
बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै सरकारले हालसम्म गरेको काम र वित्तीय उपलब्धिबारे जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीले पहिलो ११ महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई रु. १५ खर्ब ३३ अर्ब पुगेको उल्लेख गरे। उनले वस्तु निकासीमा ८१.८ प्रतिशत वृद्धि भएको, चालु खाता र शोधनान्तर दुवै वचतमा रहेको र विदेशी विनिमय सञ्चिति १४.७ महिनाको आयात धान्न पर्याप्त रहेको जानकारी दिए।
उनले वित्तीय क्षेत्रका सूचक सबल रहेको र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको पनि बताए। पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढेको र जनसङ्ख्याको करिब ४८ प्रतिशत बीमाको दायरामा आएको उनले जनाए।
प्रधानमन्त्री ओलीले नेपाललाई पहिलोपटक फिच रेटिङ एजेन्सीबाट दक्षिण एसियामा दोस्रो उत्कृष्ट BB- माइनस सोभरन क्रेडिट रेटिङ प्राप्त भएको पनि प्रतिनिधिसभामा जानकारी गराए।
नयाँ वित्त तथा मौद्रिक नीतिले घरजग्गा र सेयर बजारमा सुधार ल्याएको र बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको बताए। साथै, स्टार्टअप प्रवर्धनमा सरकारले ६०० भन्दा बढी फर्मलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको जानकारी दिए।
प्रधानमन्त्रीले विद्युत निर्यातमा पनि उल्लेखनीय वृद्धि भएको भन्दै भारत र बंगलादेशमा क्रमशः रु. १७ अर्व १९ करोड र रु. २६ करोडको विद्युत निर्यात भएको जानकारी दिए।
