
बैंकिङ खबर/ दसैंको अवसरमा नेपाल राष्ट्र बैंकले आइतबारदेखि सुकिला नोट सटही सुरु गरेको छ, तर यसपटक सर्वसाधारणको चासो अपेक्षाकृत कम देखिएको छ। राजनीतिक संक्रमण र अस्थिरताको अवस्थाका कारण नोट सटहीमा विगतजस्तो चहलपहल कम देखिएको हो। विगतमा दसैंमा नयाँ नोट सटहीका लागि ठूलो भिड लाग्ने गरेको थियो।
राष्ट्र बैंकले असोज १० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ। प्रत्येक प्याकेटमा १८ हजार पाँच सय रुपैयाँ बराबरको सुकिला नोट उपलब्ध गराइने व्यवस्था मिलाइएको छ। नोट वितरण थापाथलीस्थित राष्ट्र बैंक, प्रदेश कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाबाट हुने छ।
सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा नजिकको बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकमा गएर नोट सटही गर्न सक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जानकारी दिएको छ।
यसअघि दसैंका लागि नयाँ नोट छापिने गरेको भए पनि गत वर्षदेखि खर्च व्यवस्थापनका कारण नयाँ नोट छाप्न बन्द गरिएको थियो। तर यस वर्ष पाँच रुपैयाँ दरको नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ।
