October 30th, 2018

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (भदौ मसान्तसम्मको तथ्यांक)

बैंकिङ खबरनेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को दुई महिना अर्थात भदौ मसान्त सम्मको तथ्याङ्कमा आधारित विवरण सार्वजनिक गरेको हो ।  

मुद्रास्फीति 
उपभोक्ता मुद्रास्फीति 

१. २०७५ भदौमहिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.४ प्रतिशत रहेको थियो । गैह्र–खाद्य तथा सेवा समुहको मूल्य वृद्धिका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीतिमा केही दवाव सिर्जना हुन गएको हो । 

खाद्य तथा पेय पदार्थ मुद्रास्फीति 
२. २०७५ भदौ महिनामा खाद्य तथा पेय पदार्थ समुहको मुद्रास्फीति १.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समुहको मुद्रास्फीति १.८ प्रतिशत रहेको थियो। खासगरी दलहन तथा गेडागुडी, तरकारी एवम् चिनीजन्य वस्तुको मूल्यमा आएको गिरावटका कारण समीक्षा अवधिमा समग्र खाद्य तथा पेय पदार्थको मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा कम भएको हो । 

गैर–खाद्य तथा सेवा मुद्रास्फीति
३. समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समुहको मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ४.७ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गत यातायात, फर्निसिङ, घरायसी उपकरण एवम् कपडा तथा जुत्ताचप्पल लगायतका वस्तु तथा सेवाहरुको मूल्य बढेका कारण समग्र गैर–खाद्य तथा सेवा मुद्रास्फीति वृद्धि भएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
४. २०७५ भदौ महिनामा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.० प्रतिशत, तराईमा ३.७ प्रतिशत, हिमालमा ३.४ प्रतिशत र काठमाडौं उपत्यकामा ३.० प्रतिशत रहेको छ । अघिल्लो वर्षकोसोही अवधिमा यस्तो मुद्रास्फीति पहाडमा ३.४ प्रतिशत, तराईमा ३.८ प्रतिशत, हिमालमा ५.४ प्रतिशत र काठमाडौं उपत्यकामा २.८ प्रतिशत रहेको थियो ।

नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति 
५. २०७५ भदौ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९ प्रतिशत र भारतको ३.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ३.४ प्रतिशत र भारतको ३.३ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति 
६. २०७५ भदौ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.५ प्रतिशत रहेको थियो । खासगरी पेट्रोलियम पदार्थ, आधारभूत धातु तथा कपडा लगायतका वस्तुहरुको मूल्यमा भएको वृद्धिका कारण समग्र थोक मुद्रास्फीति बढ्न गएको हो । 

राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क 
७. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ८.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ५.० प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्क ६.६ प्रतिशत र ज्यालादर सूचकाङ्क ८.८ प्रतिशतले वृद्धि भएको छ । 

बाह्य क्षेत्र 
वैदेशिक व्यापार 

८. आर्थिक वर्ष २०७५/७६ को दुई महिनामा कुल वस्तु निर्यात ८ प्रतिशतले वृद्धि भई रु.१४ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तब्यका आधारमा भारततर्फ १३.६ प्रतिशत, चीनतर्फ ११.४ प्रतिशत र अन्य मुलुकतर्फ १.० प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, दन्त मञ्जन, लत्ताकपडा, जुस, लगायतका वस्तुको निर्यात बढेको छ भने तयारी पोशाक, जुटका सामान, रोजिन, अलैंची, पश्मिना, लगायतका वस्तुहरुको निर्यात घटेको छ । 
९. समीक्षा अवधिमा कुल वस्तु आयात ३८.५ प्रतिशतले बढेर रु.२३२ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३८.९ प्रतिशत, चीनबाट भएको आयात १३.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ५५.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपूर्जा, एम.एस. बिलेट, सवारी साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने दुरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, स्वास्थ सम्बन्धी उपकरण तथा औजार, भिडियो टेलिभिजन तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा लगायतका वस्तुहरुको आयात घटेको छ । 
१०. भन्सार नाकाका आधारमा भैरहवा भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, मेची भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट गरिएको निर्यातमा वृद्धि भएको छ भने नेपालगञ्ज, वीरगञ्ज सुख्खा वन्दरगाहा भन्सार कार्यालय, कृष्णनगर तथा कैलाली भन्सार नाकाहरूबाट गरिएको निर्यातमा भने ह्रास आएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा वीरगञ्ज भन्सार कार्यालय, सुख्खा बन्दरगाहा भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नेपालगञ्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, जलेश्वर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको आयातमा वृद्धि भएको छ भने अन्य नाकाबाट भएको आयातमा कमी आएको छ । 
११. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ४१.२ प्रतिशतले विस्तार भई रु.२१७ अर्ब ६५ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.३ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८.१ प्रतिशत रहेको थियो । 

