
बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी दिनमा व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न सरकारसँग आग्रह गरेको छ। महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा बिहीबार उद्योग मन्त्रालयमा उद्योग वाणिज्य तथा आपूर्ति एवं कानुन मन्त्री अनिल कुमार सिन्हासँग भएको भेटघाटमा महासङ्घको टोलीले यस माग राखेको हो।
भेटघाटमा महासङ्घले युवा (जेनजी) पुस्ताको आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिसँगै उद्योग, प्रतिष्ठान, कार्यालय र निजी निवासमा भएको तोडफोड र आगजनीको विषय उठाएको थियो। महासङ्घले आम सर्वसाधारण र उद्योगी व्यवसायीहरूको मनोबल बढाउन यस्तो सुनिश्चितता आवश्यक भएकोमा जोड दिएको छ।
अध्यक्ष ढकालले व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमा भविष्यमा कुनै आक्रमण नहुने सुनिश्चितता र दोषीमाथि कडा कारवाहीको माग गरेका थिए। उनले आन्दोलनका क्रममा भएको आक्रमण र तोडफोडले मुलुकभर उद्योग व्यवसायमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिएका छन्।
ढकालले भने, “देशको समुन्नतिका लागि अन्योल अन्त्य गरेर सुशासन कायम गर्न महासङ्घ सरकारसँग सहकार्य गर्न तयार छ। नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिने निजी क्षेत्रको आवश्यकता र निरन्तर काम गर्न पाउने सुनिश्चितता आवश्यक छ।”
उद्योग मन्त्री सिन्हाले ठुलो क्षतिका बाबजुद पनि निजी क्षेत्रले देखाएको सहयोग सकारात्मक भएको बताए। उनले भनाए कि फरक परिस्थिति भए पनि वर्तमान सरकार आम नागरिक र व्यावसायिक सुरक्षामा गम्भीर रहेको छ। मन्त्री सिन्हाले मुलुकको उद्योग व्यवसायको पुनरुत्थान र सुधारका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको समेत उल्लेख गरे।
महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले हरेक आन्दोलनका क्रममा निजी क्षेत्रमाथि प्रहार हुने गरेकोले यसमा दृष्टिकोण परिवर्तन आवश्यक रहेको बताए। उनले पुनर्निर्माणका क्रममा सम्भव भएसम्म स्वदेशी वस्तुको उपयोग र प्रयोग गर्नुपर्नेमा जोड दिए।
उपाध्यक्ष श्रेष्ठले नेपाल २०८३/२०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति गर्ने क्रममा अहिलेको परिस्थितिमा स्तरोन्नतिको निर्णय रोक्न सरकारले संयुक्त राष्ट्रसङ्घसँग आग्रह गर्नु पर्ने सुझाव दिएका छन्। त्यसैगरी, उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यले कानुनी राज्यको प्रत्याभूति दिनु अहिलेको प्राथमिकता रहेको बताएका छन्।
महासङ्घका प्रतिनिधिहरूले युवा पुस्ताको आन्दोलन र चाहना अनुसार भ्रष्टाचारमुक्त समाज निर्माण गरी सबै तहमा सुशासन बसाल्नु आजको आवश्यकता रहेको र आम नागरिकले वर्तमान सरकारबाट यही अपेक्षा गरेको धारणा व्यक्त गरे।
