आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत नगद लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ । संस्थाले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्न नियामक निकायबाट स्वीकृति पाएको हो ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत थोक कर्जाको कारोबार गर्ने लघुवित्तको चुक्ता पुँजी ६० करोड पुर्याउने घोषणा गरेको थियो । घोषणाअनुसार थोक कर्जाको कारोबार गर्ने लघुवित्तले २०७५ साल असारसम्ममा तोकिएको पुँजी पुर्याउनुपर्ने छ । सोही अनुरुप पुँजी वृद्धि गर्नका लागि आरएसडीसी लघुवित्तले बोनस सेयर वितरण गर्न लागेको हो ।
हालै ४ करोड बराबरको साधारण सेयर जारी गरेर आरएसडीसीले १० करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । उक्त पुँजीको १५ प्रतिशत बोनस सेयर जारी गर्दा संस्थाको चुक्तापुँजी ११ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
पुँजीवृद्धि योजना अनुसार, बोनस सेयरपछि कायम चुक्तापुँजीबाट संस्थाले दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर जारी गरी चालू आर्थिक वर्षभित्रै चुक्तापुँजी ३४ करोड ५० लाख रुपैयाँ पुर्याउनेछ । चालू आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिएर आगामी आर्थिक वर्षको पुष मसान्तसम्ममा ३६ करोड २२ लाख ५० हजार रुपैयाँ पुँजी पुर्याउनेछ । त्यसपछि पाँच बराबर तीन कित्ताका दरले हकप्रद जारी गरेर ५७ करोड ९६ लाख रुपैयाँ पुँजी पुर्याउनेछ । उक्त पुँजीमा आगामी आर्थिक वर्षको मुनाफाबाट दुई करोड ५३ लाख ५७ हजार रुपैयाँ पुँजीकृत गरि ६० करोड ४९ लाख ५७ हजार रुपैयाँ पुँजी पुर्याउनेछ ।