
बैंकिङ खबर / नेपाल राष्ट्र बैंक ले नियम उल्लंघन गर्ने १४ लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ। पूँजीकोष तोकिएको भन्दा न्यून राख्ने, बचतकर्तालाई दिनुपर्ने न्यूनतम ब्याजदर नदिने तथा आवश्यक विवरण समयमै नपठाउने जस्ता कमजोरी भेटिएपछि केन्द्रीय बैंकले यस्तो कदम चालेको हो।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा केही लघुवित्त संस्थाले पूँजीकोष कायम गर्न नसकेको पाइएको छ। नियमानुसार लघुवित्त संस्थाले कुल जोखिम भारित सम्पत्तिको कम्तीमा ४ प्रतिशत प्राथमिक पूँजी र ८ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था रहेको छ। तर, केही संस्थाले उक्त सीमा पूरा गर्न सकेका छैनन् भने संजीवनी (सुपर) लघुवित्त समस्याग्रस्त अवस्थामा रहेको जनाइएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा संजीवनी (सुपर) लघुवित्त, नाडेप लघुवित्त, अभियान लघुवित्त, कालिका लघुवित्त, आत्मनिर्भर लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, यूनिक लघुवित्त, मातृभूमि लघुवित्त, र केही अन्य संस्थाहरूले पूँजीकोष कायम गर्न नसकेको पाइएको छ।
केही लघुवित्त संस्थाले बचतकर्तालाई तोकिएभन्दा कम ब्याजदर दिएको पनि भेटिएको छ। नियमअनुसार कर्जामा लिने अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत बचतमा दिनुपर्ने भए पनि केही संस्थाले उक्त व्यवस्था उल्लंघन गरेका छन्। राष्ट्र बैंकले सञ्चालनमा ल्याएको सुपरीवेक्षकीय सूचना प्रणालीमा समेत केही संस्थाले आवश्यक तथ्यांक नपठाएको पाइएको छ। यसले वित्तीय पारदर्शिता र अनुगमन प्रक्रियामा समस्या उत्पन्न हुने देखिएको छ।
केन्द्रीय बैंकले नियम उल्लंघन गर्ने सबै संस्थालाई तत्काल सुधार गर्न निर्देशन दिँदै अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ। साथै, अन्य अधिकांश लघुवित्त वित्तीय संस्थाहरूले भने तोकिएका मापदण्ड पालना गरिरहेको पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ।



