बैंकिङ खबर । बैंकहरुले लगानी गरेको कर्जा उठाउन नसकेपछि ऋण असुली न्यायाधिकरणलाई गुहार्न थालेका छन् । आफुले लगानी गरेको ऋणीले ऋण नतिरेपछि कर्जा उठाउनको लागि न्यायाधिकरणमा बैंकहरुले मुद्धा दायरा गरेका हुन् ।
क, ख र ग वर्गका बैंकहरुले ऋण उठाइदिनको लागि न्यायाधिकरणमा चालु आर्थिक बर्षमा मात्रै एक सय ९८ वटा मुद्धा दायरा गरेको न्यायाधिकरणका श्रेस्तेदार मेसराज कोइरालाले जानकारी दिए । श्रेस्तेदार कोइरालाका अनुसार न्यायाधिकरणमा अघिल्लो वर्षको दुई सय ७३ वटा मुद्धा फैसला हुन बाँकी रहेको थियो । गत बर्ष दुई सय ७३ र यस बर्ष एक सय ९८ मध्ये चालु आर्थिक वर्षमा ८५ वटा मुद्धा फैसला भइसकेको श्रेस्तेदार कोइरालाले बताए ।
बैंकहरुले धेरै पटक ताकेता गरेपनि ऋण उठन सकेको छैन । कतिपय ऋणीहरु सम्पर्क बाहिर रहेको र कतिपय ऋणीहरुको कर्जामा धितोले पनि नथेगेपछि ऋणी ग्राहकको बाँकी थप सम्पतिबाट कर्जा उठाइदिनको लागि बैंकहरुले न्यायाधिकरणमा मुद्धा दायरा गरेका हुन् ।
बैंकहरुले कुल दुई खर्ब ११ अर्ब ८३ करोड ४७ लाख १५ हजार दुई सय १४ रुपैयाँ दाबी गरेकोमा जेष्ठ मसान्तसम्म एक अर्ब २१ करोड २३ लाख आठ हजार सात सय ६३ रुपैया ११ पैसा असुल भइसकेको छ । दुई खर्ब १० अर्ब ६२ करोड २४ लाख छ हजार चार सय ५१ रुपैयाँ अझै असुल हुन बाँकी रहेको छ ।