सेवा 
१२. समीक्षा अवधिमा कुल सेवा आयमा २६.९ प्रतिशत र कुल सेवा खर्च ३५.८ प्रतिशतले बढेको कारण खुद सेवा आय रु.११ अर्ब २ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.६ अर्ब ७० करोडले घाटामा रहेको थियो । 
१३. सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा १२.९ प्रतिशतले मात्र वृद्धि भई रु.९ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षकोसोही अवधिमा यस्तो आय ८.२ प्रतिशतले बढेको थियो । 

विप्रेषण आप्रवाह 
१४. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३३.४ प्रतिशतले वृद्धि भई रु.१५४ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । 
१५. समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३४.१ प्रतिशतले वृद्धि भई रु.१७५ अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.३ प्रतिशतले बढेको थियो । 
१६. अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.२ प्रतिशतले घटेको थियो । 

चालू खाता एवम् शोधनान्तर स्थिति 
१७. वस्तु आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई रु.३५ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.१९ अर्ब ७४ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिना १९ करोड २६ लाख डलर रहेको चालु खाता घाटा समीक्षा अवधिमा ३२ करोड १ लाख डलर पुगेको छ । 
१८. समीक्षा अवधिमा शोधनान्तर घाटा रु.२५ अर्ब ४५ करोड रहेको छ । यस्तो घाटा अघिल्लो वर्षको सोही अवधिमा रु.५ अर्ब ८७ करोड रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर घाटा अघिल्लो वर्षको दुई महिनामा ५ करोड ७३ लाख डलर रहेकोमा समीक्षा अवधिमा २३ करोड ९ लाख डलर रहेको छ । 
१९. समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु.२ अर्ब ८० करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु.१ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु.१ अर्ब ८४ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.५ अर्ब १० करोड रहेको थियो । 

विदेशी विनिमय सञ्चिति 
२०. कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको रु.११०२ अर्ब ५९ करोडबाट १.३ प्रतिशतले वृद्धि भई २०७५ भदौ मसान्तमा रु.१११७ अर्ब ४६ करोड पुगेकोछ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तको रु.१० अर्ब ८ करोडबाट ३.४ प्रतिशतले कमी आई २०७५ भदौ मसान्तमा रु.९ अर्ब ७५ करोड पुगेकोछ । 
२१. कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तको रु.९८९ अर्ब ४० करोडको तुलनामा २०७५ भदौ मसान्तमा २.२ प्रतिशतले कमी आई रु.९६७ अर्ब ९३ करोड पुगेकोछ । अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११३ अर्ब १९ करोड रहेकोमा २०७५ भदौ मसान्तमा ३२.१ प्रतिशतले वृद्धि भई रु.१४९ अर्ब ५३ करोड पुगेको छ । २०७५ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
२२. आर्थिक वर्ष २०७५/७६ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.७ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३७.२ प्रतिशत, ६९.५ प्रतिशत र ३६.१ प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ३६.७ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए । 

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य 
२३. २०७४ भदौ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ५६.१८ रहेकोमा २०७५ भदौ मसान्तमा ३८.६ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ७७.८७ पुगेको छ । अर्कोतर्फ, सुनको मूल्य २०७४ भदौ मसान्तमा प्रति आउन्स अमेरिकी डलर १३२२.८५ रहेकोमा २०७५ भदौ मसान्तमा ९.१ प्रतिशतले कमी आई प्रति आउन्स अमेरिकी डलर १२०३ कायम भएको छ ।

विनिमय दर 
२४. २०७५ असार मसान्तको तुलनामा २०७५ भदौ मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ४.६ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.६ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७५ भदौ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११४.६६ पुगेको छ । २०७५ असार मसान्तमा उक्त विनिमय दर रु.१०९.३४ रहेको थियो । 

