२०८२ माघ २ गते

नेपाली बैंकिङ क्षेत्रमा स्वीस बैंकको प्रभाव बढ्दै : (स्वीस बैंकमा कालो धन भण्डारणको कथा)

बैंकिङ खबर / आज हामीले स्वीस बैंकको अस्वभाविक सक्रियताका बारे कुरा उठाउँदै छौं । स्वीस बैंकको सक्रियता कतिपय देशहरुले मन पराउँदैनन् । जानकारका अनुसार स्विस बैंकले नेपालमा पनि केही गतिविधिहरू गरेको छ । जसले गर्दा बैंकिङ क्षेत्रमा सुरक्षामा नै प्रस्न उठेको छ । विदेश पलायन हुने पुँजीको अधिकाँस हिस्सा स्वीस बेंकमा जाने गरेको बताइन्छ । सोही बैंकका कारण बैंकिङ क्षेत्रमा उच्छृङ्खल गतिविधिहरू बढेको र नेपालको पुँजी पलायन बनाउन खोजिएको समेत विश्लेषण गरिएका छन् । जसले बैंकिङ क्षेत्रको मनोबल कमजोर पारेको छ ।

पछिल्लो समय नेपालमा शंकास्पद वित्तीय कारोबार र गतिविधि बढेको देखिएको छ, जुन ३० प्रतिशतले वृद्धि भएको छ। यो वृद्धि वाणिज्य बैंक, विकास बैंक, सहकारी संस्था, र अन्य वित्तीय संस्थाहरूबाट आएको हो । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१ ८२ को वार्षिक प्रतिवेदनले शंकास्पद वित्तीय गतिविधि अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको तथ्य सार्वजनिक गरेको हो। यो वृद्धि आर्थिक कारोबारमा आएको वृद्धिसँगै स्वाभाविक रूपमा वित्तीय अपराधका गतिविधि बढ्ने भए पनि प्राप्त उजुरी संख्या बढेकै आधारमा वित्तीय कारोबार बढ्यो भन्न नमिल्ने एफआईयूको प्रतिवेदनमा उल्लेख छ । यी गतिविधिमा स्वीस बैंकको सक्रियता रहेको हुन सक्ने आशंका पनि गरिएको छ । नेपालका कैयौं ब्यक्तिको स्वीस बैंकमा रकम छ । तर त्यो रकमका बारे आधिकारीक सूचना स्वीस बैंकले दिने गरेको छैन । सन्सारकै सूचनाको गोपनियता कायम गर्नमा स्वीस बैंक माहिर मानिन्छ ।

स्विस बैंकमा विश्वभरीको कालो धन

कुनै पनि देशको बैकिङ क्षेत्र भनेको त्यस देशका जनताहरूलाई चाहिने वित्तिय सेवा प्रदान गर्ने निकाय हो । सुरक्षित, भरपर्दो तथा विश्वासिलो तवरबाट पैसा जम्मा गर्न र आवश्यक पर्दा गर्जो टार्न सक्ने क्षमता बैंकसँग हुन्छ, भन्ने आम मानिसको बुझाई पनि छ । विश्वका हरेक देशसँग आ–आफ्नो प्रक्रियाबाट सञ्चालन हुने बैंकहरु छन् । यिनीहरुले आफ्नो देशको कानुनमा रहेर आफ्ना काम तथा कार्वाहि सञ्चालन गरेका हुन्छन् । हरेक बैंकले आफ्नो बैंकिङ च्यानलबाट गरेको कारोबार सुरक्षित हुन्छ भनेर विज्ञापनिक सामाग्रीहरुबाट प्रचारप्रसार गर्ने गरेका हुन्छन् । यद्यपी बचतकर्तालाई कम ब्याजदर लगाउने र ऋण प्रवाह गर्दा मँहगो ब्याजदर लगाउने परिपाटिबाट बैंकहरु मोटाएका हुन्छन् भन्ने टिकाटिप्पणी पनि बेलाबखतमा आउने गरेको छ । यता बचतकर्ताले पनि आफ्नो रकम सुरक्षित होओस् भनेर ढुक्कसँग बैंकलाई जिम्मा दिएका हुन्छन् । संसारभरका मुलुकमा पुँजी लगानी गर्ने शक्तिशाली मानिएको विश्व बैंकलाई समेत चुनौति दिने स्विस बैंकका केहि ‘खास’ विशेषताहरु छन् ।

