२०८२ आश्विन ३ गते

अत्यधिक महंगो ब्याजदर भएका संसारका ५ देशहरु

बैंकिङ खबर/ केन्द्रीय बैंकहरूले अर्थतन्त्रमा स्थिरता ल्याउन र मुद्रास्फीति नियन्त्रणमा राख्न नियमित ब्याजदर कायम गर्छन् । यी दरले वाणिज्य बैंकहरूसँगको ऋण सुविधालाई प्रभाव गर्दछन्, जसले समग्र आर्थिक गतिविधिमा असर गर्छ ।

अत्यधिक ब्याजदर भनेको दीर्घकालमा ऋणको लागतमा वृद्धि, आर्थिक गतिविधि सुस्त हुने र निजी क्षेत्रलाई संघर्षमा पुर्‍याउने संकेत पनि हो । अहिलेको परिस्थितिमा, पाँच राष्ट्र भेनेजुएला, टर्की, जिम्बाब्वे, अर्जेन्टिना, र घानामा सबैभन्दा उच्च ब्याजदर रहेको पाउन सकिन्छ ।

(१) भेनेजुएला

भेनेजुएलाको बैंकिङ क्षेत्र वर्तमान समयमा तीव्र आर्थिक अस्थिरता र नियामक दबाबको बीचमा संघर्षरत देखिन्छ । सरकारद्वारा लागू गरिएका मौद्रिक सीमाहरू, मुद्रास्फीति नियन्त्रणका उपायहरू, कर्जा वितरण क्षमतामा कमीले बैंकिङ प्रणालीलाई कमजोर बनाएको छ । विशेषगरी, खराब कर्जा उच्च छ । भेनेजुएलाको केन्द्रीय बैंकले २०२५ को गत मे महिनासम्म दरलाई ५९.३६ प्रतिशतसम्म ब्याजदर पुर्‍याएको थियो । यो विश्वकै सबैभन्दा उच्च दर हो ।

ट्रेडिङ इकोनोमिक्सका तथ्यांकअनुसार, २०२५ जुलाईमा अन्तरबैंक ब्याजदर ५९.२३ प्रतिशत कायम भएको छ । त्यस्तै, २०२५ अगस्टमा जम्मा निक्षेप ब्याजदर ३६ प्रतिशत रहेको छ । यी आँकडाहरूले भेनेजुएलाको केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण र ऋण व्यवस्थापनमा कडाइ गर्नुपर्ने अवस्थालाई प्रष्ट पारेको छ ।

उच्च ब्याजदर कायम रहँदा पनि, २०२५ को सुरुवाती महिनाहरूमा बैंकिङ प्रणालीको ब्यालेन्स सिट उल्लेखनीय रूपमा बढेको देखिएको छ । यसले बैंकहरूको सम्पत्ति र दायित्व व्यवस्थापनमा सुधार भएको संकेत गरे पनि मौद्रिक नीतिका दबाब अझै कायम छ ।

यसैबीच, केन्द्रीय बैंकले अर्थतन्त्रलाई स्थिर बनाउन डलर बजारमा हस्तक्षेप गर्दै आएको छ । २०२५ मा गत वर्षको तुलनामा डलर आपूर्ति केही घटेको छ । यो कदमले विदेशी मुद्रा बजारमा कृत्रिम स्थिरता ल्याउने प्रयास देखाएपनि दीर्घकालीन प्रभावकारिताबारे शंका उब्जिएको छ ।

विशेषज्ञहरूका अनुसार, उच्च ब्याजदरले मुद्रास्फीति नियन्त्रणमा तत्काल प्रभाव पार्न सक्छ तर यसले लगानी र ऋण विस्तारलाई अवरुद्ध गर्ने खतरा पनि बढाउँछ ।

यसरी, उच्च ब्याजदर, सीमित डलर आपूर्ति, र राजनीतिक÷आर्थिक दबाबबीच भेनेजुएलाको बैंकिङ क्षेत्र अहिले पनि अनिश्चितताको चक्रभित्र अड्किएको देखिन्छ ।

(२) टर्की

विश्वका उच्च ब्याजदर भएका देशहरुमध्ये दोस्रो देश हो टर्की । दक्षिण–पूर्वी युरोप र पश्चिमी एसिया अवस्थित देश टर्कीमा २०२५ सम्म ६३ वटा बैंकवित्तीय संस्थाहरू सञ्चालनमा छन् । टर्कीको केन्द्रीय बैंक‘टर्की गणराज्यको केन्द्रीय बैंक’ हो । हाल गभर्नर फातिह कराहान छन् ।

