चर्चित बैंकिङ घटनाहरु

बैंकिङ खबर । सन् २०१८ सालमा बैंकिङ क्षेत्रले निरन्तर रुपमा तरलता समस्याको सामना गर्यो । प्रविधिको विकासका हिसाबले भने बैंकिङ क्षेत्र निकै उपलब्धीमूलक बन्यो । साथमा प्रविधिको दुरुपयोगका घटनाहरु पनि आए । बैंक तथा वित्तीय संस्थाहरुसम्बन्धी कतिपय नीति नियमहरु परिमार्जित पनि भए । समग्रमा, २०१८ सालका चर्चित केही बैंकिङ खबरहरुका बारेमा यहाँ चर्चा गरिन्छः 

बैंकहरु बीच ब्याजदरको प्रतिस्पर्धा 
नेपालमा पछिल्लो समय देखिएको लगानीयोग्य पुँजीको समस्याका कारण बैंकहरुमा ब्याजदरको प्रतिस्पर्धा चर्को रुपमा अगाडी आएको थियो । बैंकर्स संघले एक बर्ष पहिलेबाट गरेको ब्याजदरको भद्र सहमति हटाएसँगै बैंकहरुमा ब्याजदर बृद्धिको चर्को प्रतिस्पर्धा सुरु भएको थियो । तर विभिन्न सरोकारवाला क्षेत्रको असन्तुष्टिका साथै नेपाल राष्ट्र बैंकको साहसिक कदमले गर्दा बैंकहरुले ब्याजदरमा प्रतिस्पर्धा नगर्ने निर्णय गर्दै वाणीज्य बैंकहरुले मुद्धति निक्षेपमा अधिकतम ९.५ प्रतिशत तथा बचतमा अधिकतम ६.५ प्रतिशत व्याजदर कायम गरेका छन् । त्यस्तै, विकास बैंकहरुले मुद्धतिमा १० प्रतिशत तथा फाइनान्स कम्पनीहरुले मुद्धति निक्षेपमा अधिकतम १०.२५ प्रतिशत सम्म ब्याज दिने निर्णय गरेका छन् ।

आईएमएफद्धारा नेपालाका बैंकहरुले जोखिम मोलेको विश्लेषण 
अन्तरराष्ट्रिय मुद्धा कोष (आईएमएफले) नेपालका बैंक तथा वित्तीय संस्थाहरुले जोखिम मोलेको विश्लेषण गरेको छ । बैंकहरुले आक्रमक रुपमा कर्जा विस्तार गरेको र यसरी आक्रमक रुपमा कर्जा विस्तार गर्दा बैंकिङ क्षेत्रमा जोखिम अवस्था आउन सक्ने आईएमएफको विश्लेषण छ । यसरी आक्रमक रुपमा लगानी विस्तार गर्दा पनि नेपालका बैंकहरुको खराब कर्जा नबढेकोमा आईएमएफले अश्चार्य प्रकट पनि गरको छ ।

पुँजी बजार र मुद्रा बजारको समस्या समाधानका लागि समिति गठन 
नेपालमा पुँजी बजार र बैंकिङ क्षेत्रमा देखिएको समस्याको समाधान गर्न भन्दै अर्थमन्त्री डा. यूवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठका संयोजकत्वमा समिति गठन गरेका थिए । उक्त समितिले सरोकारवाला क्षेत्रसा छलफल गरी आफ्नो प्रतिवेदन पनि बुझाईसकेको छ ।

विदेशी बैंकद्धारा नेपालमा समपर्क कार्यलयको स्थापना 
कतारको दोहा बैंकले नेपालमा आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको थापाथलीमा कार्यालय खोलेर काम सुरू गरेको हो । यो दोहा बैंकको शाखा नभई सम्पर्क कार्यालय मात्रै भएकाले प्रत्यक्ष रुपमा आर्थिक कारोबार भने गर्ने छैन । सो कार्यालयले यहाँका बैंकहरुलाई दोहा बैंकका शाखा कार्यालयसँग जोड्न सहजकर्ताको रुपमा काम गर्नेछ । नेपालका विभिन्न वाणिज्य बैंकहरुसँग यस कार्यालयले व्यवस्थापकीय सम्वन्ध विस्तार गर्ने काम गरिरहेको छ । नेपालका बैंकहरु यस कार्यालयमा जोडिएपछि दोहा बैंकका जुनसुकै शाखा कार्यालयसँग नेपालका बैंकले एलसी (लेटर अफ क्रेडिट) को काम गर्न पाउने छन् । अर्थात, एलसी एड्भाइजरको रुपमा रहेर कार्यालयले सेवा दिने छ । 

बैंकिङ क्षेत्र संघीय मोडेलमा 
नेपाल राष्ट्र बैंकले नेपालको बैंकिङ क्षेत्रलाई पुर्ण रुपमा संघीय मोडेलमा रुपान्तरण गरेको छ । मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई प्रादेशिक कार्यलय स्थापना गर्न निर्देशन दिएको राष्ट्र बैंकले २०१८ को अन्त्यमा आएर क्षेत्रीय स्तरका विकास बैंक, वित्त कम्पनी र माइक्रोफाइनान्सहरुलाई संघीय मोडेलमा जान निर्देशन दिएको छ । यसका लागि २०७७ असार मसान्तसम्मको समय दिएको छ ।

