
बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा सरकारले ५० अर्ब ६० करोड बराबर सरकारी ऋण थप गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, गत असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब ४ करोड रहेको सरकारी ऋण असोज मसान्तसम्म बढेर २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ। हाल तिर्न बाँकी सरकारी ऋण कुल गार्हस्थ्य उत्पादन (GDP) को ४४.६१ प्रतिशतसम्म पुगेको छ।
कूल सार्वजनिक ऋणमा असोज मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.०९ प्रतिशत अर्थात् १४ खर्ब ४६ अर्ब ५८ करोड र आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत अर्थात् १२ खर्ब ७८ अर्ब ७ करोड रहेको छ।
सरकारले चालु आर्थिक वर्षका लागि कुल पाँच खर्ब ९५ अर्ब बराबर सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, पहिलो त्रैमासमा यसबाट १ खर्ब ८४ करोड ऋण प्राप्त भइसकेको छ, जुन वार्षिक लक्ष्यको १६.९३ प्रतिशत बराबर हो।
आन्तरिक ऋणतर्फ तीन खर्ब ६२ अर्ब उठाउने लक्ष्य राखिएकोमा असोज मसान्तसम्म ९० अर्ब अर्थात् २४.८६ प्रतिशत ऋण उठिसकेको छ। त्यस्तै, बाह्य ऋणतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड उठाउने लक्ष्य रहँदा हालसम्म केवल १ अर्ब ८४ करोड ऋण उठेको छ, जुन वार्षिक लक्ष्यको ४.६५ प्रतिशत मात्र हो।
सरकारी ऋणको साँवा (Interest) भुक्तानीका लागि सरकारले यस वर्ष ४ खर्ब ११ अर्ब १ करोड बराबरको बजेट छुट्याएको छ। यसमध्ये असोज मसान्तसम्ममा १ खर्ब ९ अर्ब ८९ करोड भुक्तानी भइसकेको छ, जुन वार्षिक बजेटको २६.७४ प्रतिशत र कुल GDP को १.८० प्रतिशतको बराबर रहेको छ।