December 10th, 2018

मञ्जुश्री फाइनान्स मर्जरमा जाने संकेत

बैंकिङ खबर । मञ्जुश्री फाइनान्स लिमिटेडले मर्जरमा जाने संकेत गरेको छ । फाइनान्सले उपयुक्त अन्य कुनै बैंक तथा वित्तीय संस्थाको पहिचान गरी मर्जर तथा एक्वीजिशनमा जाने संकेत गर्दै ११ औँ बार्षिक साधारणसभा डाकेको छ । 

पुस १६ गते सोमबार बिहान ११ बजे थापागाउँ ब्याङ्क्वेट, नयाँ बानेश्वरमा हुन लागेको वार्षिक साधारणसभा विशेष प्रस्तावमा मर्जर तथा प्राप्तीका लागि फाइनान्सको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्ति, पारिश्रमिक निर्धारण, समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायतका अन्य आवश्यक सबै प्रकृया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने उल्लेख गरिएको छ ।

साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी ८० करोड ४० लाख ६० हजार ९ प्रतिशतले हुन आउने ७ करोड २३ लाख ६५ हजार ४१९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि फाइनान्सले पुस ३ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस २ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र नगद लाभांश प्राप्त गर्नेछन् ।