बैंकिङ खबर । जनता बैंक नेपाल लिमिटेडले रसुवाको दुई स्थानमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शविर सम्पन्न गरेको छ । रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका मसिरर २५ गते स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो भने मसिर २५, २६ र २७ गते आँखा परिक्षण तथा मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो । त्यस्तै, रसुवा जिल्लाकै कालिका गाँउपालिकामा मसिर २६ गते स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो ।
नौकुण्ड स्वास्थ्य शिविरको उद्घाटन रसुवा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश नं. ३ कामाननीय सांसदहरु प्रभात लामा र प्रेम लामाले संयुक्त रुपमा गरेका थिए ।
नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखा अस्पताल र अल्का अस्पताल जावलाखेलको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
उक्त स्वास्थ्य शिविरमा ८४६ जनाको बृहत स्वास्थ्य परिक्षण गरिएको थियो । जस मध्ये ५४ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो । साथै, उक्त शिविरमा बिरामीहरुलाई आबश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो ।
स्त्री रोग सम्बन्धि उपचारका लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नुपर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि अस्पतालमा रिफर गरिएको छ । शिविरबाट रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाइएको छ ।