२०८२ आश्विन ७ गते

वैदेशिक लगानी स्वीकृति तीन गुणाले वृद्धि

बैंकिङ खबर/ चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक लगानी (एफडिआई) स्वीकृतिमा उल्लेखनीय वृद्धि भएको छ। उद्योग विभागको तथ्यांक अनुसार साउन र भदौ महिनामा ३३ अर्ब ९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो। गत वर्षको सोही अवधिमा १२ अर्ब रुपैयाँ मात्र लगानी स्वीकृत भएकोमा यस वर्ष करिब तीन गुणाले बढी भएको विभागले जनाएको छ।

यस अवधिमा स्वचालित मार्गबाट १ अर्ब ३६ करोड र नियमित प्रक्रियाबाट ३१ अर्ब ७२ करोड ३८ लाख रुपैयाँको एफडिआई स्वीकृत भएको छ। तर, साउनको तुलनामा भदौमा एफडिआई स्वीकृतिमा कमी आएको छ। साउनमा २४ अर्ब १० करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएकोमा भदौमा ८ अर्ब ९८ करोड ७० लाख मात्र स्वीकृत भएको छ। साउनमा मात्रै २० अर्ब रुपैयाँको चिनियाँ लगानी भैँसीको मासु प्रशोधन उद्योगका लागि स्वीकृत भएपछि सो महिनाको तथ्यांक उच्च देखिएको विभागले जनाएको छ।

दुई महिनामा जम्मा २३६ उद्योग दर्ता भएका छन्। तीमध्ये ७ ठूला, ४ मझौला र २२५ साना उद्योग रहेका छन्। भदौ महिनामात्रै ५ ठूला, ४ मझौला र १०० साना उद्योग दर्ता भएका छन्।

क्षेत्रगत हिसाबले सूचना प्रविधि र पर्यटनमा सबैभन्दा बढी उद्योग दर्ता भएका छन्। दर्ता भएका कुल उद्योगमध्ये १२० सूचना प्रविधिमा र ७९ पर्यटन क्षेत्रमा दर्ता भएका छन्। साथै, सेवामा १५, उत्पादनमा १२, कृषिमा ९ र ऊर्जामा १ उद्योग दर्ता भएको छ।

लगानी प्रतिबद्धताको हिसाबमा भने कृषि क्षेत्र अग्रस्थानमा रहेको विभागले जनाएको छ। कृषिमा २१ अर्ब ५९ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ भने पर्यटन क्षेत्रमा ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।