
बैंकिङ खबर/ बौद्धस्थित हायात रिजेन्सी होटल व्यवस्थापनले होटल अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेपछि कर्मचारी युनियनहरूले विरोध जनाएका छन्।
आइतबार होटलका तीन ट्रेड युनियन-नेपाल पर्यटन, होटल क्यासिनो तथा रेष्टुरेन्ट श्रमिक सङ्घ, नेपाल होटल रेष्टुरेन्ट तथा क्यासिनो मजदुर सङ्घ, र नेपाल स्वतन्त्र होटल मजदुर युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै व्यवस्थापनको निर्णय एकपक्षीय, श्रम कानुन विपरीत र सयौँ कर्मचारीको रोजगारी गुमाउने जोखिमपूर्ण कदम भएको बताए।
युनियनले भनेका छन् भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र तोडफोडका कारण होटल संरचनामा क्षति पुगेको भए पनि मर्मत सम्भारपछि तुरुन्त सञ्चालन गर्न सकिने अवस्था छ। तर व्यवस्थापनले श्रमिकलाई अनिश्चितकालका लागि कार्यस्थलमा उपस्थित नहुन निर्देशन दिएको भन्दै युनियनहरूले यो निर्णय श्रमिक विरोधी भएको बताएको छ।
विज्ञप्तिमा उल्लेख छ, “होटल बन्द गर्ने सन्दर्भमा हाम्रो कुनै सहमति वा समर्थन छैन। यसले नेपालको अन्तर्राष्ट्रिय छवि धमिलो पार्ने, लगानी सुरक्षामाथि प्रश्न उठाउने र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेछ।”
युनियनहरूले होटल प्रशासनसँग तत्काल आफ्नो निर्णय फिर्ता लिएर होटल सञ्चालनमा ल्याउन र सबै श्रमिकको रोजगारी सुरक्षित गर्न आग्रह गरेका छन्। साथै, सरकारले तोडफोड तथा क्षति पुर्याउने घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग पनि उनीहरूले गरेका छन्।