२०८२ कार्तिक १० गते

घरजग्गा कारोबारमा भारी गिरावट

बैंकिङ खबर/ पछिल्ला दिनमा देशभर घरजग्गा कारोबार झन् घट्दै गएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका तथ्यांकअनुसार असोज महिनामा देशभरका मालपोत कार्यालयबाट २३ हजार ३५३ लिखत पारित भएका छन्। यो गत भदौको २७ हजार ४९४ र गत वर्षको असोजको ३० हजार ५२७ लिखतभन्दा कम हो।

घरजग्गा कारोबार घट्दा राजस्व संकलनमा पनि कमी आएको छ। असोजमा कारोबारबाट जम्मा २ अर्ब ७३ करोड १८ लाख रुपैयाँ संकलन भएको छ, जुन भदौ महिनाको ३ अर्ब १४ करोड रुपैयाँभन्दा कम हो।

काठमाडौंका केही प्रमुख ठाउँमा पनि कारोबार घटेको देखिन्छ। डिल्लीबजारमा १५०, चाबहिलमा ३७७, कलंकीमा ९, साँखुमा ३३०, मनमैजुमा १५३ र टोखामा १२४ लिखत मात्र पारित भएका थिए।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालै ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबारका लागि अनुमति लिनुपर्ने नयाँ नियम लागू गरेको छ। मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टका अनुसार, व्यक्तिबीच हुने ३ करोडमुनिका कारोबारका लागि अनुमति आवश्यक छैन, तर कम्पनीसँग हुने कारोबार वा कम्पनी–कम्पनीबीचको कारोबारमा इजाजत अनिवार्य गरिएको छ।

नियमअनुसार इजाजतपत्र पाउन निवेदकले तोकिएका कागजातसहित सम्बन्धित अधिकारीसमक्ष आवेदन दिनुपर्नेछ। इजाजतपत्रको अवधि पाँच वर्षका लागि रहने व्यवस्था छ।