सरकारी वित्त स्थिति 
बजेट घाटा/बचत 

२५. आर्थिक वर्ष २०७५/७६ को दुई महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु.५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु.१९ अर्ब १८ करोड रहेको थियो । 

सरकारी खर्च 
२६. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु.६६ अर्ब ३३ करोड पुगेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.७२ अर्ब ३८ करोड रहेको थियो । 
२७. समीक्षा अवधिमा चालू खर्च रु.६१ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.७० अर्ब २६ करोड रहेको थियो । समीक्षा अवधिमा रु.४ अर्ब १४ करोड पूँजीगत खर्च भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१ अर्ब ५५ करोड भएको थियो । 

सरकारी राजस्व 
२८. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ३४.३ प्रतिशतले वृद्धि भई रु.११९ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १०.३ प्रतिशतले वृद्धि भई रु.८८ अर्ब ७९ करोड पुगेकोथियो । 

सरकारको नगद मौज्दात 
२९. २०७५ भदौ मसान्तमा सरकारी ढुकुटीमा रु.२०१ अर्ब ४५ करोड नगद मौज्दात कायम रहेको छ ।

मौद्रिक स्थिति 
मुद्राप्रदाय 

३०. आर्थिक वर्ष २०७५/७६ को दुई महिनामा विस्तृत मुद्राप्रदाय ०.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ भदौ मसान्तमा विस्तृत मुद्राप्रदाय १७.४ प्रतिशतले बढेको छ । 
३१. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु.२५ अर्ब ४५ करोड (२.४ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.५ अर्ब ८७ करोड (०.६ प्रतिशत) ले घटेको थियो । 
३२. समीक्षा अवधिमा सञ्चित मुद्रा १०.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १३.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ भदौ मसान्तमा सञ्चित मुद्रा १२.१ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा 
३३. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा १.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १.७ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ भदौ मसान्तमा यस्तो कर्जा २८.४ प्रतिशतले बढेको छ । 
३४. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ३.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दावी ३.२ प्रतिशतले नै बढेको थियो । वार्षिक बिन्दुगत आधारमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २०७५ भदौ मसान्तमा २२.३ प्रतिशतले बढेको छ । 

निक्षेप संकलन 
३५. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७.९ प्रतिशतले बढेको छ । 
३६. २०७५ भदौमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ७.९ प्रतिशत, ३४.२ प्रतिशत र ४५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.३ प्रतिशत, ३५.६ प्रतिशत र ४३.१ प्रतिशत रहेको थियो । 
३७. २०७५ भदौमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४३.७ प्रतिशत रहेको थियो

कर्जा प्रवाह 
३८. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २.१ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.० प्रतिशतले, विकास बैंकहरुको २.७ प्रतिशतले र वित्त कम्पनीहरुको ०.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २२.४ प्रतिशतले बढेको छ । 
३९. २०७५ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६३.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७४ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.९ प्रतिशत र १४.२ प्रतिशत रहेको थियो । 
४०. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ५.० प्रतिशतले, ओभरड्राफ्ट कर्जा ०.५ प्रतिशतले, ट्रष्ट रिसिप्ट (आयात) कर्जा६.२ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा ५.५ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) २.२ प्रतिशतले तथा हायर पर्चेज कर्जा २.१ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा ०.९ प्रतिशतले घटेको छ । 

तरलता व्यवस्थापन 
४१. आर्थिक वर्ष २०७५/७६ को दुई महिनामा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्फत पटक–पटक गरी रु.८५ अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् रु.७९ अर्ब ६५ करोड र रिभर्स रिपोमार्फत ५ अर्ब ७० करोड प्रशोचन भएको छ । 
४२. समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर २७ करोड ९९ लाख खुद खरिद गरी रु.३१ अर्ब ४७ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५१ करोड ४३ लाख खुद खरिद गरी रु.५२ अर्ब ७० करोड खुद तरलता प्रवाह गरिएको थियो । 
४३. समीक्षा अवधिमा अमेरिकी डलर ७२ करोड, यूरो १ करोड ६० लाख र पाउण्ड स्टर्लिङ्ग २ करोड बिक्री गरी रु.८५ अर्ब ६६ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ६२ करोड बिक्री गरी रु.६३ अर्ब ५६ करोड बराबरको भा.रु. खरिद भएको थियो । 

