२०८२ माघ ६ गते

घट्दो क्रममा बैदेशीक लगानी : जेन्जी आन्दोलनपछि प्रतिबद्धता पनि कार्यान्वयन भएन !

बैंकिङ खबर / यस वर्ष ४७५ नयाँ उद्योग दर्ता भएका छन्, जसले करिब २० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेका छन्। पुस महिनामा दर्ता भएका सबै उद्योग साना थिए। सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानी बढी आकर्षित भएको छ, जसले नेपालको उद्योग क्षेत्रमा नयाँ सम्भावना देखाएको छ।

विशेषज्ञहरूले चेतावनी दिएका छन् कि साना उद्योगले छोटो अवधिमा रोजगारी र आर्थिक गतिविधि बढाउने भए पनि, ठूलो लगानी स्थिर नभए दीर्घकालीन आर्थिक वृद्धिमा चुनौती आउन सक्छ।

जेनजी आन्दोलनपछि नेपालमा विदेशी लगानी (एफडीआई)को प्रवृत्ति स्थिर देखिएको छैन। आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा कुल ३९ अर्ब रुपैयाँभन्दा बढीको एफडीआई प्रतिबद्धता भएको छ, तर मासिक विवरण हेर्दा उतार-चढाव देखिन्छ।

साउनमा लगानी उच्च थियो, करिब २४ अर्ब रुपैयाँ स्वीकृत भयो। तर त्यसपछि पाँच महिनामा मात्र १५ अर्ब रुपैयाँ बराबरको नयाँ लगानी प्रतिबद्धता आएको छ। भदौ महिनामा ८ अर्ब ९८ करोड रुपैयाँ लगानी आएको तथ्यांक छ। विश्लेषकहरूले यसलाई लगानीकर्ताबीच उत्पन्न अनिश्चितताको संकेतको रूपमा व्याख्या गरेका छन्। असोजदेखि मंसिरसम्म एफडीआईको प्रवृत्ति केही स्थिर रह्यो, तर पुसमा मात्र ५९ करोड रुपैयाँको सानो लगानी भएको छ।