सोमबार पनि सेयर बजार बढेको छ । कारोबार खुलेको आधा घण्टामा १४८४ अंकसम्म पुगेको नेप्से परिसूचक केही समयमा नै १४६७ अंकसम्ममा झरेको थियो । अन्ततः पछिल्लो दुई घण्टामा निरन्तर उकालो लागेको नेप्से १४८२.८५ अंकमा पुगेर बन्द भएको छ । समग्रमा सोमबार नेप्से परिसूचक १७.१३ अंकले बढेको छ ।
बीमा, बैंकिङ र विकास बैंक समूहले सोमबारको सेयर बजारलाई उचालेका छन् । यी समूहहरु क्रमशः २८.४५, २३.३२ र १३.५४ अंकले बढेका छन् । जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य समूह पनि क्रमशः ७.७७, ६.४४, ५.३९ र २.८९ अंकले बढेका छन् । होटल समूह भने ६.३७ अंकले ओरालो लागेको छ ।
केही दिनदेखि सेयर बजार लगातार बढिरहेको छ । तर पनि अहिल्यै सेयर बजारको गति तय गर्न सक्ने अवस्था नरहेको विश्लेषकहरु बताउँछन् । यसै कारणले सेयर लगानीकर्ताहरु पनि अन्यौलमै देखिएका छन् । बजार निरन्तर बढिरहँदा पनि कारोबार रकम उचाईमा पुग्न सकेको छैन । आइतबार ५७ करोडको कारोबार भएको बजार सोमबार ५० करोडको कारोबारमा सीमित भएको छ । दिनभरिमा १३० वटा कम्पनीको नौ लाख १७ हजार ५४ कित्ता सेयर चार हजार तीन सय ८९ पटक खरिदविक्री हुँदा कुल ५० करोड ६८ लाख १२ हजार दुई सय सात रुपैयाँ पुँजी परिचालन भएको छ ।
कुल कारोबारमध्ये, सबैभन्दा धेरै कारोबार भएको एभरेष्ट बैंकको तीन करोड आठ लाख ६४ हजार छ सय ५३ रुपैयाँको मात्रै कारोबार भएको छ । सिटिजन्स बैंकको पौने तीन करोड, बैंक अफ काठमाण्डू लुम्बिनीको दुई करोड ३६ लाख र सिद्धार्थ बैंकको दुई करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बंगलादेश बैंक, नविल बैंक, मेगा बैंक, नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, एनबि इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
कमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सप्तकोसी डेभलपमेन्ट बैंकका सेयरधनीले ९.७५ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा अरुण फाइनान्सका सेयरधनीले ९.६४ प्रतिशत र मञ्जुश्री फाइनान्सका सेयरधनीले ९.२९ प्रतिशतका दरले कमाएका छन् । एनएमबि माइक्रोफाइनान्स, वोमी माइक्रोफाइनान्स र कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले ८ प्रतिशतका दरले कमाएका छन् । एनबि इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, नविल ब्यालेन्स फण्ड लगायतका सेयरधनीले पनि धेरै कमाएका छन् ।
मिथिला लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.२२९५ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने हाम्रो विकास बैंकका सेयरधनीले ५.२५ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, साझा विकास बैंक, भार्गव विकास बैंक, साना किसान विकास बैंक, स्वरोजगार लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, सृजना फाइनान्स, युनियन फाइनान्स, अरुण भ्याली हाइड्रोपावर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।