तपाईको इमेलमा कहिलेकाँही विभिन्न प्रलोभनसहित लिंकहरु पठाइएको हुनसक्छ । त्यहाँ तपाईले कुनै बम्पर पुरस्कार पाउनुहुने भएको, लक्की ड्रमा नाम परेको वा कुनै देशको भिसा लागेको भनि इमेलसहित लिंक पठाइएको हुन्छ । कहिलेकाँही तपाईलाई अज्ञात नम्बरबाट मेसेज पनि आउन सक्छ । त्यो मेसेजमा पनि तपाईलाई कुनै प्रलोभन देखाएर तपाईको बैंक तथा क्रेडिट कार्डसम्बन्धी जानकारी लिने प्रयास गरिन्छ । कहिले काहीँ नयाँ अज्ञात नम्बरबाट कल पनि आउन सक्छ । जसको उद्देश्य पूरा भयो भने तपाई ठगिनुहुनेछ । यस्ता ठगीका कामलाई फिशिंग भनिन्छ । हाम्रो छिमेकी भारतमा फिशिंगका कारण हजारौँ मानिसहरुले आफ्नो बैंकबाट अरबौँ रुपैयाँ रकम गुमाएका छन् । विस्तारै त्यस्ता समूह नेपालमा पनि सक्रिय बन्दै गईरहेका छन् ।
फिशिंगको नयाँ रुप
खासगरी भारतमा फिशिंगका बारेमा त्याहाँका बैंकहरु अहिले यति सचेत भइसकेका छन् कि फिशिंग योजनाकारहरुलाई अब बैंकबाट रकम चोर्न निकै मिहेनत गर्नुपर्ने भएको छ । योजनाकारहरुले अब बैंकबाट विभिन्न व्यक्तिका रकम फिशिंग गर्न अहिले फेरी फिशिंगको नयाँ तरीका अपनाउन थालेका छन् । यसको नाम विशिंग वा स्मिशिंग हो । फिशिंगको नयाँ रुपलाई नै विशिंग वा स्मिशिंग भनिन्छ ।
फिशिंगबाट बच्नुहोस
फिशिंगमा तपाईलाई इमेल आउँछ, जब तपाईले सो इमेलमा क्लीक गर्नुहुन्छ, त्यसले तपाईलाई अन्य साइटमा लैजान्छ र तपाईको गोप्य जानकारीहरु पत्ता लगाउँछ । तर विशिंग वा आवाजसहितको फिशिंगमा तपाईलाई झुक्याउन उनीहरुले अलि सजिलोजस्तो भएको पाइएको छ । यसमा तपाईलाई कल आउँछ अनि तपाइसंग कुनै बाहाना गरी एटीएम कार्डको नम्बर वा बैंकको पिन माग्छ । कल गर्नेले तपाईलाई बैंककै कुनै अधिकारी वा कर्मचारीले नै कल गरेको हो भन्ने विश्वास दिलाउने प्रयास गर्छ । कहिले काहीँ उसले तपाईसंग क्रेडिट कार्डको पछाडी लेखेको सीवीवी कोड पनि माग्छ । तर ध्यान पुर्याउनुस्, तपाईसंग बैंकको कुनै पनि कर्मचारीले क्रेडिट वा डेबिट कार्डको नम्बर माग्दैन । यदी तपाईसंग यो जानकारी मागियो भने त्यो एउटा आइवीआरएस सिस्टममा हुन्छ जो एउटा कम्युटरको काम हो । सीवीवी नम्बर पनि कहिले आईवीआरएसमा मागिदैन । जबसम्म कुनै अनुसन्धान वा कारबाही गर्नुपर्ने हुँदैन ।
स्मिशिंगबाट चाहिँ के हुन्छ ?
यसको तुलनामा स्मिशिंगबाट कसैलाई उल्लु बनाउन केही मुश्किल छ किनकि विशिंगमा योजनाकार (ह्याकर)का विरुद्ध कुनै प्रमाण हुँदैन । स्मिशिंगमा तपाईलाई एउटा एसएमएस आउँछ र त्यहीँबाट तपाईको बैंकको बारेमा जानकारी मागिन्छ । एसएमएस पठाउने योजनाकारले आफुलाई कुनै सरकारी निकाय वा बैंकको अफिसर भएको बताउँदै त्यो एसएमएस बैंकबाट पठाइएको भनेर कन्भिन्स गर्ने प्रयास गर्छ । योजनाकारको कोशिश हुन्छ कि तपाईले उसले पठाएको मेसेजको लिंकमा क्लीक गर्नुहोस् र उसले मागेको जानकारीअनुसार तपाईले त्यहाँ आफ्नोबारेमा जानकारी राख्नुहोस् । त्यो लिंकमा क्लीक गरेपछि तपाईसंग क्रेडिट वा डेबिट कार्डको बारेमा जानकारी लिने छ । योजनाकारले यस्ता मेसेज र लिंकमा क्लीक गराएर तपाईको स्मार्टफोनमा भाईरस पनि छोड्न सक्छ ।
यो खतराबाट बच्न यसो गर्नुहोस्
यस्ता खतराबाट बच्ने उपाय धेरै सजिलो छ । तपाई कहिले पनि अज्ञात र शंकास्पद नम्बरबाट आएका मेसेज वा कलको जवाफ नदिनुहोस् । आफ्नो बैंक वा आफ्नो बारेमा कुनै अज्ञात व्यक्तिको मेसेज वा कलबाट देखाइने प्रलोभनमा नपर्नुहोस् । कुनै शंकास्पद कल आयो भने तपाइले डिस्कनेक्ट गरेर आफैँ बैंकको नम्बरमा कल गर्न सक्नुहुन्छ ।