फिच रेटिंग्सका अनुसार बाह्य वित्तीय दबाब कम भएर आर्थिक नीतिहरूमा परिवर्तन आएपछि यहाँको बैंकिङ क्षेत्र सुधार हुँदैछ । अहिले टर्कीको ब्याजदर ४३ प्रतिशत छ । यसै वर्षको जुलाईमा केन्द्रीय बैंकले ब्याजदर ३०० आधार अंकले घटाएर ४३ प्रतिशत बनाएको हो । त्यसपछि यो स्थिर रहेको छ ।

टर्कीको बैंकिङ क्षेत्र हाल विश्वव्यापी आर्थिक चुनौती र आन्तरिक वित्तीय दबाबको बीचमा द्रुत रूपमा परिवर्तन हुँदैछ । जुलाई २०२५ सम्मको तथ्यांक अनुसार टर्कीको बैंकिङ क्षेत्रका कुल सम्पत्ति टर्की लिरा ४०.७ ट्रिलियन पुगेको छ । जुन २०२४ को अन्त्यसँग तुलना गर्दा २४.६ प्रतिशतले वृद्धि हो । टर्कीका बैंकहरूले टर्की लिरा २०.०६ ट्रिलियन कर्जा प्रवाह गरेका छन् ।

त्यसैगरी, सुरक्षा-सेक्युरिटीज पोर्टफोलियो टर्की लिरा ६.४९ ट्रिलियन पुगेर २४.२ प्रतिशतले वृद्धि भएको छ । टर्कीको बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जाको हिस्सा २.१८ प्रतिशत रहेको छ, जुन तुलनात्मक रूपमा नियन्त्रणमा रहेको संकेत हो ।

टर्कीको बैंकिङ क्षेत्रले विगत केही वर्षमा विभिन्न चुनौतीहरू सामना गरिरहेको छ । उच्च मुद्रास्फीति, विदेशी मुद्रा दरमा उतार–चढाव, र राजनीतिक अस्थिरताका कारण बैंकहरूको ब्याज मार्जिनमा दबाब परेको थियो ।

(३) जिम्बाब्वे

जिम्बाब्वेको ब्याजदर दर हाल ३५ प्रतिशत रहेको छ । जिम्बावेको केन्द्रीय बैंकले आफ्नो नीतिगत ब्याजदर ३५ प्रतिशत कायम राख्ने निर्णय गरेको हो । जुन विश्वमै उच्च ब्याजदर भएका देशहरुमध्ये तेस्रो नम्बरमा पर्दछ । केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण र विदेशी विनिमय बजारलाई स्थिर बनाउनका लागि कडाइपूर्ण मौद्रिक नीतिलाई निरन्तरता दिने घोषणा गरेको छ ।

गभर्नर जोन मुशायावान्हुले मध्यावधि मौद्रिक नीति समीक्षा प्रस्तुत गर्दै हालको ब्याजदर मुद्रास्फीति दर र उत्पादनको गतिशीलतासँग मेल खाने गरी ‘उचित रूपमा समायोजित’ गरिएको बताएका छन् । उनले भने, ‘वर्षअन्तसम्म मुद्रास्फीति ३० प्रतिशत हुने अनुमान गरिएको छ, त्यसलाई ध्यानमा राख्दा हालको ब्याजदरले ५ प्रतिशतको वास्तविक प्रतिफल सुनिश्चित गर्छ । यसले मूल्य स्थिरतालाई दीर्घकालीन रूपमा मजबुत बनाउनेछ ।’

गभर्नर मुशायावान्हुले थपे, ‘केन्द्रीय बैंकले विनिमय दरलाई सञ्चालनको प्रत्यक्ष लक्ष्यका रूपमा प्रयोग गरेको छैन । हामी बजारले निर्धारण गर्ने फ्लोटिङ विनिमय दर अपनाएका छौं र आवश्यक परेमा मात्र विदेशी मुद्राको भण्डार व्यवस्थापनमार्फत त्यसलाई प्रभावित पार्छौँ ।’

ब्याजदर घटाउन र बैंकिङ शुल्क कम गर्न विभिन्न माग भए पनि केन्द्रीय बैंकले न्यूनतम निक्षेप ब्याजदर बचतका लागि ५ प्रतिशत र अमेरिकी डलर निक्षेपका लागि २.५ प्रतिशत कायम राखेको छ । साथै, बैंकले वित्तीय संस्थाहरुलाई डिजिटल प्रणालीलाई अझ कार्यक्षमता बनाउन र सेवा शुल्क कम गर्न आग्रह गरेको छ ।

त्यसैगरी, केन्द्रीय बैंकले निर्यातकर्ताहरुलाई आफ्नो विदेशी मुद्रा आम्दानीको ३० प्रतिशत अनिवार्य रूपमा राष्ट्र बैंकलाई बुझाउनुपर्ने व्यवस्था कायम राखेको छ । थप रूपमा, अतिरिक्त तरलता सोस्नका लागि वैधानिक रिजर्भ  प्रयोग गर्ने निर्णय पनि लिइएको छ ।

