January 8th, 2017

१४४७.४५ अंकमा झर्यो सेयर बजार, बैंक अफ काठमाण्डू लुम्बिनीले बढायो कारोबार रकम

आइतबार सेयर बजार ९.६९ अंकले घटेर १४४७.४५ अंकमा कायम भएको छ । होटलबोहक कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समू्ह ११.१७ अंकले घटेको छ भने विकास बैंक १०.९२ अंकले घटेको छ । बैंकिङ, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ६.८७, ४.४७, ७.३ र ५.२ अंकले घटेका छन् । होटल भने ३३.२२ अंकले बढेको छ । 

परिसूचक घटेपछि कारोबार रकममा सामान्य सुधार देखिएको छ । आइतबार ४१ करोडको कारोबार भएको छ । दिनभरिमा १३१ वटा कम्पनीको १७ लाख ६८ हजार नौ सय ६२ कित्ता सेयर दुई हजार आठ सय ३३ पटक खरिदविक्री हुँदा कुल ४१ करोड १८ लाख ३० हजार पाँच सय ८६ रुपैयाँ पुँजी परिचालन भएको हो । 

कुल कारोबारमध्ये, बैंक अफ काठमाण्डू लुम्बिनीको नौ करोड १२ लाख ४३ हजार एक सय ५३ रुपैयाँको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन्स बैंकको तीन करोडमाथिको कारोबार भएको छ । कुमारी बैंकको एक करोड ८४ लाख र प्राइम कमर्सियल बैंकको डेढ करोडको कारोबार भएको छ । एभरेष्ट बैंकको झन्डै डेढ करोडको कारोबार हुँदा नेपाल टेलिकमको पनि एक करोडमाथिको कारोबार भएको छ । सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनआईसी एसिया बैंकको क्रमशः ८३ लाख, ७७ लाख र ७३ लाख रुपैयाँको कारोबार भएको छ । 

आइतबार पनि एनबि इन्स्योरेन्सका सेयरधनीेले सबैभन्दा धेरै ९.९४ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले ९.७२ प्रतिशतका दरले कमाएका छन् । भार्गव विकास बैंकका सेयरधनीले ६.७२ प्रतिशतले कमाएका छन् । साझा विकास बैंक, कालिका माइक्रोक्रेडिट, ग्रीन डेभलपमेन्ट बैंक, नेशनल हाइड्रो, सोल्टी होटल, काबेली विकास बैंक, किसान माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको मञ्जुश्री फाइनान्सका सेयरधनीले ६.३८ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने ज्योति विकास बैंकका सेयरधनीले ५.४३ प्रतिशतका दरले गुमाएका छन् । पोखरा फाइनान्स, सगरमाथा फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, रिलायबल माइक्रोफाइनान्स, टुरिजम डेभलपमेन्ट बैंक, लुम्बिनी फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, सेती फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।