
बैंकिङ खबर/ अर्थ मन्त्रालयले हालै नेताहरूको घरमा भेटिएका नगद रकमबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका अनुसार प्रचलित कानुनअनुसार आय आर्जन वैध र स्रोत खुला भएमा त्यसलाई सुरक्षित राख्न वा प्रयोग गर्न कुनै अवरोध छैन। तर स्रोत नखुलेको रकम लुकाइराखिएको अवस्थामा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ।
सम्वत् २०८२ भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका क्रममा विभिन्न स्थानमा नगद जलेको वा जलेको अवस्थामा भेटिएको सूचना सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत प्राप्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ। सरकारले सेवा वा वस्तुको खरिद बिक्री तथा अन्य कारोबार वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने नीति ल्याएको भएकाले सबैले विद्युतीय भुक्तानी प्रयोग गर्न आवश्यक रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यसबाहेक प्रचलित कानुनअनुसार नगद कारोबारमा स्पष्ट नियमहरू रहेको उल्लेख गरेको छ। कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तु खरिद–बिक्री गर्दा बैंकिङ उपकरणमार्फत गर्नुपर्छ। नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५,००० सम्मको रकम भन्सार घोषणा बिना ल्याउन सक्नेछन् भने सोभन्दा बढी रकम ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गर्नुपर्नेछ। नेपाली नागरिकले विदेशमा रोजगारी वा व्यवसायबाट आर्जन गरेको वा विदेश भ्रमणका लागि प्राप्त विदेशी मुद्रा मध्य अधिकतम अमेरिकी डलर १,५०० वा सो बराबरको परिवर्त्य मुद्रा मात्र नगदमा राख्न सक्नेछन्। मन्त्रालयले स्रोत नखुलेको नगद कतै भेटिएमा त्यसबारे अनुसन्धान र कानुनी कारबाही अघि बढाइने चेतावनीसमेत दिएको छ।
