Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गुराँस लघुवित्तले दिने भयो १० प्रतिशत लाभांश, असोज २७ सम्म सेयर किन्नुपर्ने

२०८३ आश्विन २५ गते

बैंकिङ खबर /  गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाको सञ्चालक समितिले चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ । त्यसैले हाललाई यो लाभांश प्रस्तावका रूपमा रहेको छ ।

बोनस सेयरमा १ करोड २५ लाख रुपैयाँभन्दा बढी

संस्थाले प्रस्ताव गरेको ९.५ प्रतिशत बोनस सेयरको कुल रकम १ करोड २५ लाख ७४ हजार १५ रुपैयाँ रहेको छ । त्यस्तै, कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांशअन्तर्गत ६ लाख ६१ हजार ७९० रुपैयाँ वितरण गर्ने प्रस्ताव गरिएको छ ।

बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पुँजी वृद्धि हुनेछ । यसअनुरूप संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत वार्षिक साधारणसभामा पेस गरिनेछ । आवश्यक संशोधन तथा प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विषय पनि सभाको कार्यसूचीमा राखिएको छ ।

कात्तिक १० मा ११औँ वार्षिक साधारणसभा

गुराँस लघुवित्तले आफ्नो ११औँ वार्षिक साधारणसभा कात्तिक १० गते बिहान ९ बजे धनकुटा नगरपालिका–१, हिलेस्थित हिले कान्जिरुवा मकालु होटलमा आयोजना गर्ने जनाएको छ ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेस हुनेछ । यसका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि सभाले निर्णय गर्नेछ ।

असोज २७ सम्म कायम सेयरधनी लाभांशका लागि योग्य

संस्थाले साधारणसभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि असोज २८ गते बुक क्लोज गर्ने जनाएको छ । यसअनुसार असोज २७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

साधारणसभाबाट लाभांश प्रस्ताव पारित हुनुका साथै नियामकीय स्वीकृति प्राप्त भएपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ ।