May 12th, 2016

‘नेपालको कर्जा लगानी जोखिमपूर्ण छैन’

Krishna Raj Lamichhane (5)राष्ट्र बैंकले गत वर्ष सार्वजनिक गरेको मौद्रिक नीतिले विकास बैंकलाई पुँजी बृद्धि गर्न भनेपछि ती बैंकहरु अहिले कोसँग मर्ज हुने भनेर छलफलमा जुटेका छन् । कतिपयले मर्जर प्रक्रिया पूरा गरिसकेका छन् भने कतिपय मर्जर प्रक्रियामै छन् । खासगरी नेपालका विकट क्षेत्रको विकासमा विकास बैंकहरुको भूमिका महत्वपूर्ण छ । सानो पुँजी आधार भएका एउटा जिल्ला कार्यक्षेत्र भएका, तीन वटा जिल्ला कार्यक्षत्र भएका र १० वटा जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले ग्रामीण अर्थतन्त्रको विकासमा निकै प्रशंसनीय भूमिका निर्वाह गरेका छन् । तर, अहिले तीमध्ये धेरै संस्था आफ्नो अस्तित्व बचाइराख्ने अवस्थामा छैनन् । यसैबिच, मर्जरपछि विकास बैंकहरुको व्यवसायिक आकार र ग्रामीण अर्थतन्त्रको विकासमा पुर्याउन सक्ने भूमिका लगायतका विषयमा केन्द्रित रहेर बैंकिङ खबर डटकमका लागि सहकर्मी नवराज कुवँरले डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष कृष्णराज लामिछानेसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ : 

राष्ट्र बैंकले ल्याएको पुँजीवृद्धिको नीति कार्यन्वयनको चरणमा छ, यसले विकास बैंकहरुलाई निकै अप्ठेरो पारेको छ भनिन्छ नि ?
अहिलेको अवस्थामा गाभिने प्रक्रियामा नगएसम्म विकास बैंक मात्र होइन, वाणिज्य बैंक र वित्त कम्पनी सबैलाई पुँजी पुर्याउन गाह्रो छ । त्यसकारण अहिले धेरै वित्तीय संस्था मर्जरको प्रक्रियामा छन् । पहिले ८५–८६ वटा विकास बैंक थिए भने अहिले ७२ वटामा झरेका छन् । मर्जर भएर संख्या घट्ने क्रम अझै जारी छ । हुन सक्छ, दुई–तीनवटा संस्था मर्ज भएर ठूलो संस्था बन्ला । तर, मर्जरपछि पनि विकास बैंकको भूमिकामा संकुचन आउँदैन । पुँजी वृद्धिको चरण पार गरिसक्दासम्म विकास बैंकको संख्या २५ देखि ३० वटाको आसपास रहन्छन् जस्तो लाग्छ । जति रहन्छन्, ती अहिलेका वाणिज्य बैंकजस्ता सशक्त हुनेछन् । व्यावसायिक रूपमा मजबुत, साढे २ अर्ब पुँजी, गाउँ–गाउँमा व्यापक शाखा सञ्जाल भएका विकास बैंक रहन्छन् । यसरी विकास बैंकको पहुँच र यसले दिने सेवामा कमी आउँदैन । 

नेपालमा बढीमा दुई वर्षभन्दा धेरै समयको निक्षेप नलिने र दीर्घकालीन प्रकृतिको लगानी गर्ने चलन विकास भएको छ । तर, यसमा पनि सत्य कुरा के हो भने दीर्घकालीन लगानी गर्ने ठूला परियोजना नेपालमा धेरै कम छन् । यहाँ साना उद्यम र खासगरी व्यापारमा कर्जा प्रवाह गर्ने प्रचलन छ । २०–३० वर्षको अवधिमा कर्जा तिर्ने ठूला उद्योग र पूर्वाधार परियोजनामा बैंकको लगानी छैन । यसरी हेर्दा जोखिम आँकलन गरिरहन आवश्यक छैन । तथापि, अहिले बैंकले जलविद्युत् परियोजनामा लगानी गर्न थालेका छन् । त्यस्तो परियोजनाको लगानी उठ्न १०–१५ वर्ष लाग्छ । २ वर्षका लागि लिएको निक्षेप १२–१५ वर्षसम्मका लागि किन लगानी गरेको भन्ने प्रश्न उठ्न सक्छ । तर, यसरी दीर्घकालीन परियोजनामा गरेको लगानीको अंश बैंकको कुल लगानीमध्ये ८÷१० प्रतिशतभन्दा कम नै छ । यसले वित्तीय प्रणालीमा धेरै ठूलो जोखिम हुने सम्भावना देखिँदैन । 

विकास बैंकहरुकै अस्तित्वको कुरा उठिरहेको छ, मर्जरपछि ग्रामीण अर्थतन्त्रमा विकास बैंकहरुको भूमिका कस्तो हुन्छ ?
मर्जरपछि विकास बैंकहरु सबल बन्छन् । जोखिमको सामना गर्न सक्ने क्षमता बढ्छ । विकास बैंकहरुले दिने सेवा बढ्छ । लगानी गर्नसक्ने क्षमता बढ्छ । जहाँसम्म विकास बैंकको अस्तित्वको कुरा छ, भोलि यसको नाम फेरिएला, संरचना फेरिएला, तर यसले दिने सेवा कहिल्यै फेरिँदैन । गाउँ–गाउँमा शाखा खोलिएका छन् । ती शाखा घट्दैनन् । अस्तित्व सकिँदैन ।
 
नेपालमा कर्जा लगानी जोखिमपूर्ण नहुनुको अर्को कारण हो– यहाँको ब्याजदर प्रणाली । हामीकहाँ तरलता उच्च हुँदा कर्जाको ब्याजदर घट्ने र तरलता कम हुनेबित्तिकै ब्याजदर बढ्ने गर्छ । यस्तो परिवर्तनीय ब्याजदरले कुनै पनि बैंक तथा वित्तीय संस्थाको लगानी जोखिम घट्छ । माग र आपूर्तिअनुसार ब्याजदर तय हुँदा ग्राहकलाई पनि समस्या पर्दैन । ठूला व्यवसायीले ब्याजदरमा बार्गेनिङ गरे पनि कुनै पनि बैंकले आधार दरभन्दा कममा लगानी गर्दैनन् । जतिसुकै प्रतिस्पर्धा भए पनि घाटामा व्यवसाय कसैले गर्दैन । त्यसकारण बैंक आधार दरले थेग्नेसम्म मात्रै झर्छन् । अहिले नेपालमा डेढ सय बैंक तथा वित्तीय संस्था छन् । यिनीहरूबीच तीव्र प्रतिस्पर्धा छ । प्रतिस्पर्धाले ग्राहकलाई फाइदा नै गर्छ । तथापि, अहिले जस्तो प्रतिस्पर्धा छ, भोलिका दिनमा पनि त्योभन्दा बढी हुने छैन । 

मौद्रिक नीतिको मुख्य उद्देश्य नै बैंकहरुको संख्या घटाउनु र उनीहरुको पूँजी बृद्धि गर्नु हो, त्यसपछिको बैंक तथा वित्तीय संस्थाहरुको अवस्था साँच्चै राम्रो हुन्छ ?
हो, राष्ट्र बैंकको नीति कार्यान्वयन पूरा भईसकेको अवस्थामा वाणिज्य बैंक २२–२४ वटामा झर्लान् । विकास बैंक ३० हाराहारीमा झर्लान् । वित्त कम्पनी पनि १५–२० वटामा झर्लान् । बैंक तथा वित्तीय संस्थाको संख्या ७० वटाको हाराहारी झर्न सक्छ । यसले थप अस्वस्थ प्रतिस्पर्धा हुनबाट बचाउँछ । स्वस्थ प्रतिस्पर्धा अहिलेकै गतिमा अघि बढ्छ । एउटा बैंकको ग्राहकलाई अर्को बैंकले तान्ने हुन्छ जुन अहिले पनि भइरहेको छ । तर, सबै बैंकको व्यावसायिक प्राथमिकता, दक्षता, पहुँच र अनुभव फरक–फरक हुन्छ । यसकारण अस्वस्थ प्रतिस्पर्धा कमजोर हुनपुग्छ । ग्राहकलाई सेवा प्रदान गर्ने विषयमा प्रतिस्पर्धा हुन सक्छ । घर–घरमै कर्मचारी पठाएर सेवा दिने, अनलाइन बैंकिङलाई थप प्रवद्र्धन गर्ने वा नयाँ सेवा दिनेतर्फ बैंकले सोच्नुपर्छ । यसले ग्राहकलाई फाइदा पुग्छ । विगतमा २–४ करोड ऋण डुब्दा बैंक नै समस्यामा पर्ने अवस्था थियो भने अब त्यसो हुँदैन । पुँजी बढाएपछि त्यो दुरावस्था रहँदैन र बैंक जोखिम वहन गर्न सक्ने अवस्थामा पुग्छन् । 

Krishna-Raj-Lamichhane-6तर मौद्रिक नीति आएलगत्तै केही विकास बैंकर्सहरु आत्तिएजसरी प्रतिक्रिया दिएका थिए नि ?
त्यसो होइन, हाम्रो एउटै चासो थियो, पुँजी बढाउने नै हो भने समय छोटो भयो । तर, अब त सबै बैंक तथा वित्तीय संस्थाले पुँजी योजना प्रस्तुत गरेर अघि बढिसके । अहिले संसारभर चलेका सबैजसो बैंकिङ प्रडक्ट नेपालमा पनि छन् । योभन्दा बढी चाहिन्छ भन्ने हो भने देशमा व्यावसायिक वातावरणमा सुधार हुन आवश्यक छ । 

नराम्रो आर्थिक अवस्थाबाट ग्रुज्रिरहेका बैंकहरुका ग्राहकले त फाइदा लिन नसक्ने भए नि हैन ?
हैन, पुँजी वृद्धिका कारण मर्जरमा जाँदा नराम्रो संस्थाका सेयरधनीलाई झन् धेरै फाइदा हुन्छ । संस्था बच्ने पक्का हुनु नै उसलाई फाइदा हुनु हो । वित्तीय रूपमा बलियो संस्थाका सेयरधनीलाई अलि नरमाइलो लाग्ला । तर, अहिले सबैको नाडी छामेर मात्रै मर्जरमा जाने गरिएको छ । स्वाप रेसियो तय गर्दा नै यो कुरा विचार गरिने भएकाले घाटा हुँदैन । प्रतिफलको कुरा गर्ने हो भने पनि मर्जरमार्फत पुँजी बढाउने संस्थाको व्यवसाय पनि उही गतिले विस्तार हुने हुँदा प्रतिफलमा असर पर्दैन । तर, केही ठूला संस्थाले सानातिना कम्पनी मर्ज गरेजस्तो गर्ने र ठूलो रकमचाहिँ सेयरधनीबाट थपेर पुँजी पुर्याउने हुँदा त्यसमा प्रतिफल केही घट्न सक्छ । तथापि, त्यो संस्थाले पनि २–३ वर्षपछि भने स्वाभाविक दरमा प्रतिफल दिन सक्छ ।