पछिल्ला विवरणहरु नियाल्दा, नेपाल कृषि प्रधान मुलुकबाट बिप्रेषण अर्थात ‘रेमिट्यान्स प्रधान’ मुलुकको रुपमा विकास भईरहेको देखिन्छ । पछिल्लो पटक प्रवासी नेपालीहरुको नेपाल पठाएको रुपैयाँले नेपाली अर्थतन्त्रको ढुकढुकी जोगाएको देखिएको छ । नेपालबाट दिनमै झण्डै दुई हजार नेपाली युवा रोजगारीको शिलशिलामा विदेशीरहेका छन् । उनीहरुले मिहिनेत गरी कमाएर पठाएको पैसाले नै अहिले अधिकांश नेपालीको चुलामा आगो बलेको छ, अथवा गुजारा चलेको छ ।
अर्थतन्त्रको आकारको आधारमा बढी रेमिट्यान्स भित्र्याउने ३ मुलुकहरु
विश्व बैंकले सन् २०१५ मा रेमिटेन्स भित्रिने मुलुक र अर्थतन्त्रको आकारलाई अध्ययन गरी तयार पारेको एक तथ्याङकले नेपाली अर्थतन्त्रको आकारसँग रेमिट्यान्स आय हिसाब गर्दा विश्वभरिका मुलुकहरुमध्येमा नेपाल तेश्रो बढी रेमिट्यान्स भित्र्याउने मुलुक भएको देखिएको छ । नेपालको अर्थतन्त्रको आकार अहिले २१ खर्ब जति छ । तर नेपालको बार्षिक रेमिट्यान्स आय झण्डै ६ खर्ब रुपैयाँ छ । अर्थतन्त्रको आकारसंग तुलना गरि रेमिट्यान्स आय निकाल्दा विश्वमा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने पहिलो मुलुकमा ताजिकिस्तान र दोश्रो स्थनमा केज रिपब्लिक परेको छ । पहिलो नम्बरको ताजिकिस्तानको जीडिपीमा रेमिट्यान्सको हिस्सा ४१.७ प्रतिशत रहेको छ भने सेज रिपब्लिकको जीडिपीमा ३०.३ प्रतिशत रहेको छ । तेश्रो नम्बरमा परेको नेपालको अर्थतन्त्रको कुल गार्हस्थ उत्पादनमा २९.२ प्रतिशत योगदान रेमिट्यान्सले गरेको छ ।
बढी रेमिट्यान्स रकम भित्र्याउने मुलुकहरु
त्यसो त देशगत भित्रिने रकमको आकारलाई आधार मान्दा पनि बढी रेमिटेन्स भित्रिने मुलुकमध्ये नेपाल विश्वमै २३ औं स्थानमा पर्छ । सन् २०१५ मा नेपालमा ६ खर्ब ६० अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । यो रकमका आधारमा नेपाल २३ नम्बरमा परेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले तयार पारेको अध्ययनमा देखाइएको छ । दक्षिणी छिमेकी भारत रकमको आधारमा धरै रेमिटेन्स भित्र्याउनेमा विश्वमै पहिलो नम्बरमा परेको छ । भारतले गत वर्ष ७२ खर्ब २० अर्ब रुपैयाँ रेमिटेन्स आफ्नो मुलुकमा भित्र्याएको थियो । भारतपछि विश्वमै धेरै रेमिटेन्स आम्दानी गर्नेमा नेपालकै अर्को छिमेकी चीन परेको छ । चीनले गत वर्ष ६३ खर्ब ९० अर्ब रुपैयाँ रेमिटेन्स आम्दानी गरेको थियो । संसारमै धेरै जनसंख्या हुने मुलुकमा पर्ने भारत र चीनका नागरिक युरोप, अमेरिकालगायत विश्वका अधिकांश मुलुकमा पुगेका छन् ।
मुलुकमा रेमिट्यान्स जति भित्रिएपनि त्यसको सदुपयोग भने हुन नसकेको अर्थशास्त्रीहरु बताउँछन् । प्राप्त रेमिट्यान्स विकास र उत्पादनमा भन्दा पनि उपभोगमै खर्च हुने गरेको उनीहरुको भनाई छ । त्यसो भईरहदाँ मुलुकमा जति नै रेमिटेन्स भित्रिएपनि त्यसले अर्थतन्त्र र मुलुकको भौगोलिक विकासमा खासै प्रभाव नपार्ने विज्ञहरु बताउँछन् ।