April 14th, 2016

‘बैँकहरुको संख्या होइन, कामको प्रभावकारीता बढी हुनुपर्छ’

kiran shresthaभर्खरै राष्ट्रिय वाणिज्य बैंंकको कार्यकारी अधिकृतको पदभार ग्रहण गरेका किरण कुमार श्रेष्ठको पुख्र्यौली घर संखुवासभाको चैनपुर हो । २०४३ सालमा नेपाल बैंकको अधिकृत तहमार्फत बैंकिङ क्षेत्रमा प्रवेश गरेका उनले त्यसयतादेखि बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका छन् । ‘कमान्डीङ’ र ‘बोल्ड डिसिजन’ गर्न सक्ने क्षमताका श्रेष्ठ २०७१ सालसम्म आईपुग्दा नेपाल बैंकको महाप्रवन्धक भएर केही वर्ष सेवा गरेर अवकास लिएका थिए । नेपाल बैंकबाट अवकास पाएको एक वर्षपछि उनी पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकका सिइओमा नियुक्त भएका छन् । बाणिज्य बैंकको सिइओका रुपमा श्रेष्ठ नियुक्त भएपछि विगत केही समयदेखि नेतृत्व बिहिन बनेको बाणिज्य बैंकको अवस्था थप सुदृढ र मजबुद हुने अपेक्षा गरिएको छ । प्रस्तुत छ, अब राष्ट्रिय बाणिज्य बैंक कुन ढंगको रणनीतिले अगाडी बढ्ला भन्ने विषयमा बैंकिङ खबर डट कमका लागि शिवहरि घिमिरेले उनै श्रेष्ठसँग गरेको कुराकानीको सम्पादीत अंश :

दुर्गम र ग्रामीण क्षेत्रहरुमा बैंकको शाखा विस्तार
नेपालको बैंकिङ क्षेत्र अत्यन्तै प्रतिस्पर्धात्मक छ । तर पनि अझै सबै तह र तप्कामा वित्तीय पहुँच पुग्न सकेको छैन । संख्याको आधारमा र शाखाको आधारमा बैंकहरुको उपस्थिति ठिकै देखिन्छ तर देशको जनसंख्या र क्षेत्रफलको आधारमा बैंकहरुको सेवा कमजोर छ । धेरै मानिसहरु बैंकिङ सेवाबाट विमुख भएका छन् । त्यसैले बैंकहरुले पनि एउटा योजना नै तयार पारेर ती दुर्गम र पछाडि परेका क्षेत्रहरुमा बैंकिङ सेवा प्रवाह गर्न जरुरी छ । सबै स्थानहरुमा बैंकहरु नफैलिएकै कारण बैंकहरुको पुँजी वृद्धिमा पनि कमी आएको छ ।

एक वर्षभित्रमा देशको उत्कृष्ट बैंक बनाउने लक्ष्य 
वाणिज्य बैंकले यो बर्षको लागि आफ्ना निर्धारित योजनाहरु अघि सारिसकेको जानकारी मलाई प्राप्त भएको छ । जानकारीअनुसार ती नयाँ कार्यक्रमको अध्ययन गरी त्यसको लागि नयाँ बजेट निर्माण गरेको छ । त्यसको पुनः अध्ययन गरेर हामी ती योजना अनुसार नै बैंकका कार्यक्रमहरु अघि बढाउँछौँ । त्यसबाहेक आवश्यक पर्ने श्रोतहरु जुटाउँदै कामलाई तदारुकताका साथ अघि बढाउन हामी सक्षम छौँ । त्यस्तै, सबै कर्मचारीहरुले सामूहिक भावनाले  काम गर्ने हो भने चाहेको लक्ष्य भेट्न सकिन्छ । वाणिज्य बैंकका विगतमा भएका कमी–कमजोरीलाई सुधारेर एक वर्षभित्रमा देशको उत्कृष्ट बैंकको रुपमा स्थापित गर्ने मेरो लक्ष्य छ । 

