काठमाडौं / नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ स्वीकृति प्रक्रियालाई तीव्र बनाउँदै असोज १५ गतेभित्र ठूलो संख्यामा कम्पनीलाई निष्कासन अनुमति दिने तयारी गरेको छ ।बोर्ड अध्यक्ष डा. गोपालप्रसाद भट्टका अनुसार आईपीओका लागि परेका आवेदनलाई निश्चित मापदण्ड र स्कोरिङ प्रणालीका आधारमा मूल्यांकन गरेर योग्य कम्पनीलाई क्रमशः स्वीकृति दिने तयारी भइरहेको छ ।
हाल बोर्डमा विशेषगरी जलविद्युत् कम्पनीका आईपीओसम्बन्धी आवेदन धेरै रहेको बताइएको छ। नयाँ आर्थिक वर्ष सुरु भएपछि कम्पनीहरूको नयाँ वित्तीय विवरण अध्ययन गर्नुपर्ने भएकाले स्वीकृति प्रक्रियामा केही ढिलाइ भएको बोर्डको भनाइ छ ।
बोर्डले आगामी दिनमा आईपीओ निष्कासनका लागि कम्पनी छनोटमा इस्यु म्यानेजरको भूमिका बढाउने योजना पनि अघि सारेको छ। बुक बिल्डिङ र संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्दै प्राथमिक बजारलाई थप व्यवस्थित र बजारमुखी बनाउने तयारी भइरहेको छ ।
त्यस्तै, स्टार्टअप तथा साना–मझौला कम्पनीलाई पुँजी बजारमा प्रवेश गराउन छुट्टै प्लेटफर्म निर्माण गर्ने अवधारणा पनि बोर्डले अघि सारेको छ। आवश्यक मापदण्ड पूरा गरेपछि यस्ता कम्पनीलाई मुख्य बजारमा स्थानान्तरण गर्न सकिने व्यवस्था गर्ने तयारी छ ।
सेबोनले प्राथमिक बजारमा धितोपत्रको उचित मूल्य निर्धारण, ऋणपत्र बजार विस्तार तथा जोखिममा आधारित नियमन प्रणाली विकासलाई समेत प्राथमिकतामा राखेको छ। बोर्डका अनुसार आगामी एक वर्षमा नेपालको पुँजी बजारमा यस्ता क्षेत्रमा थप सुधार र नयाँ व्यवस्था कार्यान्वयन हुने अपेक्षा गरिएको छ ।