२०८२ भाद्र ९ गते

पर्वतारोहण संघमा व्यवसायिक स्वतन्त्र प्यानलले जित्यो, कांग्रेस एमालेको गठबन्धन पराजित

बैंकिङ खबर/ नेपाल पर्वतारोहण संघ (एनएमए)मा माओवादी र रास्वपाले सघाएका समूहको १८ मध्ये अध्यक्षसहित १५ पदमा विजयी हासिल भएको छ । बाँकी तीन पद मात्रै कांग्रेस–एमाले समर्थित प्यानलले जितेको छ ।

आइतबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा फुरगेल्जे शेर्पाले प्रत्याशी कुलबहादुर गुरुङलाई ५४ मतले पराजित गरे । यस्तै स्वतन्त्र उम्मेदवार शेर्पा तीन सय ४२ मत ल्याएर विजयी भए । अध्यक्षमा निर्वाचित शेर्पा झन्डै चार दशकदेखि पर्यटन क्षेत्रमा आबद्ध छन् । उनको ट्रेकिङ, होटेल, हेलिकोप्टरलगायत क्षेत्रमा लगानी रहेको छ ।

कांग्रेस–एमालेनिकट समूहलाई स्वतन्त्र र व्यावसायिक समूहले पराजित गरेको नवनर्विाचित अध्यक्ष शेर्पाको भनाइ छ । संघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराएर आरोही, व्यवसायी, मजदुरलगायतको हकहित र विकासमा काम गर्ने समूहले विजयी हासिल गरेको उनले बताए ।

वरिष्ठ उपाध्यक्षमा तीन सय ४५ मत ल्याएर ईश्वरी पौडेल निर्वाचित भएकी छिन् । प्रतिद्वन्द्वी टीका गुरुङले दुई सय ५८ मत प्राप्त गरिन् । प्रथम उपाध्यक्षमा सत्तागठबन्धननिकट समहूका मिङ्मा ग्याबो शेर्पा तीन सय ५९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी काजी शेर्पाले दुई सय ५६ मत प्राप्त गरे ।

द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्रबहादुर लामा र सचिवमा चन्दन थापा निर्वाचित भएका छन् । विजयी प्रथम उपाध्यक्षबाहेकका सबै पदाधिकारी स्वतन्त्र र माओवादी समर्थित समूहका हुन् ।

कोषाध्यक्षमा ङिमानुर्बु शेर्पा र सुमी लामा दुवैले समान तीन सय चार मत पाएपछि आधा–आधा कार्यकालको सहमति भएको बताइएको छ । त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देन्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

नेपाल पर्वतारोहण संघ नेपालमा हिमाल चढ्ने गतिविधिको प्रवद्र्धन, व्यवस्थापन र संरक्षणका लागि बनेको गैर–सरकारी संस्था हो । वि.सं.२०३० सालमा स्थापना भएको संस्थाले नेपालका हिमालहरूको प्रचार–प्रसार गर्ने, आरोहीलाई तालिम दिने, हिमाल क्षेत्रको संरक्षण गर्ने र पर्वत पर्यटनलाई प्रोत्साहन गर्ने, आरोही र गाइडको हकहितको संरक्षण गर्ने लगायतका काम गर्दै आएको छ ।