
बैंकिङ खबर/पूर्वअर्थमन्त्री फोरमले आम नागरिक र व्यवसायीलाई हालको घटनाबाट विचलित नभई आर्थिकलगायतका नियमित क्रियाकलाप निरन्तर सञ्चालन गर्न आग्रह गरेको छ ।
अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा शुक्रबार बसेको फोरमको बैठकले भदौ २४ गते जेनजीको भावनाविपरीत अराजक समूहद्वारा गरिएका तोडफोड, लुटपाट र आगजनीका घटनाले मुलुकको अर्थतन्त्र र जनमनोबलमा गम्भीर असर पारेको उल्लेख गर्दै यस्तो अवस्थाले दीर्घकालीन आर्थिक गतिविधि कमजोर नबनाओस् भनेर सचेत आह्वान गरेको हो ।
फोरमका सदस्यसचिव विमल केडियाका अनुसार बैठकले सरकारले सुरक्षासँगै राहत र सहुलियतका कार्यक्रमहरू थप सशक्त बनाउँदै नागरिक र व्यवसायीको मनोबल उकास्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएको छ । त्यसक्रममा फोरमले कर विवरण बुझाउने र ऋण तथा ब्याज भुक्तानीको अवधिलाई थप १५ दिन लम्ब्याउन सरकारलाई अनुरोध गरेको छ । साथै, भदौ २४ गतेका घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कडाइका साथ कारबाही गर्न पनि माग गरिएको छ।
बैठकमा अर्थमन्त्री खनालसहित पूर्वअर्थमन्त्रीहरू प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, वर्षमान पुन, प्रकाशशरण महत र अर्थसचिव घनश्याम उपाध्याय सहभागी थिए। फोरमले मुलुकको आर्थिक स्थायित्व र लगानीमैत्री वातावरण पुनःस्थापनाका लागि सबै पक्षको एकताबद्ध सहयोग आवश्यक रहेको निष्कर्ष निकालेको छ।