वाणिज्य बैंकमा कुनै समस्यामा आउन दिन्नँ
कुनै पनि संस्थाको मेरुदण्ड भनेको कर्मचारी नै हो । त्यसैले कर्मचारी व्यवस्थापनमा पनि हामीले ध्यान दिन जरुरी छ । भएका चुनौतिहरु सामना गर्दै जानुपर्छ । नेपाल बैंक र वाणिज्य बैंकको अवकास लिने प्रकृया उस्तै छ । अवकास लिएका कर्मचारीको कोटा पूरा गर्नको लागि पनि लामो प्रकृया छ । कर्मचारी नियुक्तिका कुरामा पनि कानुनी र प्राविधिक समस्याहरु आउने गरेका छन् । त्यस्तै वाणिज्य बैंकमा अबको एक बर्षभित्रमा ७५/७६ प्रतिशत कर्मचारीहरुले अवकास लिँदैछन् । पदहरु रिक्त भएपछि त्यसको पदपूर्ति गर्नु छ । ४ महिनादेखि सिईओ नहुँदा कार्यालयका कामकाजहरु रोकिएका छन् । ती कामलाई निरन्तरता दिनको लागि मेरो दायित्व रहन्छ । त्यस्तै कर्मचारीको बढुवा गर्नको लागि पनि मेरो प्रयास जारी रहन्छ । वाणिज्य बैंकमा अब्बल र अनुभवी टिम छ । यो टिमलाई कसरी परिचालन गर्ने र कामलाई पारदर्शी बनाउनको  लागि सबैलाई मिलाउनु आवश्यक रहन्छ । मेरो नियुक्ति पश्चात वाणिज्य बैंकमा रोकिएका सबै कामहरुलाई पूरा गर्नुछ । 

सिस्टम र प्रविधिले बैंकिङ कारोबार फेरिएको छ 
मेरो जन्म दुर्गम क्षेत्रमा भएकोले मैले सानैमा बैंकको बारेमा त्यति जान्ने मौका पाइनँ । त्यो क्षेत्र अहिले पनि दुर्गम नै मानिन्छ । म २०३२ सालमा काठमाडौंमा पढ्न आए त्यो बेला    बसन्तपुरमा वाणिज्य बैंक थियो । त्यहाँबाट मैले खाता खोलेको थिए । ०२९ सालमा मेरो गाउँमा नै वाणिज्य बैंकको शाखा पुगेको थियो । त्यतिबेला खाता खोलिसकेपछि मलाई घरबाट पठाएको पैसा लिन सजिलो हुन्थ्यो । जीवनमा पहिलो पटक खोलेको खाता मैले मेटाएको छैन । मैले पूरानो बैंकिङ पद्धतिको विषयमा कुरा गर्दा छोरा छोरीहरु दङ्ग पर्छन् । त्यसरी पनि बैंक चल्थ्यो भन्ने प्रश्न गर्छन् । तर अहिलेको बैंकिङ पद्धतिमा धेरै नै फरक आएको छ । पूराना बैकिङ कारोबारलाई हेर्ने हो भने अहिले अनौठो लाग्छ । त्यतिबेला बैंकका कारोबाहरु कागज, ढड्डा र ड्राफ्टमा सिमित थिए । फाइलहरु पठाउनको लागि धेरै समय लाग्थ्यो । पठाएको पैसा पनि प्राप्त गर्न त्यति सहज थिएन । तर वर्तमान समयमा बैंकिङ क्षेत्रले ठूलो फड्को मारेको छ । सिस्टम र प्रविधिले बैंकिङ कारोबारमा पनि सहजता ल्याएको छ ।

