
बैंकिङ खबर/ विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले बुधबार अमेरिकी वाणिज्य प्रतिनिधिसँग भेटवार्ता गरी नेपाल–अमेरिका आपसी व्यापार र लगानी प्रवर्द्धनबारे छलफल गरेका छन्।
अर्थ मन्त्रालयका अनुसार, खनालले नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम (एनटीटीपी)को म्याद थप गर्न समेत आग्रह गरेका छन्। अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँगको भेटमा दुई देशबीच सम्बन्ध सुदृढ पार्ने र आपसी हितका विषयमा संवाद भएको थियो।
त्यसैगरी, खनालले साउदी फन्ड र जापान सहयोग नियोग (जाइका)का प्रतिनिधिसँग अलग-अलग भेटवार्ता गरी नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन्। साउदी फन्डले सिँचाइ र जलविद्युत परियोजनामा लगानी गर्ने जानकारी दिएका छन्। जापान सहयोग नियोगसँग बीपी राजमार्ग पुनर्स्थापना, नागढुंगा सुरुङ मार्ग र कोटेश्वर सेक्सन आयोजनाको शीघ्र कार्यान्वयनबारे छलफल भएको छ।
अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोषका एसिया–प्रशान्त हेर्ने निर्देशक कृष्णा श्रीनिभासनसँग विस्तारित कर्जा कार्यक्रमको कार्यान्वयन निरन्तरता दिने विषयमा छलफल गरेका छन्। सो अवसरमा नेपाल राष्ट्र बैंक ऐन संशोधन, वाणिज्य बैंकको कर्जा पोर्टफोलियो अध्ययन र वित्तीय स्थायित्व कायम गर्नेबारे विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ। भेटवार्तामा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समेत उपस्थित थिए।
