
बैंकिङ खबर/ नेपालमा अर्गानिक कफी खेती सुरु गरेर त्यसको व्यबसायीकरण भएको ३६ बर्ष पुगेको छ । नेपालको पहिलो अर्गानिक कफी नेपाल अर्गानिक कफिले ३६ औ बर्ष पुरा गरेको हो । वि सं १९९५ मा गुल्मी आपचौरका साधु हिरा गिरिबाट नेपालमा कफि रोपणको थालनी भएको थियो । २०३२ /३३ सालमा तत्कालिन सरकारको सहयोगमा नेपालका अन्य भागमा कफि बिस्तार भएको पाइन्छ । यसै क्रममा २०३५ सालदेखि पाल्पाको मदनपोखरामा घिमिरे परिवारबाट केही कफि बिरुवा रोपण गर्दै २०३९ देखि व्यावसायिक कफी खेती सुरु भएको थियो । २०४६ साल मंसिर २७ गते का दिन नेपालमै पहिलोपटक महिला उद्यमिको रुपमा शान्तिदेबी घिमिरेबाट होम मेड अर्गानिक कफि तयार गरी घिमिरे परिवारले कफीको व्यबसायीक वितरण सुरु भएको थियो । सोही क्रममा ढकेश्वर घिमिरेको नेतृत्वमा २०४७ साल कर्तिक ३० गते देखि संस्थागत ब्यबस्थापन अन्तरगत नेपाल कफि व्यावसायि संघ पाल्पाको सुभारम्भ भई उनकै नेतृत्वमा नेपाल कफी व्यावसायि महासंघको स्थापना भएको हो । २०५० साल देखि रास्ट्रिय चिया तथा कफि बिकास बोर्ड स्थापना भएपछि यसले अझ व्यबसायीक रुप लिन पुगेको कफी व्यबसायी महासंघका संस्थापक अध्यक्ष ढकेश्वर घिमिरे बताउँछन् । कफीमा कृषकहरुको आकर्षण बढ्दै जाँदा हाल नेपालमा करिव पाँच दर्जन कफी उद्योगहरु तथा १० हजारसंख्यामा कफी क्याफेहरु संचालनमा छन् । नेपालका करिव ४२ जिल्लामा कफि खेती हुँदै आएको छ । नेपाली अर्गानिक कफीको विस्तारमा उल्लेखनीय भूमिका खेलेका ढकेश्वर घिमिरे र शान्तिदेवी घिमिरेले अहिले विश्व बजारसम्म नेपाली कफीको विस्तार गरेका छन् । नेपालमा व्यबसायीक अर्गाकि कफी उत्पादन, बजार विस्तार तथा कफी कृषकहरु बढाउने कार्यमा महत्वपूर्ण भूमिकामा रहेको नेपाल अर्गानिक कफी प्रोडक्टले थुप्रै नेसनल, इन्टरनेसनल पुरस्कारहरु तथा सम्मानहरु प्राप्त गरेको छ ।


