२०८२ कार्तिक ९ गते

सुन आयात तीव्र वृद्धि : पहिलो त्रैमासमा ६ सय ६ किलो आयात

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नेपालमा सुन आयात उल्लेखनीय दरले बढेको छ। भन्सार विभागका अनुसार साउनदेखि असोज मसान्तसम्म ६ सय १ किलो काँचो सुन र करिब ५ किलो सुनका गरगहना आयात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा मात्र १ सय १३.५ किलो सुन आयात भएको थियो। विभागले सुन आयात बढ्नुको मुख्य कारण सुनको मूल्य वृद्धिसँगै लगानीकर्ताको आकर्षण बढ्नु भएको उल्लेख गरेको छ। पछिल्लो समय बजारमा सुनको माग तीव्र रूपमा बढेको र आपूर्ति कम भएको कारण अभाव सिर्जना भएको थियो।

सरकारले यसै कारण सुन आयात कोटा दैनिक २० किलोबाट २५ किलो पुर्‍याएको थियो। सुन आयातमा वृद्धिले विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याएको र लगानीकर्ताहरूको सुनतर्फको रुचि बढाएको विभागको विश्लेषण छ।

चालु त्रैमासमा काँचो सुनको आयातबाट करिब १० अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ, जसबाट सरकारले १ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। त्यस्तै, सुनका गरगहना आयातबाट ७ करोड १५ लाख रुपैयाँ बराबरको मूल्यमा ३४ लाख रुपैयाँ राजस्व आम्दानी भएको छ।