निजी क्षेत्रको वाणिज्य बैंकमा पहिलो महिला सीईओको नियुक्ति
नेपालको बैंकिङ क्षेत्रले निजी क्षेत्रको वाणिज्य बैंकमा पहिलो महिला सीईओ पाएको छ । निजी क्षेत्रको वाणिज्य बैंकमा महिलालाई सीईओका नियुक्त गर्ने कामको सुरुवात मेगा बैंक नेपाल लिमिटेडले गरेको छ । मेगाले यसअघि कामु सीईओको रुपमा कार्यरत अनुपमा खुँजेलीलाई सीईओ बनाएको हो । उनी मेगा बैंकको सीईओमा चार वर्षका लागि नियुक्त भएकी हुन् । 

बैंकर्स संघ र एनआईसी एशिया बैंकबीचको टकराव
बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन र एनआईसी एसिया बैंकबीचको टकरावले बैंकिङ क्षेत्रमा सनसनी मच्चायो । व्याजदर नबढाउन गरेको प्रतिवद्धता तोडेको भन्दै एनआईसी एशिया बैंकसँग कुनै पनि बैंकले कारोबार नगर्ने निर्णय गरेपछि यस विषयको पक्ष र विपक्षमा थुप्रै भनाइहरु आए । २८ वटै वाणिज्य बैंकहरुले बचत खाताको व्याजदर ८ प्रतिशत र मुद्धति खाताको व्याजदर ११ प्रतिशतभन्दा बढी नपुर्याउने प्रतिवद्धता गरेका थिए । उक्त सहमतिपछि बैंकले बचत खाताको व्याजदर १० बाट आठमा झारेको थियो । तर एनआईसी एशिया बैंकले बचतको ब्याज १० प्रतिशत पुर्याउँदै मुद्दतिमा १२ प्रतिशत ब्याज दिने सुचना सार्वजनिक गरेपछि बैंकर्स संघले एनआईसी एशिया बैंकसँग कारोबार नगर्ने निर्णय गर्यो । पछि, एनआईसी एशिया बैंकले व्याजदर घटाएपछि यो विषय साम्य भयो । 

गौमुल गाउँपालिकामा माइक्रोफाइनान्सलाई प्रतिवन्ध
बाजुरा जिल्लाको गौमुल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र भएका बैंक तथा वित्तीय संस्थाहरुलाई कारोबार बन्द गर्न निर्देशन दिएको खबरले ठूलै हलचल पैदा गरेको थियो । गाउँपालिकाले नाम नै तोकेर तीन वटा  लघुवित्त वित्तीय संस्थालाई एक महिनाभित्रमा आफ्नो कारोबार बन्द गर्न निर्देशन दिएको थियो । उक्त गाउँपालिकामा निर्धन उत्थान विकास बैंक, किसान लघुवित्तीय संस्था लिमिटेड र डिप्रोक्स लघुवित्त विकास बैंक रहेका छन् । गाउँपालिकाको फागुन ८ गते बसेको गाउँसभाले गाउँमै स्थापित सहकारीहरुलाई प्रोत्साहन गर्न अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई विस्थापित गर्न लागेको जनाएको छ । यद्यपि, यस विषयमा निकै टिका टिप्पणीहरु भए ।

नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यलयमा प्रदेश सरकारको ताला 
प्रदेश सरकारले दिएको सार्वजनीक विदा नमानेको भन्दै प्रदेश नं २ को सरकारका मन्त्रीले नेपाल राष्ट्र बैंकको जनकपुरस्थित कार्यलयमा ताला लगाएका थिए । उक्त घटना नेपालको बैंकिङ क्षेत्रमा तरंग पैदा गरेको थियो ।

प्रविधिमा फड्को
२०१८ सालमा नेपालको बैंकिङ क्षेत्रमा थुप्रै नयाँ प्रविधिहरु भित्रिए । सेयर कारोबारको लागि अनलाइन ट्रेडिङ सिस्टमको सुरुवात गरियो । अनलाइन बैंक खाता, भाइबर बैंकिङ, ईशिक्षा लगायत थुप्रै प्रविधिहरु भित्रिए ।
 
अन्तरराष्ट्रिय बैंकिङ घटनाहरु
अन्तरराष्ट्रिय बैंकिङ घटनाहरुमा आईएमएफले देशको केन्द्रिय बैंकमा सरकारी हस्तक्षेप हुन नहुने भन्दै विज्ञप्ति प्रकासन गरको देखी लिएर भारतिय रिजर्व बैंकका गभर्नर उर्जित पटलको राजीनामा, डलरको मुल्यमा निरन्तर बृद्धि तथा अमेरीकि राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रिय बैंकको अध्यक्षलाई बखास्त गर्न लागेको लगायतका विषय सन् २०१८ मा चर्चित रहे । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]