(४) अर्जेन्टिना

विश्वका ब्याजदर उच्च भएका देशहरुमध्ये अर्जेन्टिना चौथो नम्बरमा रहेको छ । अर्जेन्टिनाको केन्द्रीय बैंकले नीतिगत ब्याजदर ३ सय बिपिएसले घटाएर २९ प्रतिशतमा झारेको छ । मुद्रास्फीति क्रमशः कम हुँदै गएको परिस्थितिमा गरिएको यो निर्णयसँगै सन् २०२० अक्टोबरपछि पहिलोपटक ऋणको लागत यति न्यून स्तरमा पुगेको हो ।

यो कदम राष्ट्रपति हवियर माइलीले २०२३ डिसेम्बरमा पदभार सम्हालेपछि गरिएको नवौँ ब्याजदर कटौती हो । अर्जेन्टिनामा वार्षिक मुद्रास्फीति लगातार घट्दै ११७.८ प्रतिशतमा झरेको छ, जुन २०२३ जुलाईपछि देखिएको सबैभन्दा न्यून स्तर हो । यसअघि २०२४ नोभेम्बरमा मुद्रास्फीति १६६ प्रतिशत थियो । मासिक आधारमा पनि, २०२४ डिसेम्बरमा २.७ प्रतिशत मुद्रास्फीति दर कायम रह्यो, लगातार तेस्रो महिना ३ प्रतिशत भन्दा कममा झरेको हो ।

ब्याजदर कटौतीसँगै सरकारले २०२५ फेब्रुअरी १ देखि स्थानीय मुद्राको आधिकारिक मासिक अवमूल्यन दर २ प्रतिशतबाट १ प्रतिशतमा घटाउने घोषणा गरेको छ । यो विवादास्पद नीति, जसलाई स्थानीय भाषामा ‘क्रलिङ पेग’ भनिन्छ, मुद्रास्फीति अझै नियन्त्रण गर्ने प्रयासस्वरूप अगाडि सारिएको छ ।

अर्जेन्टिनाको यो निर्णयले मुद्रास्फीति नियन्त्रण गर्ने प्रयासलाई गति दिनेछ, तर मुद्रा बजारमा थप अस्थिरता आउन सक्ने आशंका पनि उत्तिकै छ । उच्च मुद्रास्फीति पछिको लगातार दर कटौतीले उपभोक्ता ऋण र लगानीमा केही राहत ल्याउने अपेक्षा गरिएको छ ।

(५) घाना

घानाको केन्द्रीय बैंकले नीतिगत ब्याजदर २५ प्रतिशतमा झारहेको छ । केन्द्रीय बैंकले नीतिगत मौद्रिक ब्याजदर ३ सय बिपिएसले घटाएर २५ प्रतिशतमा पु¥याएको हो । केन्द्रीय बैंकले यो कदम मुद्रास्फीति क्रमशः घटिरहेको, आर्थिक वृद्धि बलियो रहेको र बाह्य क्षेत्र अझ स्थिर बनेको कारण अगाडि सारेको हो ।

घानामा हेडलाइन मुद्रास्फीति १३.७ प्रतिशतमा झरेको छ, जुन २०२१ डिसेम्बरयता सबैभन्दा न्यून स्तर हो । २०२५ को पहिलो त्रैमासमा वास्तविक जीडीपी ५.३ प्रतिशत र तेल बाहेकको जीडीपी ६.८ प्रतिशतले बढेको छ । कृषि र सेवा क्षेत्रमा उल्लेखनीय प्रगति देखिएको छ । बाह्य क्षेत्र समेत मजबुत बनेको छ ।

चालु खातामा पनि ३.४ अर्ब डलर अधिशेष देखिएको छ, जुन अघिल्लो वर्षको तुलनामा निकै माथि हो । यसैबीच, स्थानीय मुद्रा सेडीले यो वर्ष अमेरिकी डलरको तुलनामा ४२.६ प्रतिशतले मूल्य बढाएको छ ।

केन्द्रीय बैंकका अनुसार, विश्व अर्थतन्त्रमा कमजोरी देखिएको भए पनि घानामा मुद्रास्फीति अपेक्षा स्थिर, बाह्य भण्डार सुधार र आन्तरिक आत्मविश्वास बलियो रहँदै आएको छ । त्यसैले, बैंकले हालका उपलब्धिहरूलाई नबिगारिकन अर्थतन्त्रलाई अझै सुदृढ बनाउन प्रतिबद्धता जनाएको छ ।