
बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बुधबारको बैठकमा आफू प्रधानमन्त्री बनेको एक वर्षभित्र आर्थिक क्षेत्रमा उत्साहजनक नतिजा आएको बताएका छन्।
प्रधानमन्त्री ओलीले यस कार्यकालमा तीन दर्जन ऐन र कानून संशोधन भएका, जसले देशमा सुशासन प्रवद्र्धन, सेवा प्रवाह सरल बनाउने, लगानीमैत्री वातावरण सिर्जना गर्ने र वैदेशिक लगानी आकर्षित गर्ने काम गरेको बताए।
उनका अनुसार, गत एक वर्षमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको छ, जसले अर्थतन्त्रलाई करिब ४ खर्ब रुपैयाँले बिस्तार गरेको छ। गत आर्थिक वर्षको वृद्धिदर ३.७ प्रतिशत मात्र रहेको थियो।
प्रधानमन्त्री ओलीले बताए अनुसार, विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई रु. १५ खर्ब ३३ अर्ब पुगेको छ। त्यस्तै, वस्तु निकासीमा ८१.८ प्रतिशत वृद्धि भएको छ। चालु खाता र शोधनान्तर दुवैमा वचत रहेको र विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रहेको बताइएको छ, जसले १४.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने क्षमता सुनिश्चित गरेको छ।
अर्थतन्त्रका अन्य सूचकहरू पनि सकारात्मक देखिएका छन्। निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.७ प्रतिशतले वृद्धि भएको छ भने पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढेको छ। जनसङ्ख्याको करिब ४८ प्रतिशत बीमाको दायरामा आएको जानकारी प्रधानमन्त्री ओलीले दिएका छन्।
उनी भन्छन्, “प्रतिष्ठित अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले पहिलो पटक नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरन क्रेडिट रेटिङ) गरेको छ। नेपालले दक्षिण एसियामा दोस्रो उत्कृष्ट बीबी माइनस रेटिङ प्राप्त गरेको छ, जसले लगानीका लागि नेपालको वातावरण अझ सशक्त बनाएको देखाउँछ।”
