२०८२ आश्विन २९ गते

आईएमएफले घटायो नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण

बैंकिङ खबर/ अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा आगामी वर्ष सुधारको संकेत देखाउँदै आर्थिक वृद्धिदर सन् २०२५ मा चार दशमलव तीन प्रतिशत पुग्ने अनुमान गरेको छ। मंगलबार सार्वजनिक गरिएको ‘वल्र्ड इकोनोमिक आउटलुक (World Economic Outlook)’ प्रतिवेदनमार्फत आईएमएफले यस्तो प्रक्षेपण गरेको हो।

आईएमएफका अनुसार सन् २०२३ मा २ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर सन् २०२४ मा केही सुधार भई ३.७ प्रतिशत पुगेको थियो। त्यसपछिको वर्ष अर्थात् सन् २०२५ मा अर्थतन्त्रमा थप सुधार हुँदै ४.३ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ।

यस्तै, सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने र सन् २०३० सम्ममा ५ प्रतिशतको स्थिर वृद्धि दर कायम हुने आईएमएफको आकलन छ।

मूल्यवृद्धि (मुद्रास्फीति) सम्बन्धमा आईएमएफले सन् २०२५ मा ४.१ प्रतिशत र सन् २०२६ मा ४.२ प्रतिशत रहने अनुमान गरेको छ। विश्वव्यापी आर्थिक अवस्थाको सन्दर्भमा भने आईएमएफले समग्र वैश्विक आर्थिक वृद्धिदरमा सुस्तता आउने चेतावनी दिएको छ। सन् २०२४ मा ३.३ प्रतिशत रहेको विश्व अर्थतन्त्रको वृद्धि सन् २०२५ मा ३.२ प्रतिशत र सन् २०२६ मा ३.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ।

आईएमएफको यो ताजा प्रतिवेदनले नेपालले पछिल्ला वर्षमा सामना गरेका आयात नियन्त्रण, मौद्रिक कडाइ, र राजनीतिक अनिश्चितताबीच पनि आर्थिक स्थायित्वतर्फको संकेत दिएको बताइन्छ।