२०८२ कार्तिक ८ गते

हायात होटल बन्दः प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्रीले गरे व्यवस्थापनसँग छलफल

बैंकिङ खबर/ हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेशमा रोक लगाइएको भन्ने सूचनापछि प्रधानमन्त्री सुशीला कार्कीले घटनाप्रति चासो व्यक्त गरेकी छन्।

प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार बिहानै हायात रिजेन्सी होटल व्यवस्थापनसँग कुराकानी गरी अवस्थाबारे जानकारी लिएका हुन्।

हालै हायात होटलले ‘अर्को सूचना जारी नहुँदासम्म कर्मचारीहरू नआउनू’ भन्ने आन्तरिक सूचना जारी गरेको खबर सार्वजनिक भएपछि यसले सरकारी ध्यान खिचेको थियो।

वार्ताको क्रममा अर्थमन्त्री खनालले होटल व्यवस्थापनलाई सरकारले पूर्ण सुरक्षा प्रत्याभूति दिने आश्वासन दिएका छन्। उनले भने, “तपाईंहरू आत्तिनु पर्दैन, उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौँ, सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ। कत्ति पनि विचलित नभई आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्।”

खनालले निजी क्षेत्र र पर्यटन व्यवसायलाई प्रभावित हुन नदिन सरकार गम्भीर रहेको उल्लेख गर्दै होटल व्यवस्थापनलाई सामान्य ढंगमा सेवा सञ्चालन गर्न आग्रह गरे।

सरकारका अनुसार आइतबार बिहान होटल व्यवस्थापनसँग थप छलफल गरी आवश्यक कदम चालिने र समस्याको समाधानका लागि पहल अघि बढाइनेछ।

हायात होटल काठमाडौँको पर्यटकीय क्षेत्र बौद्ध नजिक अवस्थित प्रमुख पाँचतारे होटलमध्ये एक हो, जहाँ हाल सयौँ कर्मचारी कार्यरत छन्। हालको सूचनापछि सेवा अस्थायी रूपमा प्रभावित भएको बताइए पनि होटल व्यवस्थापनले आधिकारिक रूपमा बयान जारी गरेको छैन।