२०८२ माघ १ गते

बैंकिङ कारोबारमा कडाई, पाँचलाख माथिको भुक्तानी एसी पे मार्फत मात्रै !

बैंकिङ खबर / माघ १ गतेदेखि नगद कारोबारको सीमा रु पाँच लाख पुगेको छ । सरकारले अघि सारेको योजना अनुरुप नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गरेर सो व्यवस्था गरेको हो । रु पाँच लाखभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा ‘एकाउन्ट पे’ चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ । अबका दिनमा कुनै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा चेक जारी गर्दा पनि एसी पे चेक जारी गर्नुपर्ने हुन्छ । पूर्वाधार आयोजनाहरू, जलविद्युत्, सडक, सञ्चार जस्ता क्षेत्रका कर्मचारी, श्रमिकको पारिश्रमिक ज्याला भुक्तानी गर्न भने समस्या नपर्ने केन्द्रीय बैंकले प्रष्ट पारेको छ । विभिन्न आयोजनामा आवश्यक मालसामानको आपूर्ति गर्न, सरकारलाई बुझाउनुपर्ने राजश्व भुक्तानी गर्न, बिगो धरौटी जमानत रकम जम्मा गर्न, पेन्सन क्याम्प मार्फत पेन्सन वितरण गर्न कुनै समस्या हुने छैन । मन्त्रीपरिषदको बैठकले गत मङ्सिर १५ गते नगद कारोबारको सीमा पाँच लाखमा सीमित गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयले यो व्यवस्थाको सूचना राजपत्रमा प्रकाशित गरिसकेको छ । सरकारले वितरण गर्ने राहत अनुदान सहायता वितरण गर्न, विप्रेषण कम्पनी, एजेन्टले विप्रेषण प्राप्त गर्ने व्यक्तिलाई रकम भुक्तानी गर्न पनि केन्द्रीय बैंकको पछिल्लो व्यवस्थाले कुनै वाधा नपर्ने जनाइएको छ । बचत तथा ऋण सहकारी संस्थालाई आफ्ना सदस्यसँगको दैनिक कारोबारको भुक्तानी नगदमा गर्न सकिनेछ ।