कालोधन सुरक्षित र गोप्य राखिन्छ 
स्विस बैंकमा राखिएको अधिकांश रकम कर छली, भ्रष्टाचार, अवैध कारोबार, तथा अन्य आयस्रोतबाट आएका अतिरिक्त पैसा नै हो । यस्ता अवैधानिक बाटोबाट आएको अकुत सम्पत्ति लुकाउने ठाउँ स्विस बैंक नै हो । विश्वमा आर्थिक रुपले समृद्ध मानिएको मुलुक अमेरिकाका धनाढ्यहरुले समेत अकुत सम्पत्तिको कर छल्नका लागि स्वीस बैँक नै प्रयोग गर्ने गरेको बताइन्छ । भारतीय व्यापारी तथा केही पुर्व राजनीतिज्ञहरुको मात्रै ५ सय ४३ दशमलव ५४ विलियन डलर कालो धन स्विस बैंकमा रहेको अनुमान गरिएको छ । एकताका भारत सरकारले कालो धनको छानविन गर्ने घोषणा गरेपछि चार बर्ष भित्र १४ हजार करोड रुपैंया रकम स्विस बैंकबाट झिकिएको तथ्य फेला परेको थियो । निकै ठुलो अर्थतन्त्र भएको मुलुक भारतमा रहेको पैसाको करिब दुई तिहाइ पैसा स्विजरल्याण्डका दुइवटा बैंकसँग मात्र रहेको बताईन्छ । यसबाहेक अन्य युरोपियन मुलुकका अवैध पैसा आर्जन गर्ने धनाढ्यहरु पनि स्विस बैँकमा पैसा राख्न पाउँदा गोपनियता र सुरक्षाका हिसाबले लोभिने गरेको तथ्यांकहरु सार्वजनिक भएको एजेन्सीहरु बताउँछन् ।

संसारमै नभएको नियम 
संसारका हरेक देशको पुलिस प्रशासन, राजस्व विभाग तथा अदालतले आवश्यक परेमा जुनसुकै खातावाला व्यक्तिका बारेमा पनि आवश्यक जानकारी लिन सक्छ । तर बैंकिङ सम्बन्धि स्विजरल्याण्डको कानुन अन्य देशभन्दा फरक किसीमको छ । स्विजरल्याण्डमा संघीय बैंक नियन्त्रण आयोग बाहेक कुनै पनि निकायले खातावालाको बारेमा जानकारी माग्न सक्दैनन् । ‘स्विस बैंकिङ एक्ट १९३४’ मा बैंकले खातावालाको अनुमतिबिना खाता नम्बर पनि सार्वजनिक गर्दैनन् । सन् १९३४ मा कानुन लागु भएपछि देशको संघीय बैंक नियन्त्रण आयोगले मात्र सामान्य निगरानी गर्न सक्ने भनिएको छ । त्यस कारण पनि अकुत सम्पत्तिवालाहरुको एउटै गन्तव्य बन्ने गरेको छ स्विस बैँक ।

यसकारण मरिमेट्छन् धनाढ्यहरु
संसारको बैंकहरु भन्दा फरक किसीमको अधिकार राखेको स्विस बैंक यस्तो बैंक हो, जहाँ रकम राखेपछि हराउने, एकाउन्ट ह्याक हुने, लुटिने, छानबिन हुने लगायतका कुनैपनि समस्या हुँदैन । त्यसकारण पनि यदि कसैले भ्रष्टाचार गरेर वा अन्य अवैधानिक बाटोबाट कमाएको रकम स्विस बैंकमा जम्मा गर्यो भने छानविनको लागि स्विस बैंकले सबै ढोका बन्द गरेको हुन्छ । आफूले कमाएको अकुत सम्पत्ति सुरक्षित तरीकाले बैंकमा राख्नको लागि पनि धनाढ्यहरु मरिहत्ते गर्छन् । त्यसकारण संसारभरीकै अधिकांश भ्रष्टाचार गरेको पैसा, कालो धन, अवैधानिक बाटोबाट आर्जन गरेको अतिरिक्त पैसा स्विस बैंकमा राखिन्छ । एक अध्ययन अनुसार करिब ४०० भारतीय नागरीकले स्विस बैकमा पैसा राखेका छन् । भारतले स्विजरल्याण्डमा भारतीय नागरिकले राखेको कालो धनको केहि विवरण पाएको छ । भारतीयहरुले ठुलो रकम स्विस बैंकमा राख्नुको कारण पनि सबै बचतकर्ताको जानकारी गोप्य हुनु नै हो । समाचारमा जनाईएअनुसार संसारभरका अधिकांश कालो धन होस् चाहे सेतो धनले स्विस बैंकको लगानी बढाउन सहयोग गरिरहेका छन् । हाल स्विस बैंकसँग १ हजार ५ सय ३० अर्ब स्विस फ्रयाङ्क अर्थात् १ लाख ४४ हजार अर्ब रुपैयाँ निक्षेप रहेको छ ।