२०८२ माघ १२ गते

नयाँ भन्सार ऐन कार्यान्वयनमा जाने चरणमा : अर्थमन्त्री रामेश्वर खनाल

बैंकिङ खबर/ सोमबार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय भन्सार दिवससम्बन्धी कार्यक्रममा बोल्दै अर्थमन्त्री रामेश्वर खनालले भन्सार प्रणालीलाई व्यवस्थित बनाउँदै निजी क्षेत्रका लागि प्रक्रिया सहज बनाउने लक्ष्यसहित नयाँ ऐन ल्याइएको जानकारी दिए।

उनले सरकारले भन्सार ऐनलाई प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता जनाउँदै नियमावली स्वीकृत गराउने प्रक्रिया अघि बढाइएको बताए। सम्भव भएसम्म सो नियमावली आजै मन्त्रिपरिषद्को छलफलमा पुग्ने उनले उल्लेख गरे ।

अर्थमन्त्री खनालले नयाँ भन्सार ऐन अब छिट्टै व्यवहारमा लागू हुने बताएका छन्। ऐन कार्यान्वयनका लागि आवश्यक नियमावली नबन्दा देखिएको अवरोध हट्ने क्रममा रहेको उनको भनाइ छ ।

भन्सार ऐनमा दण्डको प्रावधान कडा भएको भन्ने आवाजहरू उठिरहेको सन्दर्भमा अर्थमन्त्री खनालले दण्ड लाग्ने अवस्था नै नआउने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता भएको बताए । यसका लागि निजी क्षेत्र, भन्सार प्रशासन र अर्थ मन्त्रालयबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

उनले भन्सार प्रशासनको दक्षता वृद्धि गर्दै व्यापार सहजीकरणमा केन्द्रित हुने नीति सरकारको रहेको बताउँदै अर्थ मन्त्रालयले आवश्यक सहयोग प्रदान गर्ने पनि स्पष्ट पारे । यसबाट नियम उल्लङ्घनका घटना न्यून हुने विश्वास उनले व्यक्त गरे ।