
बैंकिङ खबर/ नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।
सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार सम्हालेका हुन् । मन्त्री घिसिङले डेडिकेटेड र ट्रंकलाइनको वक्यौता रकम असुल्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिने निर्णय पनि गरेका छन् । पदबहालीलगत्तै उनले यस्तो निर्णय गरेका हुन् ।
त्यसलगत्तै उनले सम्बन्धित मन्त्रालयका कर्मचारीहरुसँग छलफल गर्दै छन्। उनले प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए । तर, तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो । विगत एक दशक यता सधैँ चर्चाको शिखरमा रहिरहेका कुलमान घिसिङ उर्जामन्त्रीको जिम्मेवारीमा आएका छन्।
करिव आठ वर्षअघि घिसिङले पहिलो पटक विद्युत प्राधिकरणको नेतृत्व सम्हालेका बेला नेपाल ‘लोडशेडिङमुक्त’ घोषणा गरिएको थियो । विसं २०७३ सालकै तिहारबाट शहरहरूमा ‘लोडसेडिङ’ सकिएको जनाउँदै २०७५ साल वैशाखमा पूरै देशलाई करिव डेढ दशकदेखि विद्युत आपूर्तिमा जारी नियमित अवरोधबाट मुक्त बनाइएको थियो ।