पुनरकर्जा 
४४. उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७५ भदौ मसान्तमा रु.१५ अर्ब ८३ करोड यस बैंकले प्रदान गरेको पुनरकर्जा लगानीमा रहेको छ । 
४५. भूकम्प पीडितहरूलाई बढीमा २.० प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७५ भदौ मसान्तसम्ममा रु.२ अर्ब १८ करोड पुनरकर्जा उपयोगमा रहेको छ । यस्तो कर्जा १२३१ जनाले उपयोग गरेका छन् । 
४६. २०७५ भदौ मसान्तसम्ममा नेपाल सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ८९३० जनाले उपयोग गरेका छन् । यस अन्तर्गत रु.१० अर्ब ६६ करोड कर्जा बक्यौता रहेको छ भने रु.५९ करोड ६६ लाख ब्याज अनुदान प्रदान गरिएको छ । 

अन्तर–बैंक कारोबार 
४७. आर्थिक वर्ष २०७५/७६ को दुई महिनामा वाणिज्य बैंकहरूले रु.२०९ अर्ब ८ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु.१५ अर्ब ४१ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु.९३ अर्ब ९३ करोड र रु.७ अर्ब ८ करोडको यस्तो कारोबार गरेका थिए । 

ब्याजदर 
४८. २०७४ भदौमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.४८ प्रतिशत रहेकोमा २०७५ भदौमा २.७४ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७४ भदौको ०.३९ प्रतिशतको तुलनामा २०७५ भदौमा १.६८ प्रतिशत रहेको छ । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७४ भदौको १०.१३ प्रतिशतको तुलनामा २०७५ भदौमा १०.०३ प्रतिशत कायम भएको छ । 

मर्जर/प्राप्ति 
४९. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७५ भदौ मसान्तसम्म कुल १६४ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १२२ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४२ संस्था कायम भएका छन् । 

वित्तीय पहुँच 
५०. संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७५ भदौ मसान्तसम्म ६६६ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ । 
५१. यस बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७५ भदौ मसान्तमा १५१ रहेको छ । यस अनुसार २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६६ लघुवित्त संस्थाहरु संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल २०७५ असार मसान्तमा ६६५१ रहेकोमा २०७५ भदौ मसान्तमा ६८१९ पुगेको छ । 

पुँजी बजार 
५२. नेप्से सूचकाङ्क वार्षिक विन्दुगत आधारमा १७.९ प्रतिशतले ह्रास भई २०७५ भदौ मसान्तमा १२५६.५ विन्दुमा सीमित भएको छ । २०७४ भदौ मसान्तमा उक्त सूचकाङ्क १५.७ प्रतिशतले ह्रास भई १५३०.३ विन्दु कायम भएको थियो । २०७५ असार मसान्तमा भने नेप्से सूचकाङ्क १२१२.४ विन्दु कायम भएको थियो । 
५३. धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा १५.७ प्रतिशतले ह्रास भई २०७५ भदौ मसान्तमा रु.१४९६ अर्ब ६४ करोड कायम भएको छ । बजार पूँजीकरण २०७४ भदौ मसान्तमा ११.४ प्रतिशतले ह्रास भएको थियो । समीक्षा अवधिको बजार पूँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६७.२ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८०.८ प्रतिशत रहेको छ भने जलविद्युत्क्षेत्रको ४.२ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.७ प्रतिशत, होटलहरूको १.७ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको १०.५ प्रतिशत रहेको छ । 
५४. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ भदौ मसान्तमा १९६ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १४७ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १९ वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् । 
५५. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत सेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २१.२ प्रतिशतले वृद्धि भई २०७५ भदौं मसान्तमा रु.३५८ अर्ब १ करोड पुगेको छ । समीक्षा अवधिमा रु.१ अर्ब ३५ करोड बराबरको साधारण सेयर, रु.२ अर्ब ८५ करोड बराबरको हकप्रद सेयर, रु.४ अर्ब ८ करोड बराबरको बोनस सेयर गरी कुल रु.८ अर्ब २८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]