२०८२ आश्विन ६ गते

कार्की नेतृत्वको मन्त्रिमण्डलमा थपिए चार मन्त्री, कसलाई कुन मन्त्रालय ?

बैंकिङ खबर/ अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले चार मन्त्री थप्दै मन्त्रिमण्डल विस्तार गरेकी छन्। नयाँ मन्त्री थपिएसँगै प्रधानमन्त्री कार्की नेतृत्वमा ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ।

नवनियुक्त मन्त्रीहरूले सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रधानमन्त्री कार्कीले आइतबार अनिलकुमार सिन्हालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन,न्याय तथा संसदीय मन्त्रालय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण, महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधि ,मदन परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्री र संगीता कौशल मिश्रालाई स्वास्थ्य मन्त्रीमा सिफारिस गरेकी थिइन्।

तर, पछि प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी मिश्राको नाम काटेर अन्य चारजनाको मात्रै नाम पठाएकी थिइन्। प्रधानमन्त्री कार्कीले यसअघि गृहमा ओमप्रकाश अर्याल, अर्थमा रामेश्वर खनाल र ऊर्जामा कुलमान घिसिङ नियुक्त गरेकी छन्।

जेनजी समूहको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त गरेका हुन्।