राष्ट्रिय महत्वको क्षेत्रमा लगानी गर्नुपर्छ 
अझै पनि नेपालमा बैकिङ क्षेत्रको पहुँच सिमित क्षेत्रमा मात्र छ । करिब ५५ प्रतिशत मानिसहरु यसको पहुँचबाट बाहिर छन् । हाल बैंकले प्रवाह गरेका सेवाहरु शहर केन्द्रित र सिमित वर्गमा मात्र केन्द्रित छ । हाम्रा बैंकहरुको प्राथमिकताको विषय के–के हुन् भन्ने यकिन् नै छैन् । अहिले बैंकमा अस्वस्थ प्रतिस्पर्धा छ । त्यसलाई स्वस्थ बनाउन आवश्यक छ । त्यस्तै बैंकहरुलाई व्यवसायिकरण र सक्षम बनाउने भन्ने विषय पनि चुनौतिको रुपमा रहेको छ । यसलाई सकारात्मक दिशातर्फ मोड्नको लागि सबै मिल्न जरुरी छ । बैंकहरुले अब उत्पादनशील तथा राष्ट्रिय महत्वको क्षेत्रमा लगानी बढाउनुपर्छ । 

असुरक्षाकै कारण दुर्गम क्षेत्रमा जान सकिरहेका छैनन् बैंकहरु
सुरक्षा नभएको कारणले बैंकहरुले दुर्गम क्षेत्रमा शाखाहरु विस्तार गर्न सकिरहेका छैनन् । त्यसकारण सरकारले पनि आवश्यक सुरक्षा दिन जरुरी छ । वाणिज्य बैंक देशभरका ६८ वटा जिल्लाहरुमा पुगेको छ । यहाँको योजनाहरु शाखा पुनःस्थापनाका कुराहरु छन् । त्यस्तै बैंकहरु मात्र खोलेर भएन, बैंकहरु आत्मनिर्भर पनि बन्न सक्नुपर्यो । बैंकको पुँजी राम्रो छ भने मात्र बैंकले सेवा विस्तार गर्दै जान सक्छ । त्यसैले हामीले जुन क्षेत्रमा लगानी गर्दा देशलाई र बैँकहरुलाई फाइदा पुग्छ त्यो क्षेत्रमा लगानी गर्न आवश्यक छ । सरकारले पनि बैंकहरुलाई उकास्नको लागि यथेष्ट नीति ल्याउनुपर्छ भन्ने मेरो मान्यता हो । 

लगानीको प्रतिफलबारे अध्ययन आवश्यक 
कृषि क्षेत्रमा लगानी बढाउने राष्ट्र बैंकको सिद्धान्त अत्यन्तै जायज विषय हो । यो आवश्यकता पनि छ । कृषि नै अर्थतन्त्रको मेरुदण्ड हो । त्यसकारण यसतर्फ सरकारले जोड दिन आवश्यक छ । त्यस्तै बैंकहरुको लगानीको दृष्टिकोणले हेर्दा त्यो विषयमा कत्तिको प्रभावकारी छ भन्ने विषयलाई पनि बुझ्न जरुरी छ । बैंकले लगानी गरेको पैसाबाट के प्रतिफल आउँछ भन्ने विषयमा पनि अध्ययन आवश्यक छ । यदि सरकार र बैंक दुवैले कृषि क्षेत्रमा लगानी बढाउने हो भने देशको आर्थिक क्रियाकलापले पनि काँचुली फेर्न सक्छ । अहिले पूर्वाधारको कमीले बैंकहरुले लगानी गर्न सकेका छैनन् । 

चिनसँगको सम्झौता चुनौतिपूर्ण 
प्रधानमन्त्रीले चीन भ्रमणको क्रममा गरेको बैंकिङ सम्झौता कतिपय नेपाली बैंकहरुले चुनौतिका रुपमा हेरेका छन् । तर यसलाई बैंकहरुले अवसरको रुपमा लिने हो भने नेपाली बैंकिङ क्षेत्रले ठूलो फड्को मार्न सक्छ । अन्य क्षेत्रको तुलनामा नेपालमा सबैभन्दा नाफामा भएको क्षेत्र बैंक नै हो तर बैंकिङ क्षेत्रमा बैंकहरुको पुँजी कम भएको मानिन्छ । त्यसकारण बैंकहरु संख्यामा मात्र बढी भएर हुँदैन । काम गराईको शैलीले हेर्दा नेपालमा चीनमा बैंकहरुले चाँडै नै शाखा खोल्न सक्छन् ।