Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

बागमतीका मेयर भरत थापा दुई मुद्दामा भ्रष्टाचारी ठहर

२०८२ श्रावण २९ गते

बैंकिङ खबर/ भ्रष्टाचारका दुई मुद्दामा दोषी ठहर भएका बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई विशेष अदालतले आठ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना तोकेको छ। विशेषका अध्यक्ष टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको बिहीबारको इजलासले मेयर थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई जनही आठ वर्ष कैद र १० करोड नौ लाख ७८ हजार २९९ रुपैयाँ जरिवाना तोकेको हो।

पोखरेल तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुन् भने पौडेल नगरपालिकाका योजना शाखा प्रमुख तथा इन्जिनियर हुन्। थापाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भनी २७ चैत ०८० मा र हानि–नोक्सानी गरेको अभियोगमा २९ जेठ ०८१ मा दुई मुद्दा दायर भएका थिए। मेयर थापाका साथै पोखरेल र पौडेलले ३० करोड २९ लाख रुपैयाँभन्दा बढीको नदीजन्य पदार्थको नोक्सानी गरेको ठहर भएकाे छ।

गत बुधबार विशेषले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा आंशिक ठहर तथा हानि–नोक्सानीमा कसुर कायमको फैसला गरेकोमा आज सजाय निर्धारण गरेको हो ।