२०८२ श्रावण २७ गते

युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ : प्रधानमन्त्री

बैंकिङ खबर/ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य निहित रहेको बताएका छन्। शुभकामना सन्देशमार्फत उनले सकारात्मक सोच र निरन्तर प्रयासले मुलुकलाई समृद्ध बनाउन सकिने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीका अनुसार युवा दिवसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ। उनले भने, “फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ।”

सन् १९९९ मा संयुक्त राष्ट्रसंघले हरेक वर्ष अगस्ट १२ लाई युवा दिवसका रूपमा घोषणा गरेको हो भने पहिलोपटक सन् २००० मा मनाइएको थियो। नेपालमा २०७३ सालदेखि राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको अगुवाइमा औपचारिक रूपमा युवा दिवस मनाउन थालिएको हो। आज नेपालसहित विश्वभर युवा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।